नेपाल र नेदरल्यान्ड्स आज भिड्दै, शीर्ष ४ मा पर्न नेपाललाई जित्नैपर्ने दबाब

नेपाल र नेदरल्यान्ड्स आज भिड्दै, शीर्ष ४ मा पर्न नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। नेदरल्यान्ड्सको युट्रेक्टमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

यस सिरिजको आफ्नो पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। लिग-२ को अङ्क तालिकामा हाल नेपाल पाँचौं स्थानमा छ भने नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ।

सन् २०२७ को एकदिवसीय विश्वकप छनोट खेल्ने होटेमा रहेको नेपालका लागि यो सिरिजका खेलहरू निकै महत्त्वपूर्ण छ। लिग-२ को शीर्ष ४ मा पर्ने टोलीले सीधै विश्वकप छनोट खेल्न पाउनेछन् भने बाँकी टोलीले क्वालिफायर पुग्नका लागि थप ‘प्लेअफ6 खेल्नुपर्ने हुन्छ।

हाल ३२ खेल खेलेर ४३ अङ्कका साथ अमेरिका शीर्ष स्थानमा छ भने स्कटल्यान्ड ३२ खेलबाट ३८ अङ्क जोड्दै दोस्रो स्थानमा छ। त्यसैगरी, २८ खेल खेलेको नेदरल्यान्ड्सको ३२ अङ्क छ भने २८ खेल नै खेलेको ओमान ३१ अङ्कका साथ चौथो स्थानमा छ।

नेपाल भने २९ खेल खेल्दै २४ अङ्कका साथ पाँचौं स्थानमा छ। समान खेल र समान अङ्क भए पनि नेट रनरेटका आधारमा नामिबिया छैटौँ र क्यानडा सातौँ स्थानमा छन्। २४ खेल मात्रै खेलेको यूएई १४ अङ्कका साथ पुच्छारमा छ।

नेपालले शीर्ष ४ को यात्रा तय गर्नका लागि अब बाँकी रहेका खेलहरूमा उत्कृष्ट नतिजा निकाल्नुपर्ने हुन्छ, जसका लागि आजको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्नु अनिवार्य जस्तै छ।

हेड टु हेडमा नेपाल हाबी
नेपाल र नेदरल्यान्ड्सबीच भएका पछिल्ला ५ एकदिवसीय खेलमा नेपाल हाबी देखिएको छ।

५ मध्ये नेपालले ३ खेल जितेको छ भने नेदरल्यान्ड्सले २ खेलमा जित निकालेको छ। पछिल्ला दुवै भेटमा (सन् २०२५ जुन ४ र जुन १० मा) नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

आजको खेलमा नेदरल्यान्ड्सका ब्याटर म्याक्स ओ’डाउड र कप्तान स्कट एडवार्ड्स नेपालका लागि चुनौती बन्न सक्छन्। ओ’डाउडले पछिल्ला १० खेलमा ३८५ रन र एडवार्ड्सले ९ खेलमा २९९ रन बनाएका छन्।

त्यसैगरी, बलिङतर्फ काइल क्लेइन (८ खेलमा १७ विकेट) र पल भ्यान मिकरेन (७ खेलमा १३ विकेट) नेदरल्यान्ड्सका प्रमुख हतियार हुन्।

साउन ७, २०८३ बिहीबार ११:१४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।