अर्जेन्टिनी खेलाडीबाट कुटिएका गाभी भन्छन्- पारेडेसलाई प्रतिबन्ध लगाउन हुँदैन

अर्जेन्टिनी खेलाडीबाट कुटिएका गाभी भन्छन्- पारेडेसलाई प्रतिबन्ध लगाउन हुँदैन

एजेन्सी : स्पेनका मिडफिल्डर ग्याभीले विश्वकप फाइनलपछिको विवादमा सामेल भएका अर्जेन्टिनाका लियान्द्रो पारेडेसलाई प्रतिबन्ध लगाउन आवश्यक नभएको बताएका छन्।

स्पेनले १-० को जित मनाइरहँदा मैदानमा दुवै टोलीका खेलाडीबीच धकेलाधकेल भएको थियो। उक्त विवादमा अर्जेन्टिनाका पारेडेस, नाहुएल मोलिना, थियागो अल्माडा र सहायक प्रशिक्षक रोबर्टो आयला सामेल थिए।

विवादका क्रममा पारेडेसले स्पेनका एरिक गार्सियाको घाँटीमा समातेर धकेलेको देखिएको थियो। त्यसपछि बीचबचाउ गर्न पुगेका ग्याभीलाई अल्माडाले भुइँमा लडाएका थिए भने पारेडेसले ग्याभीको अनुहारमा हात राखेर धकेलेका थिए।

यस घटनाको अनुसन्धान गर्न फिफाले अनुशासन समिति खटाएको छ। अनुसन्धानपछि दोषी पाइएका खेलाडी वा प्रशिक्षकलाई प्रतिबन्ध लाग्न सक्छ भने अर्जेन्टिनी फुटबल संघलाई जरिवानासमेत हुनसक्छ।

तर, ग्याभी भने पारेडेसलाई प्रतिबन्ध लगाउन नहुने पक्षमा उभिएका छन्।

एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मलाई लाग्दैन कि उनलाई (पारेडेस) प्रतिबन्ध लगाउनुपर्छ। बालबालिकाहरूका लागि यो राम्रो दृश्य होइन भन्ने म बुझ्छु, तर फुटबलमा अलिकति आक्रामक र शारीरिक पक्ष पनि जोडिएको हुन्छ।’

ग्याभीले थपे, ‘सबैभन्दा तार्किक कुरा त उनलाई खेलकै दौरान रेड कार्ड दिएर मैदान बाहिर पठाउनु पर्थ्यो, त्यतिमै कुरा सकिन्थ्यो। अन्त्यमा, यो फुटबल हो र यस्तो भइरहन्छ।’

यसैबीच, अर्जेन्टिनाका सहायक प्रशिक्षक रोबर्टो आयलाले स्पेनका खेलाडी ड्यानी ओल्मोसँग माफी माग्ने बताएका छन्। उनले ओल्मोको अनुहारमा हानेको जस्तो देखिए पनि त्यो मुक्का नभई सामान्य धकेलाधकेल मात्र भएको दाबी गरेका छन्।

‘खेल सकिएपछि मैदानको बीचमा झगडा भइरहेको देखेँ र म त्यसलाई रोक्न त्यहाँ गएको थिएँ। मेरो उद्देश्य झगडा छुटाउनु मात्र थियो’, आयलाले भने।

सुरुमा फिफाको जानकारी प्रणालीमा रेफ्रीले पारेडेसलाई रेड कार्ड दिएको भन्ने गलत सूचना राखिएको थियो। तर, केही समयमै त्यसलाई सच्याउँदै फिफाले त्यसबेला पारेडेसमाथि कुनै कारबाही नभएको प्रस्ट पारेको छ।

यद्यपि, सोही फाइनल खेलको दोस्रो हाफको इन्जुरी समयमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले भने दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाड्नुपरेको थियो।

साउन ७, २०८३ बिहीबार ०८:०२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।