विश्वकपमा निजी लगानीलाई अनुमति दिने योजना रद्द, अध्यक्ष इन्फान्टिनोले गुमाए विश्वास

विश्वकपमा निजी लगानीलाई अनुमति दिने योजना रद्द, अध्यक्ष इन्फान्टिनोले गुमाए विश्वास

एजेन्सी : फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई अनुमति दिने योजना रद्द गरे पनि उनको निर्णयले ल्याएको अशान्ति रोक्न कठिन भएको छ।

युरोपेली फुटबलको शासकीय निकाय (युइएफए अर्थात् युएफा)ले यस योजनाको विरोधको नेतृत्व गरेको थियो। उनीहरूले सबै फिफा प्रतियोगिता बहिष्कार गर्ने बताएका थिए। योजना फिर्ता लिएको स्वागत गर्दै युएफाले भनेको छ, “इन्फान्टिनोको ‘तुच्छ, गोप्य र अस्पष्ट सम्झौता’ले उनीहरू र फुटबल परिवारका अन्य सदस्यहरूको ‘विश्वास’ गुमाएको छ।"

यो प्रतिक्रिया इन्फान्टिनोको वक्तव्य आएको केही घण्टापछि आएको हो। अर्को वर्ष अन्तिम कार्यकालका लागि निर्विरोध पुनः निर्वाचनको बाटो खुला रहेको उनको सहज यात्रा अहिले खुला रूपमा प्रश्नमा परेको छ। मङ्गलबार योजना सार्वजनिक भएदेखिको तीव्र र अपमानजनक विरोधपछि उनले निर्णयबाट पछाडि हटेको घोषणा गरेका थिए।

“हाम्रो उद्देश्य सधैँ एकता र सुधार गर्नु नै हो र यो सधैँ जारी रहनेछ”, इन्फान्टिनोले वक्तव्यमा भनेका छन्, "फलस्वरूप, यो प्रस्ताव अगाडि बढाइने छैन।”

विश्व फुटबलको शासकीय निकाय फिफाले मङ्गलबार यो योजना सार्वजनिक गरेको थियो। यसमा नयाँ फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई) नामक व्यावसायिक सहायक कम्पनीमार्फत विश्वकप र क्लब विश्वकप जस्ता कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव थियो। यसको मूल्याङ्कन २० अर्ब डलर रहेको र यसबाट ४.२ अर्ब डलरसम्म उठाउन सकिने बताइएको थियो।

यदि स्वीकृत भएमा यो परियोजनाले फिफाका २११ सदस्य सङ्घहरू प्रत्येकलाई सन् २०२७ को सुरुमा एक पटक दुई करोड डलर भुक्तानी दिने र सन् २०२७ देखि सन् २०३० सम्मको चक्रका लागि उनीहरूको कोष निनियोजनलाई ८० लाख डलरबाट दुई करोड डलर बनाउने बताइएको थियो।

युएफाले इन्फान्टिनोलाई यस विफलताको जवाफदेही बनाएको छ। यो घटना पहिलो पटक ४८ टोली र तीन देशमा आयोजना भएको उहाँको अत्यन्त सफल विश्वकपको उत्साहबाट लाभान्वित भएको दुई हप्ता नपुग्दै भएको हो।

“हालको फिफा नेतृत्वले युएफाको मात्र होइन, फुटबल परिवारका धेरै अन्य सदस्यहरूको पनि विश्वास गुमाएको छ,” वक्तव्यमा भनिएको छ।

युएफाले ५६ वर्षीय स्विस नागरिकले सन् २०१६ मा सफलतापूर्वक निर्वाचन लड्दा दिएका वाचाहरू तोडेको आरोप लगाएको छ अर्थात् ‘पारदर्शी’ हुने र फिफाको पैसा ‘तपाईंहरूको (सदस्य सङ्घहरूको) पैसा हो’ र ‘फिफा अध्यक्षको पैसा होइन’ भन्ने उनको पूर्व भनाइको प्रतिकुल छ।

“यी दुवै वाचामा उहाँ असफल हुनुभएको छ,” युएफाले भनेको छ, “उनीहरूले तयार पारेर जबरजस्ती लागू गर्न खोजेको तुच्छ, गोप्य अस्पष्ट सम्झौता पारदर्शी केही थिएन। पाँच अर्ब डलरभन्दा बढी सञ्चित कोष हुँदाहुँदै पनि उहाँले सङ्घहरूको पैसा खेलको हितमा प्रयोग गर्न असफल भएका छन्।”

त्यसैगरी ४७ सदस्य राष्ट्रहरूको प्रतिनिधित्व गर्ने एसियाली फुटबल कन्फेडेरेसन (एएफसी)ले योजना फिर्ता लिएको स्वागत गर्दा कम कडा भाषा प्रयोग गरेको थियो। विश्वव्यापी फुटबलमा प्रभाव पार्न सक्ने कुनै पनि पहल ‘समयमै, पारदर्शी र अर्थपूर्ण तरिकाले कन्फेडेरेसनहरू, फिफा परिषद्, सदस्य सङ्घहरू र अन्य सरोकारवालाहरूसँग प्रस्तुत र छलफल गर्नुपर्ने क्वालालम्पुरस्थित एएफसीको केन्द्रीय कार्यालयले वक्तव्यमा भनेको छ।

यी दुई शक्तिशाली निकायहरूसँगै सन् २०२६ का विश्वकपका तीन सह-आयोजक अमेरिका, क्यानडा र मेक्सिको समावेश उत्तर अमेरिकी र क्यारेबियाली महासङ्घले पनि यस कदमको निन्दा गरेका थिए। युएफाको कडा शब्दयुक्त वक्तव्यपछि उनीहरूका दुई शक्तिशाली सदस्य सङ्घहरूबाट पनि उत्तिकै स्पष्ट वक्तव्य आएका छन्।

इङलिस फुटबल एसोसिएसन (एफए) ले ‘विश्वव्यापी खेल पारदर्शी रूपमा सञ्चालन होस् भन्नका लागि फिफाको नेतृत्व र शासनको पूर्ण र बलियो समीक्षा हुनुपर्छ’ भनेको छ। जर्मन फुटबल सङ्घले फिफाभित्र पूर्ण सांस्कृतिक परिवर्तनको माग गरेको छ।

“युएफा र अन्य कन्फेडेरेसनहरूसँग मिलेर हामीले सुनिश्चित गर्नुपर्छ कि फिफामा मौलिक रूपमा फरक संस्कृति स्थापित होस्, जहाँ मुख्य रूपमा निर्णयहरू पुनः सदस्यहरूद्वारा शासकीय निकायहरूभित्र छलफल र निर्णय गरिन्छन्,” योजना स्थगित घोषणा गर्ने वक्तव्यमा इन्फान्टिनोले भन्नुभएको छ, “यो परियोजना सदस्य सङ्घहरूलाई सुदृढ बनाउने माध्यमका रूपमा सोचिएको थियो र बहुमत समर्थन भएमा मात्र अगाडि बढाइने छ।"

“सबै दृष्टिकोण ध्यानपूर्वक सुनेपछि यो स्पष्ट भएको छ,  यस परियोजनाले यस्तो प्रकृतिको विभाजन सिर्जना गरेको छ जुन समर्थनको स्तर जेसुकै भए पनि सुरुमा राखिएको उद्देश्यको हितमा छैन,” उनले अगाडि भनेका छन्, “उहाँ सद्भाव पुनः स्थापित गर्दै खेलको विस्तारमा ध्यान केन्द्रित गर्नुहुनेछ।” 

साउन १६, २०८३ शनिबार २२:०३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।