‘रियल मड्रिडसँग २०१८ मा रोनाल्डोको विकल्प थियो तर अहिले भिनिसियसको छैन’
एजेन्सी : आफ्नो २४औं जन्मदिनको केही महिनाअघि मात्र भिनिसियस जुनियरले रियल म्याड्रिडलाई तीन वर्षमा दोस्रो च्याम्पियन्स लिग उपाधि दिलाएका थिए। दुवै फाइनलमा गोल गर्दै उनले प्रतियोगिताको इतिहासमा मात्र होइन, लस ब्लान्कोस (रियल म्याड्रिड) को युरोपेली विरासतमा पनि आफ्नो नाम स्वर्णिम अक्षरले लेखाए।
त्यतिबेला उनले क्लब छाड्ने कुरा सुन्दा पनि हाँसो उठ्दो लाग्थ्यो। क्रिस्टियानो रोनाल्डोको प्रतिष्ठित ७ नम्बर जर्सी लगाएका भिनिसियस म्याड्रिडका ‘पोस्टर ब्वाई’ थिए। उनी विश्वकै उत्कृष्ट विङ्गर र २०२४ को बालोन डी'ओरका प्रमुख दाबेदार थिए।
तर, दुई वर्षपछिको कथा फरक छ। अहिले रियल म्याड्रिडको अनुहार किलियन एम्बाप्पे बनेका छन्। विश्वको उत्कृष्ट विङ्गरको ताज लामिन यामलको शिरमा छ भने २०२६ को बालोन डी'ओरको दौडमा बार्सिलोनाका यिनै ‘वन्डरकिड’ वा स्पेनका उनका सहकर्मी रोड्री अगाडि छन्।
एम्बाप्पेको आगमनसँगै भिनिसियसको प्रभाव घट्दै गएको देखियो। अचानक, उनी म्याड्रिडका कट्टर समर्थकबाहेक अरूका लागि ओझेलमा परे। धेरै प्रशंसकहरू पनि म्याड्रिडको आक्रमणको साँचो एम्बाप्पेलाई सुम्पन राजी देखिन्छन्। क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको भित्री मनसाय पनि सायद त्यही छ, यद्यपि उनी सार्वजनिक रूपमा अर्कै कुरा गर्छन्।
पेरेजले भिनिसियससँगको सम्झौता नवीकरणमा खासै चासो नदेखाउनुले उनलाई क्लबबाट बाहिरिने बाटो देखाइरहेको भान हुन्छ। यदि उनी बाहिरिए भने, डिफेन्डिङ प्रिमियर लिग च्याम्पियन आर्सनल उनलाई स्वागत गर्न आतुर रहेको देखिन्छ।
यो ट्रान्सफर सम्भव भएमा रियल म्याड्रिडले कीर्तिमानी रकम पक्कै पाउनेछ, तर भिनिसियसले सान्टियागो बर्नाबेउमा जे योगदान दिन्छन्, त्यसको भरपाई कुनै पनि आर्थिक मूल्यले गर्न सक्दैन।
भिनिसियसको खस्कँदो लयको हल्ला बढाइचढाइ मात्र
भिनिसियसलाई गुमाउँदा पनि रियल म्याड्रिड सजिलै तङ्ग्रिन सक्छ भन्न सजिलो छ। उनी नहुँदा आक्रमणको सम्पूर्ण जिम्मा एम्बाप्पेको काँधमा आउँछ, जसले लगातार दुई सिजन टोलीका लागि सर्वाधिक गोलकर्ताको पहिचान बनाइसकेका छन्।
भिनिसियसलाई बेच्दा आउने ठूलो रकमले देब्रे विङको अभाव पूर्ति गर्न नयाँ ‘गेम चेन्जर’ खेलाडी ल्याउन मद्दत पुग्छ भन्ने तर्क पनि एकातिर छ। क्लबलाई अब आफ्नो ७ नम्बर जर्सीधारी सुपरस्टार चाहिँदैन भन्ने तर्क गर्नेहरू पनि नभएका होइनन्।
पछिल्लो दुई वर्षमा रियल म्याड्रिडले कुनै ठूलो उपाधि जित्न नसक्दा असन्तुष्टि बढेको छ। भिनिसियस पहिले जस्तो निर्णायक नदेखिएको र अग्रपङ्क्तिमा एम्बाप्पेसँग उनको तालमेल नमिल्ने गरेको आरोप लाग्ने गरेको छ। तर, तथ्याङ्क हेर्ने हो भने उनको पतनको भाष्य कति बढाइचढाइ गरिएको छ भन्ने प्रस्ट हुन्छ।
पछिल्ला ५ सिजनमा भिनिसियसको तथ्याङ्कः
२०२५-२६: ५३ खेल | २२ गोल | १० असिस्ट
२०२४-२५: ५२ खेल | २१ गोल | १५ असिस्ट
२०२३-२४: ३९ खेल | २४ गोल | ९ असिस्ट
२०२२-२३: ५५ खेल | २३ गोल | १९ असिस्ट
२०२१-२२: ५२ खेल | २२ गोल | १६ असिस्ट
जुन दुई सिजनमा भिनिसियसको लय गुमेको मानिएको छ, ती सिजनमा उनले ४३ गोल र २५ असिस्ट गरेका छन्।
