कसैको साथ नपाएपछि आफ्नै निर्णयबाट ‘ब्याक’ भए फिफा अध्यक्ष इन्फान्टिनो, अब पद पनि धरापमा !
एजेन्सी : चौतर्फी विरोध र बहिष्कारको चेतावनीपछि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाका प्रमुख प्रतियोगिताहरूको सेयर निजी लगानीकर्तालाई बेच्ने विवादास्पद योजना रद्द गरेका छन्।
पुरुष तथा महिला विश्वकपसहितका प्रतियोगिता सञ्चालन गर्न निजी लगानी भित्र्याउने उक्त योजनाको समर्थन गरेबापत फिफाका २११ सदस्य राष्ट्रलाई जनही ४ करोड डलर दिने इन्फान्टिनोको प्रस्ताव थियो।
तर, यसले फुटबल जगतमा ‘विभाजन ल्याएको’ स्वीकार गर्दै इन्फान्टिनोले यो योजना अब अघि नबढ्ने स्पष्ट पारेका छन्।
यसरी पछि हटे इन्फान्टिनो
युरोपेली फुटबल महासंघ (युइएफए)ले बिहीबार उक्त योजना अघि बढे विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएको थियो।
त्यसलगत्तै उत्तर तथा मध्य अमेरिका र क्यारेबियन फुटबल महासंघ (कन्काकाफ) र एसियाली फुटबल महासंघ (एएफसी) ले पनि योजना अस्वीकार गर्दै युइएफएको पक्षमा उभिएपछि इन्फान्टिनो पछि हट्न बाध्य भएका हुन्।
यो योजना पारित हुन फिफाका २११ मध्ये १०६ सदस्यको समर्थन आवश्यक पर्थ्यो। तर, युरोप (५५ भोट), एसिया (४६ भोट) र कन्काकाफ (३५ भोट) एकै ठाउँमा उभिएपछि योजना असफल हुने निश्चित भएको थियो।
फिफाभित्रै विद्रोह र राजीनामा
योजनाको विरोधमा फिफाभित्रै पनि ठूलो असन्तुष्टि देखिएको छ। इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेइरोले यो प्रस्तावलाई ‘फुटबलको भविष्य बन्धकी राख्ने खराब सम्झौता’ भन्दै राजीनामा दिएका छन्।
त्यस्तै, फिफाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) केभिन लामोरले यसलाई ‘एक व्यक्तिको महत्त्वाकांक्षी परियोजना’ भन्दै फिफा प्रशासनलाई नै यस विषयमा धोका दिइएको बताएका छन्।
उनले भने, ‘अध्यक्षको काम मानिसलाई जोड्ने हो, तर यो योजनाले उल्टो काम गर्यो। यसको विरोध गर्दा मेरो जागिर जान्छ भने पनि मलाई पर्वाह छैन।’
अध्यक्ष पद धरापमा !
यस घटनाले आगामी मार्चमा मोरक्कोमा हुने फिफा कंग्रेसबाट चौथो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुने इन्फान्टिनोको लक्ष्यमा गम्भीर धक्का लागेको छ। यसअघि उनी निर्विरोध निर्वाचित हुने अनुमान गरिए पनि अब अवस्था फेरिएको छ।
अमेरिकाको ‘थ्राइभ क्यापिटल’सँग मिलेर नयाँ कम्पनी (फिफा फरवार्ड इन्टरप्राइज) खडा गरी विश्वकपको व्यापार गर्ने उनको योजनाले उनको नेतृत्व क्षमतामाथि नै प्रश्न उठाएको छ।
बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले समेत इन्फान्टिनो फिफाको नेतृत्व गर्न ‘गलत व्यक्ति’ भएको टिप्पणी गरेका छन्।
साउन १६, २०८३ शनिबार ०७:२९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।