EXCLUSIVE : पूर्वाधार मन्त्री सुनिल र प्रधानमन्त्री बालेनका सहयोगी पाँडेको निर्माण कम्पनीलाई फुटबलको मार्केटिङदेखि टिकेटिङसम्मको ठेक्का

EXCLUSIVE : पूर्वाधार मन्त्री सुनिल र प्रधानमन्त्री बालेनका सहयोगी पाँडेको निर्माण कम्पनीलाई फुटबलको मार्केटिङदेखि टिकेटिङसम्मको ठेक्का

काठमाडौं : भवन निर्माण व्यवसायका लागि दर्ता भएको वर्तमान पूर्वाधार मन्त्री सुनिल लम्सालको कम्पनीले नेपालको शीर्ष फुटबल प्रतियोगिताहरूको मार्केटिङ, डिजिटल प्रसारण र टिकेटिङको ठेक्का पाएको खुलेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन, बी डिभिजन र सी डिभिजन लिगको कमर्सियल अधिकार माउन्ट डिजाइन एन्ड कन्स्ट्रक्सन प्रालिलाई दिएको थियो। यो कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमा भवन निर्माण सम्बन्धी काम गर्ने उद्देश्यले २०७४/०७५ मा दर्ता भएको थियो।

भवन निर्माण र निर्माण सम्बन्धी परामर्श दिनेगरि खुलेको कम्पनीले २०७९ फागुन १९ देखि २०८० जेठ २७ मा आयोजना भएको ए डिभिजन लिगको मार्केटिङ, प्रसारण, डिजिटल अधिकारसहित टिकेटिङको जिम्मा पाएको थियो।

टेन्डर प्रस्तावदेखि स्वीकृत भएको अवधिसम्म कम्पनीको नाम र उद्देश्य बदलिएको छैन। टेन्डर प्रक्रियाको अध्ययन गर्दा टेन्डर आह्वानदेखि सम्झौता कार्यान्वयनसम्मका विभिन्न चरणमा कम्पनी छनोटमै गम्भीर प्रश्न उठ्ने तथ्यहरू भेटिएका छन्।

उकेराले यस अनुसन्धानका क्रममा एन्फाले जारी गरेका टेन्डर सूचना, मूल्याङ्कनसम्बन्धी कागजात, कार्यसमितिका निर्णय, कम्पनीको प्रबन्धपत्र, शेयर अभिलेख, सम्झौता तथा सम्बन्धित पत्राचारको अध्ययन गर्दा, जुन प्रयोजनका लागि टेन्डर आव्हान गरेको हो त्यसका लागि योग्यता नै नभएको कम्पनीलाई टेन्डर दिएको पुष्टि हुन्छ।

कम्पनीको प्रबन्ध पत्रमा खेल सम्बन्धी कुनै काम गर्ने उल्लेख छैन, केवल निर्माण सम्बन्धी काम गर्ने मात्र उल्लेख छ। तर, भवन निर्माणको काम गर्ने उद्देश्यले स्थापित कम्पनीलाई एन्फा पदाधिकारीहरूले पहिला अवैध रूपमा फुटबलको सबैभन्दा ठूलो ए, बी र सी डिभिजन लिगको मार्केटिङ, प्रत्यक्ष प्रसारण, डिजिटल र टिकटको समेत जिम्मा दिए।

यति मात्रै हैन एन्फाले यही कम्पनीलाई नेपालमा आयोजित नेपाल, लाओस र भुटानबीचको त्रिदेशीय फुटबल प्रतियोगिता र बेमेन ओलम्पिक फुटबल टुर्नामेन्ट क्वालिफायर ग्रुप सिको कमर्सियल, प्रसारण र टिकेटिङको जिम्मा दियो। यी सम्झौतामा प्रत्यक्ष रूपमा सुनिल लम्साल नै संलग्न रहेको सम्झौता पत्रमा देखिन्छ।

