विश्वकप क्रिकेट लिग-२ : तन्नम ब्याटिङले नेदरल्यान्ड्समा अंकविहीन बन्यो नेपाल, ओडिआई मान्यता पनि भिरको डिलमा !
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा सम्पन्न त्रिकोणात्मक एकदिवसीय शृङ्खला नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि पूर्ण रूपमा बिर्सनलायक बन्यो।
घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग खेलिएका चारवटै खेलमा पराजय भोगेको नेपालले यस भ्रमणबाट अंकतालिकामा थप अंक जोड्न सकेन। यो शृङ्खलाअघि अंकतालिकाको पाँचौं स्थानमा रहेको नेपाल लगातार चार हारपछि छैटौं स्थानमा झरेको छ।
तन्नम ब्याटिङ लाइनअपले नेपालको विश्वकप छनोटको यात्रा मात्र कठिन बनाएको छैन, अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता नै गुम्ने गम्भीर खतरा बढेको छ।
यस शृङ्खलामा नेपालको सबैभन्दा कमजोर पक्ष ब्याटिङ रह्यो। चार खेलमध्ये कुनै पनि खेलमा नेपालका ब्याटरहरूले जिम्मेवारीपूर्ण प्रदर्शन गर्न सकेनन्। नेपालले पहिलो र दोस्रो खेलमा समान १५७ रनमा अलआउट हुँदा तेस्रोमा २०८/६ र चौथो खेलमा जम्मा १६८ रन मात्र बनाउन सक्यो।
ओपनिङ जोडी पूर्ण रूपमा फ्लप भयो। भरपर्दा मानिएका ओपनर कुशल भुर्तेलले चार खेलमा क्रमशः २, ९, ३४ र ० रन मात्र बनाए। कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख जस्ता मुख्य ब्याटरहरूले राम्रो सुरुवात पाए पनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन्।
कुन खेलमा के भयो?
नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल ४६.५ ओभरमै १५७ रनमा अलआउट भयो। रोहित पौडेल (३१) र दीपेन्द्र (३०) बाहेक अन्यले टिकेर खेल्न सकेनन्। नामिबियाले उक्त लक्ष्य ३७.४ ओभरमै २ विकेट गुमाएर सहजै पूरा गर्यो।
नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा फेरि उही नियति दोहोरियो। नेपाल ४४.४ ओभरमा १५७ रनमै समेटियो। आरिफ शेखको ४१ रनको इनिङ्सबाहेक टप अर्डर पूर्ण रूपमा धराशायी भयो। नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो।
नामिबियाविरुद्धको अर्को खेल नेपालका लागि सबैभन्दा ‘हार्टब्रेक’ रह्यो। करण केसीले सानदार बलिङ गर्दै ५ विकेट (५/२९) लिएपछि नामिबिया २११/७ मा रोकिएको थियो।
तर, जवाफी ब्याटिङमा आसिफ शेख (४५) र रोहित पौडेल (४१) ले राम्रो सुरुवात दिलाए पनि अन्त्यमा नेपाल ५० ओभर खेल्दै २०८/६ मा रोकियो र खेल ३ रनले हार्न पुग्यो।
सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सले दिएको २२६ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमै अलआउट भयो। यस खेलमा पनि करण केसीले ४ विकेट लिएर बलिङमा चम्किए पनि ब्याटरहरूले उनलाई साथ दिन सकेनन्।
विश्वकप छनोट र ओडिआई मान्यताको गणितीय सङ्कट
लिग-२ को ढाँचाअनुसार हरेक टोलीले ३६ वटा खेल खेल्नुपर्ने हुन्छ। यस लिगको शीर्ष ४ टोलीले सन् २०२७ को एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा सोझै स्थान बनाउनेछन्।
हालसम्म ३२ खेल खेलिसकेको नेपाल ११ जित र १९ हारसहित २४ अंक जोडेर छैटौं स्थानमा छ। नेपालले अब ओमानमा घरेलु टोली र क्यानडासँग जम्मा ४ खेल खेल्न बाँकी छ।
शीर्ष ४ मा रहेका अमेरिका (४३ अंक), नेदरल्यान्ड्स (३८ अंक), स्कटल्यान्ड (३८ अंक) र ओमान (३१ अंक) लाई भेट्टाउन नेपालका लागि अब गणितीय रूपमा लगभग असम्भवजस्तै छ।
यसको अर्थ नेपालले शीर्ष ४ मा पर्न नसक्ने निश्चित भइसकेको छ। अब नेपालको एक मात्र लक्ष्य पाँचौं वा छैटौं स्थानमा रहेर ‘विश्वकप छनोट प्लेअफ’ खेल्नु र आफ्नो ओडिआई स्टाटस जोगाउनु हुनेछ।
तर, नेपालको छैटौं स्थान पनि सुरक्षित छैन। सातौं स्थानमा रहेको क्यानडाको पनि २४ अंक नै छ, तर उसले नेपालभन्दा ४ खेल कम (२८ खेल मात्र) खेलेको छ। यदि क्यानडाले बाँकी खेलहरूमा केही जित निकाल्यो भने नेपाल सातौँ स्थानमा धकेलिने निश्चित छ।
आईसीसीको नियमअनुसार लिग-२ को पुच्छारका दुई टोलीले ओडिआई मान्यता गुमाउने खतरा रहन्छ। नेदरल्यान्ड्स भ्रमणमा अंकविहीन हुनुले नेपाललाई त्यही भिरको डिलमा पुर्याइदिएको छ।
अब बाँकी रहेका ४ खेलमा नेपालले शतप्रतिशत नतिजा निकाल्दै क्यानडा र नामिबियाको नतिजामा भर पर्नुपर्ने बाध्यात्मक र दबाबपूर्ण अवस्था सिर्जना भएको छ। बलियो बलिङ युनिट भएर पनि ब्याटिङको निरन्तरको असफलताले नेपाली क्रिकेटको भविष्य नै सङ्कटमा पारेको यस शृङ्खलाले स्पष्ट पारेको छ।
साउन १४, २०८३ बिहीबार ०९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।