लिग-२ मा समान अंक रहेका नेपाल र नामिबिया भिड्दै
काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नामिबिया खेल्दैछन्। नेदरल्यान्ड्सको उट्रेचमा हुने शृङ्खलाको ११८औं खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
लिग तालिकामा समान अंक रहेका कारण आजको खेल दुवै टोलीका लागि अंक तालिका सुधार गर्न र एक-अर्कालाई पछि पार्न अत्यन्तै निर्णायक मानिएको छ।
लिग-२ को अंकतालिकामा नेपाल र नामिबियाको अवस्था लगभग उस्तै छ। दुवै टोलीले हालसम्म समान ३० खेल खेल्दै ११ मा जित र १७ मा हार बेहोरेका छन्। दुवै टोलीका २-२ खेल नतिजाविहीन बनेका थिए।
समान २४ अङ्क भए पनि नेट रनरेटका आधारमा नेपाल नामिबियाभन्दा एक स्थान माथि छ। नेपालको नेट रनरेट -०.०४९ छ र टोली पाँचौं स्थानमा छ भने -०.४५४ रनरेट रहेको नामिबिया छैटौँ स्थानमा छ। आजको खेल जित्ने टोलीले तालिकामा स्पष्ट अग्रता लिनेछ।
नामिबियाको दबदबा तोड्ने चुनौती
पछिल्ला हेड-टु-हेड तथ्याङ्क हेर्दा नामिबिया नेपालमाथि पूर्ण रूपमा हाबी देखिएको छ। यी दुई टोलीबीच भएका पछिल्ला ५ भेटमा नामिबियाले ३ खेल जितेको छ भने नेपालले २ खेल मात्र आफ्नो पक्षमा पारेको छ।
नेपालका लागि चिन्ताको विषय के छ भने, नामिबियाविरुद्धका पछिल्ला तीनवटै खेलमा नेपाल पराजित भएको छ। केही दिनअघि मात्र भएको खेलमा नामिबियाले नेपाललाई ८ विकेटको फराकिलो अन्तरले (७४ बल बाँकी छँदै) हराएको थियो।
त्यसअघि सन् २०२४ को फेब्रुअरीमा भएका दुवै खेलमा (२ विकेट र ४ विकेटले) नामिबिया विजयी भएको थियो।
नेपालले नामिबियालाई पछिल्लोपटक सन् २०२३ को फेब्रुअरीमा कीर्तिपुर मैदानमा लगातार दुई खेलमा (३ विकेट र २ विकेटले) हराएको थियो। आज नेपालसामु पछिल्ला तीन हारको बदला लिने र नामिबियाको दबदबा तोड्ने चुनौती छ।
पछिल्ला पाँच खेलको प्रदर्शनलाई आधार मान्दा नेपालको लय केही खस्किएको देखिन्छ। नेपालले लगातार तीन खेल जितेर उत्कृष्ट लय समातेको भए पनि पछिल्ला दुई खेलमा भने लगातार हार बेहोरेको छ।
उता, नामिबियाले पछिल्ला पाँच खेलमा मिश्रित नतिजा निकालेको छ। नामिबियाले दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ भने एउटा खेल नतिजाविहीन बनेको थियो।
साउन ११, २०८३ सोमबार ०९:५६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।