नेदरल्यान्ड्स शृङ्खलापछि रोहितको समीक्षा : ब्याटिङ र फिल्डिङमा चुक्यौं

नेदरल्यान्ड्स शृङ्खलापछि रोहितको समीक्षा : ब्याटिङ र फिल्डिङमा चुक्यौं

काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा ओडीआई शृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार साँझ स्वदेश फर्किएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान रोहित पौडेलले टोलीले लक्ष्यअनुसारको प्रदर्शन गर्न नसकेको स्वीकार गरे। अपेक्षित नतिजा नआउँदा आफूहरू निराश रहेको उल्लेख गर्दै उनले अबको ध्यान आगामी प्रतियोगितामा केन्द्रित गरिने उल्लेख गरे।

उनका अनुसार टोलीको बलिङ सन्तोषजनक रहे पनि ब्याटिङ र फिल्डिङ अपेक्षाअनुसार हुन सकेन। "हामीले ब्याटिङमा आवश्यक आक्रामकता देखाउन सकेनौं। फिल्डिङ पनि हाम्रो स्तरअनुसार भएन। महत्त्वपूर्ण क्याच छुटाउँदा त्यसको प्रत्यक्ष असर खेलको नतिजामा पर्यो," पौडेलले भने।

उनले चार वटै खेलमा ब्याटिङ र फिल्डिङ कमजोर रहँदा अंक तालिकामा पनि असर परेको बताए। दुई खेल जित्न सकेको भए नेपाल पाँचौँ स्थानमा पुग्ने सम्भावना रहेको उल्लेख गर्दै अहिले टोली छैटौं स्थानमा रहेको जानकारी दिए।

पौडेलले अब ओमानमा हुने अन्तिम शृङ्खलामा राम्रो प्रदर्शन गर्दै एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु नै टोलीको प्रमुख लक्ष्य रहेको बताए। उनले युरोपेली परिस्थितिअनुसार खेल्न नसक्नु पनि कमजोर प्रदर्शनको एउटा कारण भएको स्वीकार गरे। 

नेपालको घरेलु विकेट र नेदरल्यान्ड्सको विकेटबीच ठूलो अन्तर रहेकाले त्यसअनुसार आफूहरू अनुकूल हुन नसकेको उनको भनाइ थियो। प्रतिद्वन्द्वी टोलीहरूले लगातार छोटो लम्बाइका बल (सर्ट बल) प्रयोग गरेर दबाब सिर्जना गरेको उल्लेख गर्दै पौडेलले त्यसलाई प्रभावकारी रूपमा सामना गर्न नसक्दा ब्याटिङ प्रभावित भएको बताए।

खेलका निर्णायक क्षणहरू सदुपयोग गर्न नसक्नु पनि हारको अर्को कारण रहेको उनको विश्लेषण थियो। पौडेलले अन्तर्राष्ट्रिय क्रिकेटमा हरेक चुनौती स्वीकार गर्नुपर्ने उल्लेख गर्दै मानसिक रूपमा अझ बलियो बनेर कमजोरी सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।

साउन १५, २०८३ शुक्रबार २०:००:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।