फुटबलमा स्पेनको ‘स्वर्ण युग’ : पाँच वर्षमा १६ उपाधि, पुरुष र महिला दुवै टोली एकैसाथ विश्व च्याम्पियन !

फुटबलमा स्पेनको ‘स्वर्ण युग’ : पाँच वर्षमा १६ उपाधि, पुरुष र महिला दुवै टोली एकैसाथ विश्व च्याम्पियन !

एजेन्सी : स्पेनले फुटबलको दुनियाँमा फेरि एकपटक नयाँ इतिहास रच्यो। आइतबार न्युजर्सीमा भएको विश्वकप फाइनलमा अर्जेन्टिनालाई १-० गोलले हराउँदै स्पेनको पुरुष टोली विश्व च्याम्पियन बन्यो।

दुई वर्षअघि युरोपियन च्याम्पियन बनेको स्पेनले अहिले विश्वकप पनि जित्यो। यसअघि सन् २००८ को युरोकप र लगत्तै सन् २०१० को विश्वकप जितेर स्पेनले यस्तै इतिहास रचेको थियो। अहिले त्यही सफलता दोहोरिएको छ।

स्पेनको यो सफलता यतिमा मात्र सीमित छैन। स्पेन अहिले पुरुष र महिला दुवैतर्फ एकैसाथ विश्वकप जित्ने विश्वकै पहिलो राष्ट्र बनेको छ। स्पेनको महिला टोलीले सन् २०२३ मा सिड्नीमा इंग्ल्यान्डलाई हराउँदै महिला विश्वकप जितेको थियो।

उपाधिको वर्षा यतिमै रोकिँदैन। पुरुष टोलीले सन् २०२३ मा नेसन्स लिग र २०२४ को ओलम्पिकमा स्वर्ण पदक जित्यो भने महिला टोलीले सन् २०२४ र २०२५ को नेसन्स लिग लगातार जित्यो।

तथ्यांक हेर्ने हो भने, पछिल्लो ५ वर्षमा स्पेनले अन्डर-१७ (१७ वर्षमुनि) देखि सिनियर टोलीसम्म गरेर जम्मा १६ वटा विश्व र युरोपेली उपाधि जितेको छ।

स्पेनिस फुटबल विज्ञ गुइलेम बालागे भन्छन्, ‘यो फुटबलमा स्पेनको पूर्ण दबदबा हो। हाम्रो खेल्ने शैलीमा सबैलाई विश्वास छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी जित्न छाड्दैनौं।’

प्रशिक्षक डे ला फुएन्टेलाई ल्याउने त्यो निर्णय
सन् २०२२ को कतार विश्वकपमा मोरक्कोसँग हारेर स्पेन बाहिरिएपछि तत्कालीन प्रशिक्षक लुइस एनरिकेले राजीनामा दिए।

डिसेम्बर २०२२ मा स्पेनले लुइस डे ला फुएन्टेलाई मुख्य प्रशिक्षक बनायो। उनले यति छोटो समयमै नेसन्स लिग, युरोकप र विश्वकप जिताउलान् भनेर सायदै कसैले सोचेका थिए।

लामो समय ठूला क्लबहरूमा प्रशिक्षण नगरेका तर स्पेनका युवा टोलीहरू (यू-१९, यू-२१ र ओलम्पिक टोली) सम्हालेका उनलाई ल्याउनु निकै जोखिमपूर्ण मानिएको थियो।

तर, उनले स्पेनिस फुटबलको शैली र प्रणालीलाई राम्ररी बुझेका थिए। उनले धेरै खेलाडीहरूलाई उनीहरूको बाल्यकालदेखि नै चिनेका थिए।

अहिले ६५ वर्ष पुगेका डे ला फुएन्टेको नेतृत्वमा स्पेन ३८ खेलसम्म अपराजित छ। यो युरोप वा दक्षिण अमेरिकी टोलीले राखेको अहिलेसम्मकै सबैभन्दा लामो अपराजित यात्राको कीर्तिमान हो।

महिला फुटबलमा आएको क्रान्ति
पछिल्लो एक दशकमा स्पेनिस महिला फुटबलले लोभलाग्दो प्रगति गरेको छ। सन् २०१५ मा मात्र पहिलो पटक विश्वकप खेलेको महिला टोलीले तेस्रो प्रयासमै (२०२३ मा) विश्वकप जित्यो।

पूर्व खेलाडी तथा हाल पत्रकार रहेकी मारिया गारिडो भन्छिन्, ‘१० वर्षअघि म बार्सिलोनाबाट खेल्दा महिला खेलाडीका लागि राम्रो एकेडेमी थिएन। हामी आफ्नै पैसा खर्च गरेर प्रशिक्षणमा जान्थ्यौं। तर पछिल्लो ५ वर्षमा धेरै परिवर्तन भएको छ। महिला फुटबलमा लगानी बढेको छ, राम्रा सुविधाहरू छन्। यसले स्पेनमा महिला फुटबललाई हेर्ने दृष्टिकोण नै बदलिएको छ।’

स्पेनको यो दबदबा अझै लामो समय चल्ने देखिन्छ। यसको मुख्य कारण त्यहाँका युवा खेलाडी हुन्। १९ वर्षका लामिन यामल र पाउ कुबार्सीले यो कलिलो उमेरमै विश्वकपको पदक जितेका छन्।

यामल विश्वकपको फाइनल खेल्ने ब्राजिलका पेले र इटालीका बर्गोमी पछि विश्वकै तेस्रो कान्छा खेलाडी बनेका छन्।

एउटै विश्वकप फाइनलमा दुई जना १९ वर्ष मुनिका खेलाडीलाई मैदानमा उतार्ने स्पेन पहिलो टोली पनि बन्यो। महिलातर्फ पनि भिकी लोपेज जस्ता युवा खेलाडीले सानै उमेरमा च्याम्पियन्स लिग जितेर तहल्का मच्चाइरहेका छन्।

इङ्ल्यान्डका पूर्व गोलरक्षक जो हार्टले स्पेनको प्रशंसा गर्दै भनेका छन्, ‘स्पेनको खेल्ने शैलीको नजिक पुग्न सक्ने विश्वमा कोही छैन। यो विश्वकपभरि उनीहरूको गोलपोस्टमा जम्मा १० वटा मात्र सर्ट अन टार्गेट भए।’

त्यस्तै, फ्रान्सका विश्वकप विजेता थियरी हेनरीले पनि स्पेनको प्रणालीको प्रशंसा गर्दै भने, ‘स्पेनले पहिले यसरी लगातार जित्दैनथ्यो, तर अहिले उनीहरूले हरेक उमेर समूह र हरेक स्तरमा उपाधि जितिरहेका छन्।’

साउन ४, २०८३ सोमबार ११:३६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।