विश्वकप फाइनलपछिको विवादमा अर्जेन्टिनी खेलाडी मात्र नभएर फुटबल संघमाथि पनि फिफाको अनुसन्धान
एजेन्सी : स्पेनसँग विश्वकप फाइनलमा भोगेको हारपछि र प्रतियोगिताभर देखाएको व्यवहारलाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अर्जेन्टिनामाथि अनुशासनात्मक कारबाहीको प्रक्रिया सुरु गरेको छ।
न्युयोर्कको न्युजर्सी स्टेडियममा स्पेनसँग १-० ले पराजित भएपछि मैदानमा भएको विवादको मूल्याङ्कन गर्न फिफाले गत साता एक अनुशासन तथा नैतिकतासम्बन्धी अभियोजक नियुक्त गरेको थियो। अन्तिम सिट्ठी बजेपछि अर्जेन्टिनाका कैयौँ खेलाडी र सहयोगी स्टाफ स्पेनिस खेलाडीहरूसँग हातहालाहाल र विवादमा उत्रिएका थिए।
अभियोजकको सिफारिसमा फिफाले अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनामाथि दुई वटा, मिडफिल्डर लिआन्ड्रो पारेडेसमाथि तीन वटा र सहायक प्रशिक्षक रोबर्टो आयलामाथि एउटा आरोपमाथि फिफाको अनुशासनात्मक संहिताको धारा १४ अन्तर्गत असल्ट गरेको आरोपमा अनुसन्धान गर्नेछ।
यसबाहेक, मोलिनामाथि सोही धाराअन्तर्गत ‘खेलभावना विपरीतको आचरण’ गरेको आरोपमा पनि कारबाही हुन सक्नेछ।
अर्जेन्टिनाका टियागो अल्माडा र स्पेनका मिडफिल्डर गाभीमाथि पनि सोही नियम उल्लङ्घन गरेको आरोप छ। फिफाको अनुशासनात्मक संहिताअनुसार खेलभावना विपरीत आचरण गर्ने खेलाडी तथा अधिकारीलाई कम्तीमा एक खेल र हातपातमा संलग्नलाई कम्तीमा तीन खेलको प्रतिबन्ध लाग्न सक्ने प्रावधान छ।
अर्जेन्टिनी फुटबल संघ पनि फन्दामा
खेलाडीहरूको व्यक्तिगत आचरणबाहेक अर्जेन्टिनी फुटबल संघ (एएफए) ले पनि प्रतियोगिताका विभिन्न खेलमा शृङ्खलाबद्ध नियम उल्लङ्घन गरेको भन्दै अनुशासनात्मक कारबाहीको सामना गरिरहेको छ।
एएफएमाथि खेलकुद प्रतियोगितालाई गैर-खेलकुद प्रदर्शनको रूपमा प्रयोग गरेको (धारा १३), टोलीको दुर्व्यवहार (धारा १४), भेदभाव र नश्लवादी दुर्व्यवहार (धारा १५) तथा खेलमा शान्तिसुरक्षा र सुव्यवस्था भङ्ग गरेको (धारा १७) आरोप छ।
यसअन्तर्गत भेदभावपूर्ण नाराबाजी गर्ने, खेल ढिलो सुरु गर्ने, टोली र दर्शकले अनुचित सन्देश देखाउने र दर्शकले मैदानमा वस्तुहरू फ्याँक्ने जस्ता विषयहरू समावेश छन्।
यसैगरी, इङ्गल्याण्डविरुद्धको सेमिफाइनल खेल जितेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबीलाई समर्थन गर्दै एउटा ब्यानर प्रदर्शन गरेका थिए।
उक्त ब्यानरमा स्पेनिस भाषामा ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ लेखिएको थियो, जसको अर्थ ‘फकल्यान्ड अर्जेन्टिनाको हो’ भन्ने हुन्छ। यो कार्यलाई पनि फिफाले नियमविपरीत मानेर अनुसन्धानको दायरामा राखेको छ।
साउन १४, २०८३ बिहीबार ०७:३३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।