लुटेराको आक्रमणबाट युगान्डाका राष्ट्रिय फुटबलर डेविड ओवोरीको मृत्यु

लुटेराको आक्रमणबाट युगान्डाका राष्ट्रिय फुटबलर डेविड ओवोरीको मृत्यु

एजेन्सी : युगान्डाको राजधानी कम्पालामा लुटेराको समूहले गरेको आक्रमणबाट चर्चित फुटबलर डेविड ओवोरीको मृत्यु भएको छ।

स्थानीय प्रहरीका अनुसार मङ्गलबार डाका हाल्न आएका संदिग्ध लुटेराहरूको प्रतिकार गर्दा ओवोरीमाथि आक्रमण भएको थियो। आक्रमणकारीको समूहले ढुङ्गाले हानेर उनलाई गम्भीर घाइते बनाएका थिए।

घटनापछि अचेत अवस्थामा भेटिएका ओवोरीलाई सुरुमा नजिकैको क्लिनिक र पछि सहरको एक निजी अस्पताल पुर्याइएको थियो। उनको उपचारका क्रममा बुधबार निधन भएको हो।

२७ वर्षीय ओवोरी युगान्डा प्रिमियर लिगको सफल क्लब ‘एससी भिल्ला’का कप्तान थिए। राइट-ब्याक र मिडफिल्डरको भूमिकामा खेल्ने उनी युगान्डाको राष्ट्रिय फुटबल टोली ‘क्रेन्स’का सदस्यसमेत थिए।

घटनापछि युगान्डाभर शोकको लहर छाएको छ भने देशभित्र बढ्दै गएको हिंसात्मक अपराधलाई लिएर नागरिकहरू आक्रोशित बनेका छन्।

ओवोरीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै एससी भिल्लाले आधिकारिक बयानमा भनेको छ, ‘हामीले एउटा खेलाडी मात्र नभई एक सच्चा नेता, भाइ र असल साथी गुमाएका छौँ।’

साउन २१, २०८३ बिहीबार १३:२५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।