विश्वकप फाइनलमा ‘रेड कार्ड’ खाएका अर्जेन्टिनी मिडफिल्डरको दाबी- ‘हामीले उत्कृष्ट प्रदर्शन गर्यौँ’
एजेन्सी : अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले विश्वकप फाइनलमा स्पेनसँग पराजित भए पनि आफ्नो टोलीले देशको प्रतिनिधित्व उत्कृष्ट रूपमा गरेको दाबी गरेका छन्।
न्युजर्सीमा आइतबार भएको फाइनल खेलको अतिरिक्त समयमा स्पेनले अर्जेन्टिनालाई १-० गोलले हराएको थियो।
खेलको अन्त्यतिर रेफ्रीको निर्णयको विरोध गरेको र स्पेनका खेलाडी पाउ कुबार्सीलाई फाउल गरेको भन्दै फर्नान्डेजलाई दुईवटा पहेँलो कार्डसहित मैदानबाट बाहिर पठाइएको थियो।
यद्यपि, सामाजिक सञ्जालमा उनले रातो कार्डबारे केही उल्लेख नगरी टोलीको प्रशंसा गरेका छन्।
उनले लेखेका छन्, ‘समय बित्दै जाँदा नतिजाभन्दा ठूलो कुरा अरू नै हुन्छ भन्ने बुझिन्छ। हामीले जस्तोसुकै परिस्थितिमा पनि हार मानेनौँ। यो जर्सीका लागि सबै थोक सुम्पिएर खेल्ने टोलीको हिस्सा हुन पाउनु मेरो लागि गर्वको कुरा हो।’
खेलपछि हात हालाहाल, फिफाद्वारा अनुसन्धान सुरु
खेल सकिएपछि स्पेनका खेलाडीहरूले उपाधिको खुसी मनाइरहँदा दुई टोलीबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
अर्जेन्टिनाका नहुएल मोलिना, लिआन्ड्रो पारेडेस, थियागो अल्माडा र सहायक प्रशिक्षक रोबर्टो आयला स्पेनका खेलाडीहरूसँग झगडामा उत्रिएका थिए।
पारेडेसले स्पेनका एरिक गार्सियाको घाँटी अठ्याएको र गाभीलाई अनुहारमा हात हालेर लडाएको देखिएको थियो। त्यस्तै, सहायक प्रशिक्षक आयलाले पनि गार्सियाको घाँटी समातेको र ड्यानी ओल्मोलाई प्रहार गरेको देखिएको थियो।

यस घटनालाई लिएर फिफाले अनुसन्धान सुरु गरिसकेको छ। दोषी ठहरिएमा खेलाडी र प्रशिक्षकलाई निलम्बन तथा अर्जेन्टिनी फुटबल सङ्घलाई जरिवाना हुन सक्नेछ।
आलोचना र प्रशिक्षकको भनाइ
अर्जेन्टिनी खेलाडीहरूको व्यवहारलाई लिएर इङ्ल्यान्डका पूर्व कप्तान एलन सियरर र गोलकिपर जो हार्टले कडा आलोचना गरेका छन्। उनीहरूले यसलाई 'घिनलाग्दो व्यवहार' र 'हार्न नजानेको' भन्दै टिप्पणी गरेका छन्।
तर, अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले भने अवस्थालाई शान्त पार्ने प्रयास गरेका छन्।
उनले भने, ‘हामीले जित्दा जस्तै हार्दा पनि विनम्र हुन सिक्नुपर्छ। हामीले आज हार्न पनि जानेका छौँ भनेर देखाउनु छ। हामीले हार स्वीकार गरेका छौँ।’
धेरै सञ्चारमाध्यमले यो खेल स्कालोनीको अन्तिम खेल हुन सक्ने अनुमान गरेका छन्।
भावुक मेस्सीको सम्भावित बिदाइ
यो खेल कप्तान लियोनेल मेस्सीको अन्तिम विश्वकप खेल हुन सक्ने अनुमान गरिएको छ।
खेलअघि ड्रेसिङ रुममा मेस्सीले आफ्ना साथीहरूलाई ‘अरू कुरा बिर्सेर शान्त भई खेलमा मात्र ध्यान दिन’ आग्रह गरेको भिडियो बाहिरिएको थियो।
हारपछि मैदानमै रोएका मेस्सीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो पीडा धेरै ठूलो छ र यो घाउ निको हुन समय लाग्नेछ। तर म राम्रा कुराहरूलाई मात्र सम्झन चाहन्छु।’
स्वदेशमा भव्य स्वागत
फाइनलमा हारे पनि अर्जेन्टिनाको ब्युनोस आयर्समा हजारौँ समर्थकले टोलीको भव्य स्वागत गरेका छन्।

प्रशिक्षक स्कालोनी र गोलकिपर एमिलियानो मार्टिनेजसहित २६ मध्ये १६ जना खेलाडी स्वदेश फर्किएका थिए। उनीहरूलाई खुल्ला बसमा राखेर सहर परिक्रमा गराइएको थियो।
यद्यपि, कप्तान मेस्सी भने अर्जेन्टिना नगई आफ्नो क्लब इन्टर मियामी नै बसेका छन्।
साउन ६, २०८३ बुधबार ०७:४५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।