ट्रम्पको दबाबमा बालोगनको प्रतिबन्ध हटाएकोमा फिफाविरुद्ध नै उजुरी दिने नर्वेको तयारी

ट्रम्पको दबाबमा बालोगनको प्रतिबन्ध हटाएकोमा फिफाविरुद्ध नै उजुरी दिने नर्वेको तयारी

एजेन्सी : नर्वेजियन फुटबल महासंघले विश्वकपका दौरान अमेरिकी खेलाडी फोलारिन बालोगनको प्रतिबन्ध फुकुवा गरिएको विषयलाई लिएर फिफाको ‘इथिक्स कमिटी’मा औपचारिक उजुरी दिने तयारी गरेको छ।

अमेरिकाका फरवार्ड बालोगनले बोस्निया एन्ड हर्जगोभिना विरुद्धको खेलमा सोझै रातो कार्ड पाएपछि बेल्जियमविरुद्धको अन्तिम-१६ को खेल गुमाउने पक्का थियो।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि उनको एक खेलको प्रतिबन्ध १२ महिनाका लागि हटाइएको थियो।  प्रतिबन्ध किन हटाइयो भन्नेबारे फिफाले कुनै स्पष्ट कारण खुलाएको थिएन। प्रतिबन्ध हटेपछि बालोगनले बेल्जियमविरुद्धको खेल खेलेका थिए, जसमा अमेरिका ४-१ ले पराजित भयो।

बीबीसीलाई प्राप्त विज्ञप्तिमा एनएफएफकी अध्यक्ष लिसे क्लाभेनेसले फिफाको यस निर्णयप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेकी छन्। आगामी बोर्ड बैठकले उजुरी दिने वा नदिने भन्ने अन्तिम निर्णय गर्नेछ।

यसअघि नै नर्वेले फिफाले ट्रम्पलाई फिफा शान्ति पुरस्कार दिएको विषयमा उजुरी गरिसकेको छ। क्लाभेनेसले भनिन्, ‘बालोगनको मुद्दालाई पनि हामीले यसअघि नै इथिक्स कमिटीमा पठाएको शान्ति पुरस्कारसम्बन्धी उजुरीमै समावेश गर्नु उपयुक्त हुन्छ।’

किन हटाइएको थियो प्रतिबन्ध ?
राष्ट्रपति ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीच फोनवार्ता भएलगत्तै बालोगनलाई खेल्न अनुमति दिइएको थियो। पछि ट्रम्पले फिफाको सो कदमलाई महान् निर्णय भनेका थिए।

यद्यपि, इन्फान्टिनोले फिफाका न्यायिक निकायहरू स्वतन्त्र रूपमा काम गर्ने दाबी गर्दै आएका छन्।

पत्रकार सम्मेलनमा ट्रम्पले भनेका थिए, ‘मैले जियानीसँग कुरा गरेको हुँ। म खेलकुद बुझ्छु र त्यो फाउल थिएन। मैले फिफालाई रिभ्यु (पुनरावलोकन) गर्न भनेको थिएँ, तर मैले उनलाई के गर्ने भनेर आदेश दिन मिल्दैन र दिएको पनि होइन।’

बेल्जियम र युइएफएको आक्रोश
बेल्जियम फुटबल संघले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नैतिकता र निष्पक्ष खेलकुदका लागि लड्ने बताएको छ।

तर, बेल्जियमले मागेको स्पष्टीकरणलाई फिफाले अस्वीकार्य भन्दै खारेज गरिदिएको थियो, जसका कारण बेल्जियमले अपिल गर्ने बाटो बन्द भयो।

यसैगरी, युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले फिफाले 'लक्ष्मणरेखा नाघेको' भन्दै यसलाई 'अभूतपूर्व र अनुचित निर्णय' भनेको छ।

इन्फान्टिनोमाथि ओलम्पिक कमिटीको अनुसन्धान हुन सक्ने
यसैबीच, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न सक्ने खबर बाहिरिएको छ। इन्फान्टिनो सन् २०२० देखि आईओसीका सदस्य छन्।

ओलम्पिक चार्टरअनुसार आईओसीका सदस्यहरूले सरकार वा अन्य पक्षबाट आफ्नो निर्णय क्षमतामा प्रभाव पार्ने कुनै पनि निर्देशन मान्न पाइँदैन।

यद्यपि, आईओसीले एक विज्ञप्ति जारी गर्दै इथिक्स कमिसनमा पर्ने उजुरीहरू गोप्य रहने र उजुरी परे/नपरेको विषयमा सार्वजनिक रूपमा जानकारी नदिने स्पष्ट पारेको छ। यदि कमिसनले कारबाही गर्ने निर्णय गरेमा मात्र त्यसबारे जानकारी दिइने आईओसीले जनाएको छ।

साउन ८, २०८३ शुक्रबार ०९:१५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।