फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध विद्रोह, राजीनामा नदिए पदच्यूत गराउने युइएफएको तयारी
एजेन्सी : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोविरुद्धको असन्तुष्टि चुलिएको छ।
फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई भित्र्याउने उनको विवादास्पद योजनाको विरोध गर्दै युरोपेली फुटबल महासंघ (युइएफए) ले राजीनामा नदिएसम्म फिफासँग ‘असहयोग’ गर्ने चेतावनी दिएको छ।
इन्फान्टिनोले फिफा विश्वकपसहितका मुख्य प्रतियोगिता सञ्चालन गर्न ‘फिफा फरवार्ड इन्टरप्राइज’ नामक कम्पनी खडा गरी अमेरिकी लगानीकर्तालाई स्वामित्व बेच्ने योजना अघि सारेका थिए।
उक्त योजनाको पक्षमा उभिन उनले फिफाका २११ सदस्य राष्ट्रलाई जनही ४ करोड डलरको प्रलोभन देखाएको खुलासा भएको थियो। चौतर्फी विरोधपछि उक्त योजना तत्कालका लागि स्थगित गरिए पनि इन्फान्टिनोमाथिको सङ्कट भने टरेको छैन।
कानुनी कारबाहीको तयारी र समर्थन फिर्ता
यस प्रकरणमा युइएफएले फिफाविरुद्ध कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएको छ।
युइएफएले इन्फान्टिनोलाई पत्र लेख्दै यस योजनासँग सम्बन्धित सम्पूर्ण इमेल, ह्वाट्सएप म्यासेज र कागजातहरू सुरक्षित राख्न र कुनै पनि प्रमाण नष्ट नगर्न आग्रह गरेको छ।
आगामी मार्चमा हुने फिफा अध्यक्षको चुनावका लागि इन्फान्टिनोलाई युरोपबाट ठूलो झड्का लागेको छ। वेल्स, इंग्ल्यान्ड, सर्बिया, स्विडेन र फिनल्यान्डले उनको उम्मेदवारीलाई दिएको समर्थन आधिकारिक रूपमै फिर्ता लिएका छन्।
युइएफए र उत्तर तथा मध्य अमेरिकी महासंघ (कन्काकाफ) ले उनको कार्यशैलीको खुलेर आलोचना गरेका छन् भने एसियाली फुटबल महासंघ (एएफसी) ले पनि असन्तुष्ट पक्षसँग ऐक्यबद्धता जनाएको छ।
अब के हुन्छ ?
युरोप र उत्तर अमेरिकी देशहरूले राजीनामाको दबाब दिए पनि अफ्रिका, दक्षिण अमेरिका तथा कतार, मोरक्को जस्ता देशहरूमा भने इन्फान्टिनोको समर्थन अझै कायम छ। चुनाव जित्न उनलाई १०६ भोट आवश्यक पर्छ।
युइएफएका अधिकारीहरूले इन्फान्टिनोलाई एक्ल्याउने रणनीति बनाएका छन्। उनले आफैँ राजीनामा नदिए ३७ सदस्यीय फिफा काउन्सिलका बहुमत (१९ जना) सदस्यको हस्ताक्षर सङ्कलन गरी आपतकालीन बैठक बोलाएर उनलाई पदच्युत गर्ने प्रयाससमेत हुन सक्ने बताइएको छ।
विश्व फुटबल यतिबेला इतिहासमै सबैभन्दा धेरै विभाजित अवस्थामा पुगेको विश्लेषकहरूको भनाइ छ।
साउन १९, २०८३ मंगलबार ०७:४६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।