विश्वकपको सेमिफाइनलमा हारेको फ्रान्सको मुख्य प्रशिक्षकमा जिनेदिन जिदान नियुक्त
काठमाडौं : फ्रान्सका महान् पूर्वखेलाडी जिनेदिन जिदान फ्रान्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
सन् २०२६ को विश्वकप सेमिफाइनलमा स्पेनसँग पराजित भई चौथो स्थानमा सीमित भएपछि फ्रान्सका सर्वाधिक लामो समय १४ वर्षसम्म प्रशिक्षक रहेका डिडियर डेसच्याम्प्सले पद छाडेका थिए। उनको बहिर्गमनसँगै ५४ वर्षीय जिदानलाई फ्रान्सको मुख्य प्रशिक्षक बनाइएको हो।
जिदानले सन् २०३० को विश्वकप छनोटसम्म फ्रान्सेली टोलीको सम्हाल्ने गरी सम्झौता गर्नेछन्। सन् १९९८ मा फ्रान्सलाई विश्वकप जिताउन मुख्य भूमिका खेलेका जिदान सन् २०२१ मा दोस्रो पटक रियल मड्रिडको मुख्य प्रशिक्षक छोडेयता कुनै पनि टोलीसँग आबद्ध थिएनन्।
मुख्य प्रशिक्षकमा नियुक्त भएपछि खुसी व्यक्त गर्दै जिदानले भने, ‘फ्रान्सेली राष्ट्रिय टोलीको नेतृत्व गर्न पाउनु मेरा लागि ठूलो गर्वको विषय हो। मैले धेरै पटक भनेको छु- फ्रान्सेली राष्ट्रिय टोलीभन्दा ठूलो अरू केही छैन। त्यसैले यो टोलीको प्रबन्धक बन्न पाउनु असाध्यै खुसी र गर्वको कुरा हो।’
उनले आफूमाथि विश्वास देखाएकोमा फ्रान्सेली फुटबल महासंघ (एफएफएफ)का अध्यक्ष फिलिप डियालो र कार्यकारी समितिलाई धन्यवाद दिँदै पूर्वप्रशिक्षक डेसच्याम्प्सको १४ वर्षे योगदानको प्रशंसा गरे। साथै उनले राष्ट्रिय टोलीसँग उच्च महत्त्वाकांक्षा रहेकोसमेत बताए।
फ्रान्सेली फुटबल महासंघका अध्यक्ष फिलिप डियालोले जिदानलाई फ्रान्सेली फुटबलका ‘लेजेन्ड’को रूपमा वर्णन गरे।
उनले भने, ‘जिदानको नियुक्तिले फ्रान्सेली फुटबल महासंघलाई ठूलो गर्व महसुस गराएको छ। यो लेजेन्ड खेलाडी तथा सफल प्रशिक्षक र असाधारण क्षमता भएको टोलीबिचको उत्कृष्ट संयोजन हो।’
यसअघिका प्रशिक्षक डेसच्याम्प्सको १४ वर्षे कार्यकालमा फ्रान्स तीन वटा प्रमुख प्रतियोगिताको फाइनलमा पुगेको थियो, जसअन्तर्गत सन् २०१८ मा फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो।
जिदानको नेतृत्वमा फ्रान्सले आगामी सेप्टेम्बर २५ मा नेसन्स लिगअन्तर्गत टर्कीविरुद्ध आफ्नो पहिलो आधिकारिक खेल खेल्नेछ।
प्रशिक्षकका रूपमा जिदानको सफलता
सन् २००६ को विश्वकपपछि खेलाडी जीवनबाट सन्यास लिएका जिदानले सन् २०१४ मा रियल मड्रिडको ‘बी’ टोली (कास्टिला) बाट प्रशिक्षण यात्रा सुरु गरेका थिए।
सन् २०१६ को जनवरीमा मड्रिडको मुख्य टोलीको जिम्मेवारी सम्हालेका उनले सोही सिजन टोलीलाई च्याम्पियन्स लिगको उपाधि दिलाए। फाइनलमा रियल मड्रिडले नगर प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।
त्यसपछि उनले मड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि दिलाएर इतिहास रचे। च्याम्पियन्स लिगको आधुनिक युगमा लगातार तीन पटक उपाधि जित्ने रियल मड्रिड पहिलो टोली बन्यो भने समग्रमा सन् १९७६ मा बायर्न म्युनिखपछि यो उपलब्धि हासिल गर्ने पहिलो टोली बन्यो।