कम्पनीको पृष्ठभूमि र लम्सालको संलग्नता
एन्फाले कमर्शियल अधिकार दिएको माउन्ट डिजाइन एन्ड कन्स्ट्रक्सन प्रालि २०७४/७५ मा कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयमा मुख्यतः निर्माण व्यवसायका उद्देश्यसहित दर्ता भएको देखिन्छ। कम्पनीको प्रवन्धपत्र तथा अन्य अभिलेखमा प्रारम्भिक उद्देश्य खेल सम्बन्धित हैन, निर्माण क्षेत्रसँग सम्बन्धित रहेको उल्लेख छ।

कम्पनी रजिष्ट्रारको कार्यालय स्रोतबाट प्राप्त कम्पनीको प्रबन्ध पत्रमा ‘नेपाल अधिराज्य भित्रका सरकारी, अर्धसरकारी, स्वदेशी वा वैदेशिक, निजी, सामूहिक वा सार्वजनिक संघ, संस्था वा व्यक्तिगत कुनै पनि आयोजनाहरूको आवास, भवन, ग्रामीण एवं शहरी विकाससँग सम्बन्धित संरचनाहरूको निर्माण, मर्मत सम्भार एवं सुधार र अन्य भैपरी आउने कार्यहरू गर्ने र त्यसको लागि आवश्यक पर्ने अध्ययन सर्वेक्षण, डिजाइन, मूल्याङ्कन, निरीक्षण अनुगमन, व्यवसाय, गुणस्तर नियन्त्रण परियोजनाका लागि आवश्यक सम्झौता पत्र, टेन्डर डकुमेन्ट तयार पार्ने जस्ता विषयहरूमा इन्जिनियरिङ परामर्श सेवा उपलब्ध गराउने’ उल्लेख छ।

प्रबन्ध पत्र अनुसार यो कम्पनीको खेल सम्बन्धी कुनै गतिविधिमा संलग्न हुने उद्देश्य नै देखिन्न। न त खेल सम्बन्धी मार्केटिङ लगायतका पक्षमा काम गरेको अनुभव। तर, एन्फाका पदाधिकारीहरूले यही कम्पनीलाई देशकै प्रमुख फुटबल लिगहरूको मार्केटिङ, डिजिटल प्रसारण र टिकेटिङ अधिकार सुम्पने निर्णय गर्यो। र, यसको केन्द्रमा देखिए मन्त्री सुनिल।

शेयरधनीदेखि प्रबन्ध निर्देशकसम्म लम्साल 
कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७४/७५ मा दर्ता भएको कम्पनीमा तीन जना सेयरधनी रहेको देखिन्छ। उकेराले प्राप्त गरेको शेयर किताबमा उल्लेख भए अनुसार पहिलो नम्बरमा छन्- रुपन्देहीका मधुसूदन पौडेल। उनीसँग कम्पनीको १ हजार ६ सय ६६ कित्ता शेयर छ।

दोस्रो नम्बरमा छन्- रुपन्देहीकै सुनिल लम्साल। उनको नाममा यो कम्पनीको १६६७ कित्ता सेयर रहेको छ। पहिला उनी सञ्चालक रहेकोमा पछि प्रबन्ध निर्देशक भएको कम्पनी रजिष्ट्रारको कार्यालयको रेकर्डमा उल्लेख छ। तेस्रो छन्- पाल्पाका प्रवीण श्रेष्ठ। उनीसँग पनि लम्साल बराबर १६६७ कित्ता शेयर रहेको देखिन्छ।

यो कम्पनीमा वालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार भएको समयदेखि झापा-५ मा सांसदको उम्मेदवार भएसम्म मुख्य सहयोगी देखिएका कलाकार अर्जुन घिमिरे ‘पाँडे’ समेत संलग्न देखिए। उनी कम्पनीको सीईओ हुन्।

कबोलेको रकमै घटाएर सम्झौता
यो ठेक्का प्रकरणको घटनाक्रमले प्रारम्भदेखि नै एन्फा पदाधिकारी र कम्पनीका सञ्चालकहरूबीच मिलेमतोमा प्रक्रिया अगाडि बढेको देखिन्छ।

