क्यासेमिरोलाई अनुबन्ध गरेपछि इन्टर मियामीमाथि छानबिन सुरु

क्यासेमिरोलाई अनुबन्ध गरेपछि इन्टर मियामीमाथि छानबिन सुरु

एजेन्सी : ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई अनुबन्ध गरेपछि इन्टर मियामीमाथि छानबिन सुरु भएको छ। खेलाडी अनुबन्धमा नियम उल्लङ्घनको आरोपमा क्लबमाथि अनुसन्धान भइरहेको मेजर लिग सकर (एमएलएस)ले जनाएको छ।

मियामीले बुधबार म्यानचेस्टर युनाइटेड छाडेका ३४ वर्षीय क्यासेमिरोलाई सन् २०२७ को एमएलएस सिजनको अन्त्यसम्मका लागि अनुबन्ध गरिएको घोषणा गरेको थियो। उक्त सम्झौतालाई जुन २०२९ सम्म लम्ब्याउन सकिने विकल्प पनि राखिएको छ।

तर घोषणाको केही बेरमै एमएलएसले एक विज्ञप्ति जारी गर्दै क्लबविरुद्ध लागेको नियम उल्लङ्घनको आरोपको छानबिन गरिरहेको जनाएको छ। ‘लिगले यस विषयसँग सम्बन्धित सबै जानकारी संकलन गरिरहेको छ र छानबिन पूरा नभएसम्म थप टिप्पणी गर्ने छैन’, विज्ञप्तिमा भनिएको छ।

अनुसन्धान क्यासेमिरोको ‘डिस्कभरी राइट्स’ अर्थात खेलाडी अनुबन्ध गर्ने पहिलो अधिकारसँग सम्बन्धित छ। एमएलएसको नियमअनुसार कुनै खेलाडी लिगमा आउन चाहेमा निश्चित क्लबलाई उसलाई अनुबन्ध गर्ने पहिलो अधिकार हुन्छ।

नियमअनुसार एउटा क्लबले आफ्नो डिस्कभरी सूचीमा कुनै पनि समयमा पाँच जनासम्म खेलाडी राख्न, थप्न वा हटाउन सक्छ।

क्यासेमिरोको डिस्कभरी अधिकार लस एन्जलस ग्यालेक्सीसँग थियो, तर मियामीले खेलाडी अनुबन्धको घोषणा गर्दा आफूले उक्त अधिकार ग्यालेक्सीबाट प्राप्त गरेको बताएको थियो।

एमएलएसले भनेको छ, ‘इन्टर मियामी र एलए ग्यालेक्सीबीच क्यासेमिरोलाई अनुबन्ध गर्ने पहिलो अधिकारका विषयमा सहमति भए पनि ट्याम्पिरिङको अनुसन्धान सकिएपछि मात्रै सहमतिका सर्तहरू सार्वजनिक गरिनेछ।’

एलए ग्यालेक्सीले पनि छुट्टै विज्ञप्ति जारी गर्दै यही कुरा दोहोर्याएको छ।

क्यासेमिरोले सम्झौता नवीकरण नगर्ने आपसी सहमतिपछि जनवरीमै म्यानचेस्टर युनाइटेड छाड्ने घोषणा गरेका थिए। सन् २०२२ मा युनाइटेड आउनुअघि उनले रियल मड्रिडबाट पाँचवटा च्याम्पियन्स लिग उपाधि जितेका थिए।

‘मलाई सबैभन्दा बढी प्रेरित गर्ने कुरा जित्नु र अघि बढ्दै जानु हो’, क्यासेमिरोले भने।

युनाइटेडका लागि १६० खेल खेल्दै उनले २६ गोल र १४ असिस्ट गरेका थिए। त्यहाँ रहँदा उनले एक ईएफएल कप र एक एफए कप जिते। क्यासेमिरोले क्लब छाडेपछि युनाइटेडले मिडफिल्ड बलियो बनाउन ५ करोड पाउन्डमा चेल्सीबाट आन्द्रे सान्तोस र ३ करोड ५० लाख पाउन्डमा एस्टन भिल्लाबाट युरी टिलेमान्सलाई किनेको छ।

अनुसन्धानको घोषणा हुनुअघि इन्टर मियामीका सह-मालिक डेभिड बेकह्यामले क्यासेमिरोबारे भनेका थिए, ‘खेलमा धेरै कुरा हासिल गरेका उनी एक विजेता हुन्। रियल मड्रिड र म्यानचेस्टर युनाइटेडमा यस्तो सानदार करियरपछि उनले मियामीलाई आफ्नो अर्को घर बनाउने निर्णय गरेकोमा म निकै खुसी छु।’

मियामीमा क्यासेमिरोले आफ्ना पूर्वसहकर्मी सर्जियो रेगुइलनका साथै अर्जेन्टिनाका लियोनल मेस्सी र रोड्रिगो डि पउलसँग खेल्नेछन्।

खेलाडी अनुबन्धको विषयलाई लिएर इन्टर मियामीमाथि अनुसन्धान भएको यो पहिलो पटक भने होइन। युभेन्टसबाट फ्रान्सेली मिडफिल्डर ब्लेस माटुइडीलाई अनुबन्ध गर्दा एमएलएसको नियम तोडेको भन्दै सन् २०२१ मा क्लबलाई २० लाख डलर जरिवाना गरिएको थियो।

एमएलएसका अनुसार माटुइडीलाई अनुमति दिएभन्दा बढी पारिश्रमिक दिइएको थियो, जसले गर्दा टिममा नियमले तोकेको तीन जनाको सट्टा चार जना ‘डेजिग्नेटेड प्लेयर’ भएका थिए।

डेजिग्नेटेड प्लेयरको पारिश्रमिक एमएलएसको ‘स्यालरी क्याप’मा गणना हुँदैन। बेकह्याम रुल भनेर चिनिने यो नियम सन् २००७ मा इङ्गल्यान्डका पूर्वकप्तान बेकह्याम एलए ग्यालेक्सीमा आउँदा लागू गरिएको थियो।

साउन ७, २०८३ बिहीबार ०९:५०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।