उनले २०१६-१७ को सिजनमा ला लिगाको उपाधिसमेत जिते। तर, टोलीमा परिवर्तन आवश्यक रहेको भन्दै त्यसपछिको सिजनमा उनले पद छाडेका थिए।
टोलीको प्रदर्शन खस्केपछि मार्च २०१९ मा जिदान पुनः रियल मड्रिड फर्किए र २०१९-२० को सिजनमा अर्को ला लिगा उपाधि जिते। सो समयमा उनले इडेन हजार्ड र रोड्रिगो जस्ता महँगा खेलाडीहरूलाई टोलीमा भित्र्याएका थिए।
तर, २०२०-२१ को सिजन उपाधिविहीन बनेपछि उनले मड्रिड छाडेका थिए र त्यसयता उनी कुनै टोलीको प्रबन्धक बनेका थिएनन्।
सन् २०१० को विश्वकपबाट फ्रान्स समूह चरणबाटै बाहिरिएपछि नै जिदानलाई राष्ट्रिय टोलीको प्रशिक्षक बनाउने चर्चा सुरु भएको थियो। १६ वर्षपछि अन्ततः उनले सो जिम्मेवारी पाएका छन् र उनले टोलीलाई युरो २०२८ छनोट र सन् २०३० को विश्वकपसम्म लैजानेछन्।
खेलाडीका रूपमा जिदान
जिदानले सन् १९८९ मा कान्सबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका थिए। त्यसपछि बोर्दो हुँदै उनी सन् १९९६ मा युभेन्टस पुगे।
अट्याकिङ मिडफिल्डरका रूपमा उनले इटालियन क्लब युभेन्टसलाई लगातार दुई पटक सिरि ‘ए’ उपाधि दिलाए र लगातार दुई पटक च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याए।
सन् २००१ मा उनी तत्कालीन विश्व कीर्तिमानी ६ करोड ६० लाख पाउन्डमा रियल मड्रिडको ‘गालाक्टिकोज’ युगमा आबद्ध भए, जहाँ रोनाल्डो (ब्राजिलियन), लुइस फिगो र डेभिड बेकहम जस्ता विश्वविख्यात ताराहरू थिए।
सन् २००२ को च्याम्पियन्स लिग फाइनलमा बायर लेभरकुसेनविरुद्ध उनले प्रहार गरेको सानदार भली गोल फुटबल इतिहासकै उत्कृष्ट गोल मानिन्छ, जसले मड्रिडलाई २-१ को जित दिलाएको थियो।
राष्ट्रिय टोली र विश्वकप
फ्रान्सका लागि खेलाडीका रूपमा जिदानको सबैभन्दा ठूलो योगदान सन् १९९८ को विश्वकप फाइनलमा थियो।
पेरिसमा भएको फाइनलमा ब्राजिलविरुद्ध दुई हेड गोल गर्दै उनले फ्रान्सलाई ३-० को जित दिलाएर पहिलो पटक विश्वकप ट्रफी उचाल्न मुख्य भूमिका खेले। सोही वर्ष उनले प्रतिष्ठित ‘बालोन डि'ओर’ पुरस्कारसमेत जितेका थिए।
उनी सन् २००० को युरोकप जित्ने फ्रान्सेली टोलीका पनि प्रमुख सदस्य थिए।
सन् २००४ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए पनि २००६ को विश्वकप छनोटका क्रममा उनी पुनः टोलीमा फर्किए। सन् २००६ को विश्वकपमा उनले फ्रान्सलाई फाइनलसम्म पुर्याए।
इटालीविरुद्धको सोही फाइनल खेल उनको व्यावसायिक खेल जीवनको अन्तिम खेल बन्यो। खेलको सातौं मिनेटमा उनले ‘पानेन्का पेनाल्टी’ मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर इटालीले बराबरी गोल गर्यो र खेल अतिरिक्त समयमा धकेलियो।
अतिरिक्त समयका क्रममा इटालीका डिफेन्डर मार्को माटेराजीलाई छातीमा टाउकाले प्रहार गरेपछि जिदानले रातो कार्ड पाएर मैदान छाड्नुपर्यो। अन्त्यमा इटालीले पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराएर उपाधि जितेको थियो।
साउन १२, २०८३ मंगलबार १५:३३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।