रेकर्डै रेकर्डको विश्वकप फाइनल : ९० मिनेटसम्म अर्जेन्टिनाको ‘शून्य’ शट, स्पेनका दुई खेलाडीको १०० भन्दा बढी पास !

रेकर्डै रेकर्डको विश्वकप फाइनल : ९० मिनेटसम्म अर्जेन्टिनाको ‘शून्य’ शट, स्पेनका दुई खेलाडीको १०० भन्दा बढी पास !

एजेन्सी : विश्वकप फाइनलमा स्पेनले अर्जेन्टिनालाई हराएर उपाधि जित्दा यसलाई धेरैले ‘फुटबलकै जित’ भनेका छन्। तटस्थ फुटबल समर्थकहरू पनि यो भनाइमा खासै विमति राख्दैनन्।

अतिरिक्त समयमा फेरान टोरेसले निर्णायक गोल गरेपछि र कप्तान रोड्रीले ट्रफी उचाल्दा, अर्जेन्टिनाप्रति सहानुभूति देखाउने तटस्थ समर्थकहरू विरलै भेटिए। स्पेनले खेलाडी र दर्शक दुवैको धैर्यताको परीक्षा लिने यो कठिन खेल जितेर आफ्नो दोस्रो विश्वकप उपाधि उचाल्यो।

फुटबलको तथ्यांक र नैतिकता दुवै आधारमा, स्पेनको जित शतप्रतिशत सही नतिजा थियो।

इङ्ल्यान्डका पूर्व कप्तान एलन सियरर भन्छन्, ‘यसमा कुनै शंका छैन कि सही टिमले नै खेल जितेको छ। सुरुदेखि अन्त्यसम्म स्पेनले बल नियन्त्रणमा राख्यो। उनीहरू मात्र यस्ता टिम थिए जसले वास्तवमै फुटबल खेल्न, अवसर सिर्जना गर्न र अगाडि बढ्न खोजिरहेका थिए। उनीहरूको खेल्ने शैली हेर्दा यो 'फुटबलकै जित' हो। स्पेन यो उपाधिको पूर्ण हकदार छ।’

तथ्यांकमा स्पेनको पूर्ण राज
फाइनल खेलको तथ्यांक हेर्ने हो भने स्पेनले अर्जेन्टिनालाई हरेक कुरामा पछि पारेको छ।

६५ प्रतिशत बल नियन्त्रणमा राखेको स्पेनको २० वटा सट र ११ वटा सट अन टार्गेट थियो। पासमा पनि स्पेन नै अगाडि देखियो। स्पेनले ८५२ पास खेल्दा अर्जेन्टिनाले जम्मा ४६४ पासमा सीमित रह्यो।

विश्वकपको फाइनलमा कुनै पनि खेलाडीले १०० भन्दा बढी पास खेल्नु एकदमै दुर्लभ मानिन्छ। तर यसपटक स्पेनका दुई खेलाडीले यो रेकर्ड बनाए। रोड्रीले १०१ र पाउ कुबार्सीले १२१ पास खेले।

यस्तै, स्पेनका गोलरक्षक उनाई सिमोनले प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक बन्दै ‘गोल्डेन ग्लोभ’ जिते। उनले ८ मध्ये ७ खेलमा विपक्षीलाई गोल गर्न दिएनन्।

पूरै विश्वकपमा स्पेनले जम्मा १ गोल मात्र खायो, जुन विश्वकप जित्ने कुनै पनि टिमले खाएको अहिलेसम्मकै कम गोल हो।

स्पेनका युवा स्टारहरूको कीर्तिमान
स्पेन अहिले सबै प्रतियोगिताहरू मिलाएर लगातार ३८ खेलसम्म अपराजित छ। यो कुनै पनि युरोपेली टोलीको इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो।

स्पेनको यो सफलताको पछाडि युवा खेलाडीको ठूलो हात छ। १९ वर्षीय पाउ कुबार्सीले प्रतियोगिताको ‘उत्कृष्ट युवा खेलाडी’को अवार्ड जिते। त्यस्तै, १९ वर्षकै लामिन यामल पेले र बर्गोमीपछि विश्वकप फाइनल खेल्ने विश्वकै तेस्रो कान्छा खेलाडी बने।

