विश्वकपसहित तीन ठूला प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने एम्बाप्पे, तर उपाधि शून्य !

विश्वकपसहित तीन ठूला प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने एम्बाप्पे, तर उपाधि शून्य !

एजेन्सी : आजकल किलियन एम्बाप्पे एकपछि अर्को इतिहास रचिरहेका छन्। फ्रान्स र रियल म्याड्रिडका यी सुपरस्टारले गोलको वर्षा गरेको एक उत्कृष्ट सिजन र ‘समर’ पछि आफ्नो करियरमा अर्को ऐतिहासिक उपलब्धि थपेका छन्।

एम्बाप्पेले घरेलु लिग, युरोपियन कप/च्याम्पियन्स लिग र विश्वकप तीनवटै ठूला प्रतियोगितामा एकै सिजन सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान कायम गरेका छन्। यस्तो कीर्तिमान कायम गर्ने उनी पछिल्लो ६० वर्षमा पहिलो र फुटबल इतिहासकै दोस्रा खेलाडी हुन्।

यसअघि सन् १९६६ मा पोर्चुगलका लिजेन्ड युसेबियोले यो उपाधि हासिल गरेका थिए। त्यसयता यो कीर्तिमानी सूचीमा युसेबियो एक्लै थिए, अब एम्बाप्पे जोडिएका छन्।

ला-लिगामा २५ गोल गर्दै फ्रान्सेली फरवार्डले लगातार दोस्रो सिजन ला-लिगाको सर्वाधिक गोलकर्तालाई दिइने अवार्ड ‘पिचिची ट्रफी’ जिते। गत सिजन च्याम्पियन्स लिगमा पनि उनी गोलकर्ताको सूचीमा शीर्ष स्थानमै रहे, जहाँ उनले ११ खेलमा १५ गोल गरे।

२०२५-२६ को आफ्नो यो उत्कृष्ट व्यक्तिगत सिजनलाई उनले २०२६ विश्वकपको ‘गोल्डेन बुट’ जितेर झनै सुनौलो बनाए।

विश्वकपमा १० गोल र ४ असिस्ट गर्दै उनले लियोनल मेस्सीलाई पछि पारे। यससँगै उनी पुरुष फुटबलको इतिहासमा एकभन्दा बढीपटक विश्वकप गोल्डेन बुट जित्ने पहिलो खेलाडीसमेत बनेका छन्।

व्यक्तिगत सफलताको चुचुरो, तर उपाधिको संकट
क्लब र राष्ट्रिय टोली दुवैका लागि रेकर्ड बुकमा आफ्नो नाम कोर्नु एम्बाप्पेका लागि अब सामान्य जस्तै भइसक्यो। किशोरावस्थामै फ्रान्सलाई २०१८ को विश्वकप जिताएदेखि नै उनले व्यक्तिगत कीर्तिमान राख्दै आएका छन्।

तर, एम्बाप्पेले ला लिगा, च्याम्पियन्स लिग र विश्वकप सबैतिर सर्वाधिक गोलकर्ता बने पनि २०२५-२६ को सिजनमा उनले एउटा पनि उपाधि उचाल्न पाएनन्।

ला लिगामा रियल म्याड्रिड बार्सिलोनाभन्दा ८ अंकले पछि पर्दै दोस्रो स्थानमा सीमित भयो। कीर्तिमानी १५ पटकको च्याम्पियन रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमै बायर्न म्युनिखसँग पराजित हुँदै बाहिरियो।

यता राष्ट्रिय टोलीमा पनि त्यस्तै निराशा हात लाग्यो। विश्वकपको सेमिफाइनलमा फ्रान्स स्पेनसँग रोकियो भने तेस्रो स्थानका लागि भएको भिडन्तमा इङ्ल्यान्डसँग पराजित भयो। यससँगै प्रशिक्षक डिडियर डेसच्याम्प्सको कार्यकाल पनि निराशाजनक रह्यो।

एम्बाप्पेले जतिसुकै गोल गरे पनि आफ्नो क्लब वा देशलाई अन्तिम रेखा पार गराएर उपाधि दिलाउन सकेनन्। रियल म्याड्रिडबाट तेस्रो सिजन सुरू गर्दै गर्दा यो भाष्यले उनलाई पक्कै पिरोल्नेछ।

अझै कीर्तिमान बन्लान्, तर ट्रफी?
विश्वकपको सेमिफाइनलसम्म पुगेका कारण एम्बाप्पे म्याड्रिडको ‘प्रि-सिजन’मा ढिलो जोडिने खेलाडीमध्ये एक हुनेछन्।

यदि बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीको स्थानमा कुनै ठूला स्ट्राइकर नल्याउने हो भने, एम्बाप्पेले लगातार तेस्रो सिजन ला लिगामा सर्वाधिक गोल गर्ने सम्भावना प्रबल छ।

त्यसो भएमा उनी मेस्सीपछि लगातार तीनपटक ‘पिचिची’ जित्ने पहिलो खेलाडी बन्नेछन् भने रियल म्याड्रिडबाट ह्युगो सान्चेजपछि यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी हुनेछन्।

युरोपियन च्याम्पियन्स लिगमा पनि उनको दाबेदारी बलियो छ।

२७ वर्षीय एम्बाप्पे च्याम्पियन्स लिगमा रियल म्याड्रिड क्वाटरफाइनलबाटै बाहिरिएको अवस्थामा पनि एकै सिजनमा क्रिस्टियानो रोनाल्डोले बनाएको सर्वाधिक गोलको कीर्तिमान तोड्नबाट मात्र तीन गोलले पछि थिए।

फ्रान्सेली कप्तानले आगामी सिजन अझ धेरै व्यक्तिगत अवार्डहरू जिते भने पनि विश्वले खासै आश्चर्य मान्नेछैन। तर, ती अवार्डको महत्त्व त्यतिबेला मात्र हुनेछ, जब उनले रियल म्याड्रिडलाई फेरि च्याम्पियनको बाटोमा फर्काउनेछन्।

विश्वकप विजेता मार्क कुकुरेलाको आगमनले पक्कै पनि टोलीलाई सघाउनेछ। त्यस्तै, इब्राहिमा कोनाटे, डेन्जल डम्फ्रिज र बर्नान्डो सिल्भा जस्ता नयाँ अनुबन्धले टोलीको डेप्थ बलियो बनाएको छ।

तर, निर्णायक कुरा भनेको एम्बाप्पेले भिनिसियस जुनियर र जुड बेलिङ्घमसँग कस्तो तालमेल मिलाउँछन् भन्ने नै हो। यदि यी तीनबीच सही तालमेल बन्यो भने मात्र रियलले ट्रफी उचाल्नेछ।

साउन ११, २०८३ सोमबार १०:२४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।