विश्वकपमा इंग्ल्यान्डविरुद्धको जितको सम्झनामा अर्जेन्टिनाले जुलाई १५ लाई ‘राष्ट्रिय फुटबल टोली दिवस’ मनाउने
एजेन्सी : अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डविरुद्धको जितको सम्झनामा जुलाई १५ लाई ‘राष्ट्रिय फुटबल टोली दिवस’ का रूपमा मनाउने घोषणा गरेको छ।
एएफएको कार्यकारी बोर्डको बुधबार बसेको बैठकले एटलान्टामा भएको सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको दिनलाई विशेष दिवसका रूपमा मनाउने निर्णय गरेको हो।
एएफएले आफ्नो आधिकारिक वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, "विश्वकप सेमिफाइनलमा इङ्ल्यान्डमाथि अर्जेन्टिनाले हासिल गरेको ऐतिहासिक जितको सम्झनामा यो मिति छनोट गरिएको हो। लियोनेल स्कालोनीको टोलीले खेलमा पुनरागमन गर्दै सम्पूर्ण देशलाई खुसीको माहोलमा गुन्जायमान बनाएको थियो।"
एएफएले यो सम्मान केवल सिनियर राष्ट्रिय टोलीको उपलब्धिमा सीमित नरहेको जनाएको छ। पुरुष, महिला, युवा टोली, फुटसल, बिच सकर तथा अन्य राष्ट्रिय टोलीमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने सबै खेलाडीको योगदानलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको संघले जनाएको छ।
एटलान्टामा भएको उक्त सेमिफाइनल खेलमा सुरुमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-१ ले पराजित गरेको थियो। अर्जेन्टिनाले खेलको ८५औँ र इन्जुरी समयको ९२औँ मिनेटमा लगातार दुई गोल गर्दै २-१ को जित निकाल्दै जीत हासील गरेको थियो। अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाएका थिए।
सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेको ४० वर्षपछि अर्जेन्टिनाले यस वर्षको विश्वकपको सेमिफाइनलमा पनि जित हासील गरेको थियो।
राजनीतिक तनाव र फकल्यान्ड विवाद
सेमिफाइनल जितपछि अर्जेन्टिनाका केही खेलाडीहरूले 'लास माल्भिनास सोन अर्जेन्टिनास' अर्थात् 'फकल्यान्ड अर्जेन्टिनाको हो' लेखिएको ब्यानर प्रदर्शन गर्दै खुसीयाली मनाएका थिए। उक्त घटनापछि फिफाले अर्जेन्टिना फुटबल संघ (एएफए) विरुद्ध अनुशासनात्मक प्रक्रिया अघि बढाएको छ।
उक्त ब्यानरका कारण बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि जारी रहेको फकल्याण्ड टापुको सार्वभौमिकता सम्बन्धी विवाद पुनः चर्चामा आएको छ।
फकल्यान्ड टापुको सार्वभौमिकतालाई लिएर बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि विवाद रहँदै आएको छ। अर्जेन्टिनाले टापुमाथि आफ्नो दाबी गर्दै आएको छ भने फकल्यान्ड बेलायतको नियन्त्रणमा रहेको छ।
सेमिफाइनलमा इङ्ल्यान्डलाई हराएर फाइनल पुगेको अर्जेन्टिना उपाधि भिडन्तमा स्पेनसँग १-० ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। इङ्ल्यान्डले भने तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई ६-४ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो।
साउन २१, २०८३ बिहीबार १८:३५:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।