उकेराले प्राप्त गरेको एन्फाको निर्णयमा २०७९ पुस १९ गते एन्फा कम्प्लेक्समा अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग सहितको अध्यक्षतामा बसेको बैठकले एन्फाले आयोजना गर्ने ‘शहीद स्मारक ए डिभिजन लिग’ २०७९ फागुन १९ गते र ‘बी डिभिजन लिग’ सोही वर्षको चैत्र १५ बाट सुरू गरी सकाएर ‘सी डिभिजन लिग’को लागि क्लबहरूसँग बैठक बसेर निर्णय गरेको देखिन्छ। 

त्यही बैठकले ‘ए डिभिजन लिग’को लागि एक करोड पचास लाख, ‘बी डिभिजन लिग’को लागि २० लाख र ‘सी डिभिजन लिग’को लागि १५ लाखको टेन्डर आह्वान गर्ने र सो टेन्डरको समयावधि १५ दिनको हुने निर्णय गरेको थियो।

एन्फाले २०२३ जनवरी २० मा तीनवटै लिगको मार्केटिङ, प्रसारणको ठेक्का लागि १५ दिने सूचना निकाल्यो। यसमा कसैले पनि प्रस्ताव गरेनन्।

त्यसपछि २०२३ फेब्रुअरी ७ मा (२०७९ माघ २४) मा लिगको मार्केटिङ, प्रसारणसँगै टिकेटिङ समेत जोडेर सात दिने सूचना प्रकाशित भयो। यसमा मन्त्री लम्सालको माउन्ट डिजाइन, १०० स्पोर्ट्स र गोरखा ईभेन्ट्स एन्ड म्यानेजमेन्ट कम्पनीले प्रस्ताव पेस गरे।

१०० स्पोर्ट्स  टिकेटिङ्ग, मार्केटिङ ब्रोडकास्टिङ र डिजिटल अधिकारको लागि १ करोड ५० लाखको प्रस्ताव गरेको देखिन्छ। त्यसैगरी, मन्त्री लम्सालको कम्पनी माउन्ट डिजाइनले ८६ लाख र गोरखा इभेन्टस्ले ९८ लाखको प्रस्ताव गरेको देखिन्छ। 

तर, एन्फाले प्रस्तावदाताहरूले मागेको न्यूनतम रकमभन्दा कम भएको र चाहिने कागजपत्र पूरा नभएको भन्दै ३ वटै कम्पनीको प्रस्ताव रद्द गर्छ। त्यसपछि एन्फाले पुन: ३ दिन समय दिएर पून टेन्डरको प्रस्ताव आव्हान गरेको छ।

२०७९ फागुन ५ गते तीन दिने सूचना जारी गर्यो। सूचना जारी गरेको दिन शुक्रबार थियो। ६ गते शनिबार अनि फागुन ७ गते प्रजातन्त्र दिवसको सरकारी बिदा। अर्थात् समय तीन दिन तोकिए पनि जम्मा आधा दिन मात्र दिइयो। किनकि अन्तिम दिन सोमबार दिउस २ बजेसम्ममा टेन्डर प्रस्ताव गरिसक्नु पर्ने थियो।

तै पनि मन्त्री लम्सालको माउन्ट डिजाइन प्रालि र १०० स्पोर्ट्स म्यानेजमेन्टले टेन्डर हाल्छन्। टेन्डर त्यही दिन खुल्छ। प्रस्ताव खोल्दा माउन्ड डिजाइनले २ करोड २२ लाख ६१ हजार र १०० स्पोर्ट्सले १ करोड ८३ लाख प्रस्ताव गरेको देखिन्छ। 

२०७९ फागुन ११ गते बसेको एन्फाको बैठकले दुई कम्पनीको प्रस्ताव अगाडि बढाउने निर्णय गर्दै खेलसँग सरोकारै नभएको भवन निर्माण गर्ने कम्पनीलाई छनोट गर्छ। मन्त्री लम्सालको कम्पनीले ५० प्रतिशत रकम जम्मा गर्ने र बाँकी ५० प्रतिशत बैंक ग्यारेन्टी उपलब्ध गराउने भन्दै सम्झौता हुन्छ। सम्झौतामा लम्सालले नै हस्ताक्षर गरेका छन्।

खेलको मार्केटिङ र प्रसारण सम्बन्धी कुनै काम नगर्ने कम्पनीलाई लिगको जिम्मा दिँदा आइपर्ने कानुनी चुनौती छल्न सम्झौता पत्रमा ‘खेलकुद केन्द्रीत निर्माण कम्पनी’ भनेर उल्लेख गरिएको छ।

