ब्रुनोलाई भित्र्याउन आर्सनलद्वारा ७० मिलियन पाउन्डको प्रस्ताव तयारी

ब्रुनोलाई भित्र्याउन आर्सनलद्वारा ७० मिलियन पाउन्डको प्रस्ताव तयारी

एजेन्सी : इङ्लिस क्लब आर्सनलले न्युक्यासल युनाइटेडका कप्तान ब्रुनो गुइमारेसलाई भित्र्याउन ७० मिलियन पाउन्डको प्रस्ताव गर्ने तयारी गरेको छ।

ब्राजिलियन मिडफिल्डर ब्रुनो यस समरमा आर्सनलको मुख्य प्राथमिकतामा छन्। २८ वर्षीय ब्रुनो आफैँ पनि प्रिमियर लिग च्याम्पियन क्लबमा आबद्ध हुन इच्छुक रहेको र उनको यो चाहनाबारे न्युक्यासल पनि जानकार रहेको बताइएको छ।

ब्रुनोलाई अनुबन्ध गर्ने विषयमा आर्सनल र खेलाडी पक्षबीच छलफल भइरहेको छ र पछिल्ला दिनहरूमा यो प्रक्रियाले गति लिएको छ।

व्यक्तिगत सेवा–सुविधाका विषयमा सहमति जुट्न गाह्रो नहुने देखिए पनि आर्सनलले गर्ने ७० मिलियन पाउन्डको प्रस्ताव न्युक्यासलले स्वीकार गर्छ वा गर्दैन भन्ने हेर्न बाँकी छ।

यद्यपि, न्युक्यासलका निकट स्रोतहरूका अनुसार क्लबले आफ्ना कप्तानलाई यसै सिजन बेच्ने कुनै मनसाय बनाएको छैन। साथै, आर्सनलबाट हालसम्म खेलाडीका लागि आधिकारिक र प्रत्यक्ष प्रस्ताव पनि पुगिसकेको छैन।

बजेट सीमा नाघेर खेलाडी नकिन्ने आर्सनलको नीति
गत सिजनको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिन आर्सनल उच्च स्तरका खेलाडीहरू भित्र्याएर टोलीलाई थप बलियो बनाउने दाउमा छ।

तर, खेलाडी खरिद गर्दा क्लबले तोकेको अधिकतम बजेट सीमाभन्दा बाहिर नजाने कडा नीति आर्सनलले अपनाएको छ।

यसअघि एस्टन भिल्लाका मोर्गन रोजर्सलाई अनुबन्ध गर्न आर्सनलले ८० मिलियन पाउन्डभन्दा बढी तिर्न अस्वीकार गरेको थियो।

आर्सनलले चेल्सीको प्रस्तावसँग बराबरी गर्ने अवसर पाए पनि त्यसलाई नकार्दा रोजर्स ११७ मिलियन पाउन्डमा चेल्सी पुगेका थिए।

ब्रुनोको हकमा पनि उनलाई भित्र्याउने तीव्र चाहना हुँदाहुँदै पनि आर्सनलले तोकेको मूल्यभन्दा बढी रकम नतिर्ने अडान लिएको छ।

डिफेन्डर र फरवार्डको पनि खोजी
आर्सनलले डिफेन्स र अट्याकमा पनि नयाँ खेलाडी खोजिरहेको छ।

डिफेन्डरतर्फ एस्टन भिल्लाका सेन्टर-ब्याक एज्री कोन्सा आर्सनलको पहिलो रोजाइमा छन्। इङ्ल्यान्डका यी अन्तर्राष्ट्रिय खेलाडीको अवस्थाबारे आर्सनलले बुझ्ने प्रयास गरिरहेको छ।

त्यसैगरी, कोमोका जाकोबो रामोन पनि आर्सनलको सूचीमा छन्, तर उनको सम्झौतामा रहेका सर्तहरूका कारण यो ट्रान्सफर कठिन देखिएको छ।

फरवार्डतर्फ रोजर्सलाई भित्र्याउन चुकेको आर्सनल अहिले आक्रमण पङ्क्ति बलियो बनाउने खेलाडीको खोजीमा छ। एट्लेटिको म्याड्रिडका फरवार्ड जुलियन अल्भारेज आर्सनलको सबैभन्दा ठूलो ड्रिम टार्गेट हुन्।

तर, अल्भारेज बार्सिलोना जान इच्छुक हुनु र उनको मूल्य बेलायती कीर्तिमानी १२५ मिलियन पाउन्डभन्दा बढी पर्न सक्ने भएकाले यो सम्झौता निकै चुनौतीपूर्ण छ।

यसका साथै, आर्सनलले पेरिस सेन्ट-जर्मेन (पीएसजी) का विङ्गर ब्राडली बार्कोलालाई पनि भित्र्याउने सम्भावनाबारे अध्ययन गरिरहेको छ।

साउन ८, २०८३ शुक्रबार ०७:५४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।