विश्वकप जित्ने दुई स्पेनिस खेलाडीलाई आफ्नै तौल बराबरको गोलभेँडा उपहार !
एजेन्सी : विश्वकप जित्दा खेलाडीहरूले धेरै प्रकारका पुरस्कार र सम्मान पाउँछन्। तर, स्पेनका दुई खेलाडीले आफ्नै शरीरको तौल बराबरको गोलभेँडा उपहार पाएका छन्।
अमेरिकामा विश्वकप जितेर फर्किएका स्पेनका मिडफिल्डरद्वय फाबियन रुइज र गाभीलाई उनीहरूको गृहनगरमा यस्तै अनौठो उपहार प्रदान गरिएको छ।
करिब ४० हजारभन्दा कम जनसङ्ख्या भएको सेभियाको दक्षिणी सहर ‘लस पालासियोस इ भिल्लाफ्रान्का’मा बुधबार उनीहरूको सम्मानमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।
अर्जेन्टिनाविरुद्धको फाइनलमा सुरुवाती ११ मै परेका पेरिस सेन्ट-जर्मेन (पीएसजी) का रुइज र बार्सिलोनाका गाभी घाँटीमा स्वर्ण पदक लगाएर टाउन हलमा पुग्दा स्थानीय अधिकारी र स्थानीयले उनीहरूको भव्य स्वागत गरेका थिए।
उनीहरूको ऐतिहासिक सफलतालाई सम्मान गर्ने क्रममा, कति गोलभेँडा दिने भनेर यकिन गर्न दुवै खेलाडीलाई तराजुमा उभ्याइएको थियो। जसअनुसार रुइजले ८५ केजी र गाभीले ६८.५ केजी गोलभेँडा उपहार पाए।
स्थानीय अधिकारीहरूका अनुसार आफ्ना उत्कृष्ट खेलाडीहरूलाई यसरी सम्मान गर्नु उक्त नगरको विशेषता र परम्परा नै बनिसकेको छ।
उक्त सम्मान कार्यक्रममा स्पेनका पूर्व विङ्गर जेसस नाभास पनि उपस्थित थिए। सन् २०१० मा स्पेनले विश्वकप जित्दा उनी यो नगरबाट विश्वकप जित्ने पहिलो खेलाडी बनेका थिए।
म्यानचेस्टर सिटीका पूर्व फरवार्ड नाभास र रुइजले हालै स्पेनले युरोकप २०२४ जित्दा पनि यसैगरी गोलभेँडा उपहार पाएका थिए।
नगरको खेलकुद प्याभिलियनको नाम यसअघि नै नाभासको नाममा राखिसकिएको छ भने अब रुइज र गाभीको सम्मानमा फुटबल मैदानहरूको नाम पनि उनीहरूकै नामबाट राखिने भएको छ।
यसका साथै नगरपरिषद्ले तीनै जना च्याम्पियन खेलाडीहरूको सम्मानमा एउटा स्मारक निर्माण गर्ने घोषणा पनि गरेको छ।
नगरपरिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस मार्फत नगरपरिषद् सिङ्गो नगरको गौरव बढाउने तीन खेलाडीलाई स्थायी रूपमै सम्मान गर्न चाहन्छ। उनीहरूको खेलकुद र मानवीय यात्रा आउँदा कैयौँ पुस्ताका बालबालिका र युवाहरूका लागि प्रेरणाको स्रोत (रोल मोडल) बनेको छ।’
साउन ८, २०८३ शुक्रबार १०:३८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।