सोही अनुसार एन्फाले २०७९ फागुन ११ मा मन्त्री लम्सालको माउन्ट डिजाइन एन्ड कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिने निर्णय गर्दै पत्र पठायो। एन्फाले टेन्डर दिने निर्णय गरेको मितिसम्म लम्सालको कम्पनीको उद्देश्य निर्माण सम्बन्धी काम गर्ने मात्रै देखिन्छ। जब कम्पनीले टेन्डर स्वीकृत भएको पत्र पायो त्यसपछि उनीहरूले कम्पनीको नाम बदल्ने प्रक्रिया अगाडि बढाए। 

२०७९ फागुन १४ गते मन्त्री लम्सालले सञ्चालकको हैसियतमा एन्फामा पत्र पठाउँदै ‘२०७९ फागुन ११ गतेको निर्णयबाट कम्पनीको नाम संशोधन भएर एमडीएसी स्पोर्ट्स प्रालि भएको’ भन्दै फागुन ११ मा एन्फाबाट आएको स्वीकृत पत्र माउन्ट डिजाइन एन्ड कन्स्ट्रक्सन प्रालिको नाममा रहेकाले एमडीएसी स्पोर्ट्स प्रालिको नाममा पुन पत्र पठाउन अनुरोध गरे। पत्रमा लम्सालकै हस्ताक्षर छ।

त्यसपछि २०२३ फेब्रुअरी २६ (२०७९ फागुन १४) बाट सहमति लागु हुने भन्दै एन्फाले एमडीसी प्रालि जुन एमडीएसी स्पोर्ट्स प्रालिका रूपमा समेत चिनिने खेलकुदसँग केन्द्रित निर्माण कम्पनी भन्दै शहिद स्मारक ए, बी र सी डिभिजन लिगको कमर्सियल राइट्स, डिजिटल ब्रोडकास्टिङ र टिकेटिङको अधिकार दिन्छ।

सम्झौतामा लिगको टाइटलमा एमडीएसी नजोडिने तर सबै मिडियामा स्पन्सर अधिकार,कमर्शियल अधिकार, प्रमोसन र विज्ञापनको अधिकार दिइयो। प्रारम्भमा सो कम्पनीले २ करोड २२ लाख ६१ हजार प्रस्ताव गरेको थियो। त्यही प्रस्ताव नै स्वीकृत भएको थियो।

तर सम्झौतामा एकाएक २६ लाख ६१ हजार घटाएर १ करोड ९६ लाखमा सम्झौता हुन्छ। सो सम्झौता पत्रमा एन्फाको तर्फबाट महासचिव किरण राइले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट सीईओको रूपमा अर्जुन घिमिरे ‘पाँडे’ले हस्ताक्षर गरेका छन्। सम्झौताको साक्षीमा अपेक्षा भारती र सुनिल लम्सालको हस्ताक्षर रहेको छ।

सम्झौता पालना नभएपछि बैंक ग्यारेन्टी जफत
सम्झौता पत्र अनुसार ५० प्रतिशत रकम (९८ लाख ५० हजार) तत्काल एन्फाको इन्भेस्टमेन्ट मेघा बैंकमा जम्मा गर्ने र बाँकी रहेको ५० प्रतिशत बैँक ग्यारेन्टी मागियो। दुवै काम भयो।

तर लम्सालको लिगको कमर्सियलदेखि टिकेटिङसम्मको पाएको ठेक्का अनुसार कबोलेको पुरै रकम एन्फालाई तिरेन। एन्फाले पटक पटक रकम तिर्न कम्पनीलाई पत्राचार गरे पनि रकम भुक्तानी नभएपछि अन्तमा एन्फाले कम्पनीले बुझाएको बैंक ग्यारेन्टीबाट ९८ लाख ५० हजार असुलेको खुल्यो।