गोल मेसिन एम्बाप्पेसँगै मैदानमा रहँदा पनि उनले कुल ६८ गोलमा प्रत्यक्ष योगदान दिएका छन्। त्यो पनि तीन फरक म्यानेजरको नेतृत्वमा, छिन्नभिन्न र अस्थिर टोलीभित्र रहेर। त्यति हुँदाहुँदै पनि २०२५-२६ को सिजनमा उनी आफ्नो करियरकै उत्कृष्ट (२०२३/२४) भन्दा मात्र दुई गोलले पछि रहे।
च्याम्पियन्स लिगमा उनको प्रदर्शनको विकल्प छैन
च्याम्पियन्स लिग भिनिसियसको सबैभन्दा मन पर्ने प्रतियोगिता हो। गत सिजन नकआउट चरणका ६ खेलमा उनले ४ गोल र १ असिस्ट गर्दै रियललाई बेन्फिका र म्यानचेस्टर सिटीविरुद्ध जित दिलाए।
एम्बाप्पेले २०२५-२६ मा युरोपको सबैभन्दा ठूलो मञ्चमा १५ गोल गरे होलान्, तर तीमध्ये १३ गोल लिग चरणमै आएका थिए। यसले सामान्य दर्शकलाई एम्बाप्पेको भरमा मात्रै च्याम्पियन्स लिग जित्न सकिन्छ भन्ने भ्रम पर्न सक्छ, तर जब युरोपमा दबाबको घडी आउँछ, त्यतिबेला चम्किने भनेकै भिनिसियस हुन्।
यदि उनलाई बेच्ने हो भने, प्रशिक्षक जोजे माउरिन्होले च्याम्पियन्स लिगको आफ्नो सबैभन्दा भरपर्दो अस्त्र गुमाउनेछन्।
च्याम्पियन्स लिग कहिल्यै नजितेका फ्रान्सेली स्टार एम्बाप्पेमाथि मात्र भर पर्नुपर्ने बाध्यता म्याड्रिडलाई हुनेछ। फेडेरिको भाल्भर्डे र थिबाउट कोर्टुवाजस्ता अनुभवी खेलाडी त छन्, तर कठिन समयमा टोलीलाई काँधमा बोक्ने काम भिनिसियसले नै गर्दै आएका छन्।
छायाँमा परेको उनको ‘प्लेमेकिङ’ क्षमता
भिनिसियस आफ्नो सनसनीपूर्ण ड्रिब्लिङ र व्यक्तिगत गोलका कारण सधैँ चर्चामा रहन्छन्, तर ‘फाइनल थर्ड’मा उनको स्किललाई कम आँकिने गरिन्छ।
कसैले नसोचेको बेला खुट्टाको बाहिरी भागले दिइने ‘ट्रिभेला’पास निकाल्न उनी माहिर छन्। जुड बेलिङ्घम वा एम्बाप्पेलाई उनले जति पास मिलाइदिन्छन्, त्यसको उचित मूल्याङ्कन भएको छैन।
पछिल्ला पाँच सिजनमा उनले सबै प्रतियोगितामा गरी ६९ असिस्ट गरेका छन्। २६ वर्षीय फरवार्डले फ्रि-किक वा कर्नर (सेट पिस) प्रहार गरेरै यति धेरै असिस्ट गर्नु सामान्य कुरा होइन। बक्सभित्र खेलाडीहरू दौडिँदा उनी सजिलै गोलकर्ताबाट अवसर सिर्जना गर्ने बन्न सक्छन्, जुन कुरा एम्बाप्पेबाट विरलै देखिन्छ।
ड्रेसिङ रुमको अर्को विपत्ति म्याड्रिडले धान्न सक्दैन
गोल र असिस्टभन्दा बाहिर, ड्रेसिङ रुममा भिनिसियस जस्तो प्रभावशाली आवाजलाई गुमाउनु क्लबका लागि घातक हुन सक्छ। गत सिजन टोलीभित्र जतिसुकै आन्तरिक समस्या भए पनि, पूर्वप्रशिक्षक जाभी अलोन्सोसँगको तिक्तताबाहेक भिनिसियस कुनै विवादमा मुछिएनन्।
एम्बाप्पे र बेलिङ्घमबीच खटपट भयो, भाल्भर्डे र औरेलियन चुवामेनीबीचको झगडा अस्पतालसम्मै पुग्यो, अनि एन्टोनियो रुडिगरले अल्भारो कारेरासलाई झापड नै हाने।
बर्नाबेउको पछिल्लो एक दशककै सबैभन्दा अस्थिर सिजनमा पनि भिनिसियसले आफ्ना सहकर्मीहरूसँग कुनै विवाद गरेनन्। ड्रेसिङ रुममा उनले क्लबका लागि गरेको योगदानको साँचो सम्मान छ, र उनले पनि सधैँ टोलीप्रति वफादारी देखाएका छन्।
पहिले नै सङ्क्रमणकालबाट गुज्रिरहेको क्लबले मैदानभित्र र बाहिर उत्तिकै रुचाइएका तथा क्लबको जर्सीप्रति सधैँ बफादार खेलाडीलाई गुमाउनु बुद्धिमानी हुँदैन।
रियल म्याड्रिडमा सायद हरेक खेलाडीको विकल्प छ- सन् २०१८ मा रोनाल्डोको पनि थियो। तर, यस क्षणमा भिनिसियसको कुनै विकल्प छैन। उनलाई गुमाउनु भनेको क्लबको ओरालो यात्रालाई निरन्तरता दिनु हो।
साउन ११, २०८३ सोमबार ०७:५१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।