विश्वकप लिग-२: खराब ब्याटिङ गरेको नेपाल नामिबियासँग ८ विकेटले पराजित
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा भएको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको छ।
मंगलबार राति सकिएको खेलमा नेपालको ब्याटिङ चल्न नसक्दा लज्जास्पद हार बेहोर्नु परेको हो।
टस जितेर नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४६.५ ओभरमा मात्र १५७ रनमा अलआउट भयो।
नेपालका लागि कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ३१ रन र दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए। उनीहरू दुई जना मिलेर चौथो विकेटका लागि ५३ रनको साझेदारी गरे पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
गुलशन झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन जोडे।
खेलको दोस्रो बलमै ओपनर कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए। नेदरल्यान्ड्सको पिचमा नेपाली ब्याटरहरूलाई रन बनाउन निकै गाह्रो भएको थियो।
नामिबियाका बलर जेजे स्मिथले उत्कृष्ट बलिङ गर्दै मात्र २७ रन खर्चेर ६ विकेट लिए। त्यस्तै, ज्याक ब्रासेल र बर्नार्ड स्कोल्ट्जले २-२ विकेट लिए।
१५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७.४ ओभरमा मात्र २ विकेट गुमाएर सजिलै पूरा गर्यो।
नामिबियालाई जिताउन जान फ्रायलिंकले अविजित रहँदै सर्वाधिक ७८ रन बनाए। उनले ८९ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे।
त्यस्तै, ओपनर माइकल भान लिङ्गेनले ५१ रनको अर्धशतकीय पारी खेले। उनीहरू दुवैले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै टोलीको जित सहज बनाएका थिए।
बलिङतर्फ नेपालका कप्तान रोहित पौडेल र नन्दन यादवले १-१ विकेट लिए पनि अन्य बलरले विकेट लिन सकेनन्।
लिग-२ मा २९ खेल खेलेको नेपालको यो १६औँ हार हो। नेपालले अहिलेसम्म ११ खेल मात्र जितेको छ।
यो हारपछि पनि नेपाल २४ अंकसहित अंक तालिकाको पाँचौँ स्थानमा कायमै छ। जितेको नामिबियाको पनि समान २४ अंक नै भए पनि 'नेट रनरेट'का आधारमा नेपाल अगाडि छ। नामिबिया छैटौँ स्थानमा उक्लिएको छ।
अब नेपालले आफ्नो दोस्रो खेल बिहीबार घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्नेछ।
साउन ६, २०८३ बुधबार ०८:५५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।