फुटबलको ठेक्कामा निरन्तर लम्साल
एन्फाले आयोजना गर्ने ए देखि सी डिभिजन लिगको मार्केटिङदेखि टिकेटिङसम्मको ठेक्का अनधिकृत रूपमा पाएपछि मन्त्री लम्सालको कम्पनीले एन्फाको अर्को दुई प्रतियोगिताको कमर्शियल, मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको ठेक्का पाएको थियो।

नेपालमा आयोजित नेपाल, लाओस् र भुटानबीचको त्रिदेशीय फुटबल प्रतियोगिताको जिम्मा पनि यही कम्पनीले पायो। त्यति मात्रै हैन, बेमेन ओलम्पिक फुटबल टुर्नामेन्ट क्वालिफायर ग्रुप सीको पनि सबै जिम्मा यही कम्पनीले पाएको थियो। यी दुवै प्रतियोगिताको सम्झौतामा लम्सालले नै हस्ताक्षर गरेका छन्।

सीईओ पाँडेलाई ‘थाहा छैन’, एन्फा महासचिवलाई ‘याद छैन’

यी सबै घटनाक्रममा प्रत्यक्ष जोडियो एन्फा, निर्माण कम्पनीका सञ्चालक र सीईओ अर्जुन घिमिरे ‘पाँडे’। एन्फा महासचिव रहेका किरण राईसँग यो ठेक्का प्रक्रियाबारे जिज्ञासा राख्दा उनले “अहिले यसबारे भन्न नसक्ने” भन्दै पन्छिए।

“अहिले तपाईंले भन्नुभएको कुरा ठ्याक्कै अहिले भन्न सक्दिन। अहिले अफिसहरू पनि बन्द छ। निक्कै लामो समय भइसक्यो। मैले कागजहरू हेर्नुपर्छ। त्यसकारणले मैले भन्न सक्दिन। म अहिले गाउँतिर आएको छु”, उनले भने। 

यसबारे बुझ्न मन्त्री लम्साललाई मोबाइलमा कल गर्दा फोन उठेन। उनलाई सम्पर्क गर्नुको उद्देश्य खुलाएर मोबाइल र ह्वाट्सएपमा सन्देश पठाएको तीन दिनसम्म पनि कुनै प्रतिक्रिया आएन। उनको प्रतिक्रिया प्राप्त भएपछि अपडेट गर्नेछौँ।

उकेराले असार २६ मा कलाकार अर्जुन घिमिरे ‘पाँडे’सँग बुझ्दा उनले आफू कलाकार भएको र खेल क्षेत्रको विकासको लागि लिगको सम्झौता पत्र आदानप्रदान कार्यक्रम उपस्थित मात्र भएको दाबी गरे।

“म एउटा कलाकार भएको र लिग पनि माथि उठ्ने भएकोले मलाई सम्झौताको बेला उभिएको हो। अब कम्पनी के हो त्यो त मलाई थाहा छैन। कलाकारको हिसाबले जोडिएको मात्रै हो” उनले दाबी गरे।

तर उकेराको खोजमा लिगमा घिमिरेको संलग्नता उनले दाबी गरेको जस्तो कलाकारको रूपमा मात्र उपस्थित भएको देखिएन। २०७९ फागुन १५ गते एन्फा र एमडीएसीसँगको सम्झौता कार्यक्रम उनी एन्फा महासचिव किरण राईसँगै देखिन्छन् भने सम्झौता पत्र हस्तान्तरणमा समेत उनी सहभागी छन्।

घिमिरे स्पोर्स्ट्स कम्पनीको सीईओ पदमा कार्यरत रहेको समेत पुष्टि भयो। यस विषयमा थप जानकारी लिन उकेराले घिमिरेसँग बुझ्दा उनले आफूलाई जानकारी नभएको तर्क मात्र गरेनन् मन्त्री लम्साललाई जानकारी भएको बताए। 

घिमिरेलाई उकेराले प्रश्न सीईओ हुनुहुँदो रहेछ भनेर सोध्दा उनले भने, “भयो हजुर दु:ख नगर्नु, भन्नुपर्ने कुरा अस्ति भनिसकेँ। सम्बन्धित ठाउँमा गएर सोध्नु ल!, मलाई थाहा हुन्न हजुर, यस्ता कुरा।”

साउन ५, २०८३ मंगलबार २१:१६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।