अर्जेन्टिनाको ‘खराब’ रणनीति र शून्य शट
अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनालाई अक्सर भिलेनको रूपमा हेर्ने गरिन्छ। फाइनल खेलमा पनि उनीहरूले त्यस्तै रूप देखाए।

पहिलो हाफमा अर्जेन्टिनाको ध्यान फुटबल खेल्ने भन्दा पनि स्पेनको खेल बिगार्ने र फउल गर्नेमै केन्द्रित देखिन्थ्यो। लियान्ड्रो पारेडेस र एन्जो फर्नान्डेज यसमा सबैभन्दा अगाडि थिए।

अर्जेन्टिनाले यो फाइनलमा कतिसम्म रक्षात्मक खेल खेल्यो भने, निर्धारित ९० मिनेटसम्म उनीहरूले स्पेनको पोस्टमा एउटा पनि शट प्रहार गर्न सकेनन्।

विश्वकप फाइनलको इतिहासमा ९० मिनेटसम्म कुनै पनि टिमले एउटा पनि शट प्रहार गर्न नसकेको यो पहिलो पटक हो। अर्जेन्टिनाको पहिलो शट ११७औं मिनेटमा मात्र लियोनेल मेस्सीले प्रहार गरेका थिए।

अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले खेलमा ११ वटा सेभ (बचाउ) गर्नुपर्यो। यो विश्वकप फाइनलको इतिहासमै कुनै गोलरक्षकले गरेको सबैभन्दा धेरै सेभ हो। यसबाटै थाहा हुन्छ कि स्पेनले कति धेरै आक्रमण गरेको थियो।

रातो कार्ड, झगडा र लज्जास्पद हर्कत
खेलको ९०औं मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले स्पेनका कुबार्सीलाई निकै खतरनाक फउल गरेपछि दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए।

अर्जेन्टिनाले विश्वकपको ताज मात्र गुमाएन, खेल सकिएपछि उनीहरूले देखाएको व्यवहारले उनीहरूको इज्जत पनि गुमाएको धेरैको बुझाइ छ।

फाइनल सिट्ठी बजेपछि लियान्ड्रो पारेडेस स्पेनका खेलाडीहरू (रोड्री, गाभी) सँग झगडा गर्न तम्सिए। अर्जेन्टिनाका अर्का खेलाडी नाहुएल मोलिनाले त स्पेनका खेलाडीलाई मुक्का नै हानेको देखियो।

इङ्ल्यान्डका पूर्व खेलाडी वायन रुनीले यसको कडा आलोचना गर्दै भने, ‘खेल सकिएपछि यस्तो हर्कत देख्नु एकदमै लज्जास्पद हो। यो पटक्कै राम्रो व्यवहार होइन।’

अर्का पूर्व गोलरक्षक जो हार्टले भने, ‘यसमा अर्जेन्टिनाले गुनासो गर्ने कुनै ठाउँ छैन। उनीहरूको व्यवहार घिनलाग्दो थियो।’

प्रशिक्षकको आँसु
खेलपछिको पत्रकार सम्मेलनमा अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कोलानी आँसु झार्दै उपस्थित भए। उनले आफ्ना खेलाडीको बचाउ गर्न खोजे पनि अन्ततः उत्कृष्ट टिमले नै जितेको स्वीकार गरे।

‘स्पेनले हामीलाई ८५औं मिनेटसम्म दबाबमा राखेको थियो। हाम्रो टिम १० खेलाडीमा सीमित नभएको भए के हुन्थ्यो भन्न सकिन्न। तर, खेलको अन्त्यसम्म उनीहरू नै हाबी भए। उनीहरू यो जितको पूर्ण हकदार थिए, यही नै यथार्थ हो’, स्कोलानीले रुँदै भने।

साउन ४, २०८३ सोमबार १२:३०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।