क्यानको चरम बेवास्ताको सिकार बनेका क्रिकेटर सिद्धान्त लोहनीद्वारा सन्न्यास घोषणा

क्यानको चरम बेवास्ताको सिकार बनेका क्रिकेटर सिद्धान्त लोहनीद्वारा सन्न्यास घोषणा

काठमाडौं : लगातारको चोट र सात पटकको घुँडाको शल्यक्रियापछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी सिद्धान्त लोहनीले क्रिकेटबाट औपचारिक रूपमा सन्न्यासको घोषणा गरेका छन्।

सन् २०१५ जुलाई १८ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका सिद्धान्तले ९ वर्षपछि, सन् २०२६ जुलाई १८ को मिति पारेर आफ्नो व्यावसायिक क्रिकेट यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमार्फत सन्न्यासको जानकारी दिँदै उनले लेखेका छन्, ‘सात पटकको घुँडाको शल्यक्रियापछि मैदानमा मेरो यात्रा समाप्त भएको छ। यद्यपि मेरो अन्तिम व्यावसायिक खेल चोटका कारण तीन वर्षअघि नै थियो, आज म आधिकारिक रूपमा सन्न्यासको घोषणा गर्दैछु।’

तर, देशका लागि खेल्दा चोटिल भएर सन्यास लिँदा पनि नेपाल क्रिकेट संघले फेसबुकबाट एउटा फेयरवेल पोस्टको लायक समेत सम्झिएन सिद्धान्तलाई।

चोटले खोस्यो करियर, सधैँका लागि बस्यो सीमितता
सिद्धान्तले लामो समयदेखि मैदानमा फर्कन कडा सङ्घर्ष गरे पनि सङ्क्रमणले उनको अवस्था गम्भीर बनाएको थियो। जसका कारण अन्ततः उनको देब्रे घुँडा पूर्ण रूपमा प्रत्यारोपण गर्नुपरेको हो।

‘मेरो खुट्टा अब कहिल्यै पहिले जस्तो हुने छैन र म जीवनभर घुँडा खुम्च्याउन सीमित हुनेछु। व्यावसायिक क्रिकेटमा फर्कन असम्भव भए पनि, म हरेक दिन हिँड्न सकेकोमा भगवानलाई धन्यवाद दिन्छु’, भावुक हुँदै उनले लेखेका छन्।

सानै उमेरमा चोटका कारण करियर टुङ्ग्याउनुपर्दा मन टुटे पनि राष्ट्रिय जर्सी लगाउँदाका पलहरू सधैँ ताजा रहने उनले बताएका छन्।

भविष्यमा व्यावसायिक रूपमा नखेले पनि क्रिकेटबाट टाढा नहुने उनले संकेत गरेका छन्। साथीहरूसँग इन्डोर क्रिकेटको मज्जा लिइरहेका सिद्धान्तले छिट्टै क्रिकेटको नयाँ भूमिकामा देखिने बताएका छन्। उनले नेपाल क्रिकेट संघ (क्यान), कोशी प्रदेश क्रिकेट संघलगायत आफूलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिएका छन्।

मैदानमै लडेर घाइते, तर क्यानले लामो समय गर्यो बेवास्ता
सिद्धान्तको सन्न्याससँगै उनले भोगेको पीडा र खेलकुद निकायको चरम बेवास्ताको कथा पनि जोडिएको छ।

२०८० जेठ १९ गते जनकपुरमा भएको महेन्द्रनिधि टी-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशको कप्तानी गर्दै गण्डकीविरुद्ध फिल्डिङ गर्ने क्रममा उनी मैदानमै लडेर घाइते भएका थिए। उक्त प्रतियोगिता क्यानकै स्वीकृतिमा मधेश प्रदेश क्रिकेट सङ्घले आयोजना गरेको थियो।

मैदानमै लिगामेन्ट च्यातिएपछि उनको काठमाडौंको बीएन्डबी अस्पतालमा ५ पटकसम्म शल्यक्रिया भयो। तर त्यहाँ सङ्क्रमण फैलिएपछि उनी भारतको गुडगाउँस्थित अस्पतालमा थप उपचार गराउन बाध्य भए। उनको खुट्टाको अवस्था झन्-झन् बिग्रिँदै गयो र उपचार खर्च २० लाख रुपैयाँभन्दा बढी पुग्यो।

तर, राष्ट्रिय टोलीबाट खेलिसकेका र मैदानमै घाइते भएका खेलाडीलाई क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले लामो समयसम्म बेवास्ता गरेका थिए।

क्यानका पदाधिकारीहरूलाई बारम्बार हारगुहार गर्दा र उनी आफैँले अस्पतालको शय्याबाट भिडिओ सन्देशमार्फत दुखेसो पोख्दा पनि क्यानले सुरुमा जम्मा १ लाख रुपैयाँ मात्र दिएर पन्छिन खोजेको थियो।

क्यानका तत्कालीन पदाधिकारी र स्वयं सचिव पारस खड्काले समेत ‘निर्णय हुन बाँकी रहेको’ भन्दै गैरजिम्मेवार जवाफ दिएका थिए।

उकेराको फलोअपपछि ५ लाख सहयोग
सिद्धान्तको दर्दनाक अवस्था र क्यानको बेवास्ताका बारेमा उकेराले निरन्तर समाचार प्रकाशित गरेपछि र सर्वत्र आलोचना हुन थालेपछि मात्र क्यान तातेको थियो।

त्यसपछि २०८१ वैशाख ९ गते बसेको क्यानको बोर्ड बैठकले दबाब थेग्न नसकी सिद्धान्तको उपचारका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो।

यद्यपि त्यो सहयोग उनको उपचारमा लागेको विशाल खर्चको तुलनामा निकै कम थियो। समयमै खेलाडीको स्वास्थ्य बिमा नगर्दा सिद्धान्त जस्ता खेलाडीले शारीरिक र मानसिकसँगै ठूलो आर्थिक क्षतिसमेत व्यहोर्नुपर्यो।

सिद्धान्तबारे उकेराले प्रकाशित गरेका समाचारहरू:

साउन ६, २०८३ बुधबार ०९:३३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।