फिफा अध्यक्ष इन्फान्टिनोमाथि अविश्वास प्रस्तावको तयारी
एजेन्सी : फिफा प्रतियोगिताका व्यापारिक अधिकारहरू निजी लगानीकर्तालाई गुपचुप बेच्ने प्रयास गरेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनो ठूलो राजनीतिक सङ्कटमा परेका छन्।
युरोपेली फुटबल महासङ्घले विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिँदै इन्फान्टिनोमाथिको विश्वास गुमाएको घोषणा गरेपछि उनको पद जोखिममा परेको हो।
इन्फान्टिनोले फिफा काउन्सिल र सदस्य राष्ट्रहरूलाई थाहै नदिई लगानीकर्ताहरूसँग सम्झौताको प्रयास गरेका थिए। यसको विरोधमा युरोपसँगै उत्तर-मध्य अमेरिका र एसियाली फुटबल महासङ्घसमेत उभिएका छन्।
चौतर्फी विरोध र आफ्नै वरिष्ठ सल्लाहकारहरूको राजीनामापछि इन्फान्टिनोले उक्त योजना फिर्ता त लिएका छन्, तर उनीविरुद्धको आक्रोश साम्य भएको छैन।
इन्फान्टिनोलाई हटाउन युइएफएले २११ सदस्य राष्ट्रहरूमध्ये १०६ राष्ट्रको समर्थन जुटाएर ‘विशेष साधारणसभा’ मार्फत अविश्वासको प्रस्ताव पारित गर्ने रणनीति बनाएको छ।
आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनका लागि उत्तर अमेरिकी महासङ्घका अध्यक्ष भिक्टर मोन्टाग्लियानी र एसियाली महासङ्घका अध्यक्ष शेख सलमानलाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ।
इन्फान्टिनोले सम्बन्ध सुधारको प्रयास गरिरहे पनि प्रायोजकहरूले हात झिक्न सक्ने र महासङ्घहरूको असन्तुष्टि कायमै रहेकाले उनको ८ वर्षे कार्यकाल अन्त्यको सङ्घारमा पुगेको विश्लेषण गरिएको छ।
साउन १८, २०८३ सोमबार ०८:४४:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।