ठ्याक्कै २०१० को झल्को दिने विश्वकप फाइनल, लगातार तीनवटा पास पनि खेल्न नसकेको अर्जेन्टिना
एजेन्सी : स्पेनले अर्जेन्टिनालाई १-० गोलले हराउँदै आफ्नो इतिहासको दोस्रो विश्वकप उपाधि जितेको छ।
खेलको सुरुदेखि नै पूर्ण दबदबा कायम गरेको स्पेनका लागि अतिरिक्त समयको १०६औं मिनेटमा फेरान टोरेसले निर्णायक गोल गरे। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
फाइनल खेलमा मेस्सीलाई रोक्ने रणनीतिमा स्पेन पूर्ण रुपमा सफल भए भने खेलमा पूर्ण रूपमा स्पेन हावी भयो। २०१० को विश्वकप झैँ झ-झल्को दिएको यस विश्वकपमा यसअघि खराब प्रदर्शनका कारण निकै आलोचना र मजाकको पात्र बनेका खेलाडी फेरान टोरेस राष्ट्रिय हिरो बने।
मेस्सीलाई रोक्ने प्रशिक्षकको योजना सफल
स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई रोक्न बनाएको योजना पूर्ण रूपमा सफल भयो।
स्पेनका खेलाडीहरूले मेस्सीलाई कडा निगरानीमा राखे र उनीसम्म बल पुग्ने सबै बाटाहरू बन्द गरिदिए। यसले गर्दा मेस्सीले पहिलो हाफमा जम्मा १५ पटक मात्र बल छुन पाए।
खेलको अन्तिमतिर मात्र मेस्सी केही सक्रिय देखिए पनि त्यो पर्याप्त भएन।
स्पेनको जादुयी मिडफिल्ड र पूर्ण दबदबा
स्पेनले आफ्नो पुरानै उत्कृष्ट पासिङ शैलीमा खेल खेल्यो। मिडफिल्डमा रोड्री, ड्यानी ओल्मो र फाबियान रुइजले खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिए।
स्पेनको लगातारको दबाबका कारण अर्जेन्टिनाका खेलाडीहरूले लगातार तीनवटा पास पनि राम्ररी खेल्न सकेनन्। अर्जेन्टिना डिफेन्स गर्न र खेललाई पेनाल्टीसम्म लैजान मात्र व्यस्त देखिन्थ्यो।
सन् २०१० को विश्वकपको झल्को
यो जितले स्पेनलाई सन् २०१० को विश्वकप फाइनलको याद दिलायो।
१६ वर्षअघि नेदरल्यान्ड्सविरुद्ध पनि स्पेनले अतिरिक्त समयमा एन्ड्रेस इनिएस्टाको गोलबाट विश्वकप जितेको थियो।
त्यतिबेला जस्तै यसपटक पनि अर्जेन्टिनाले निकै आक्रामक र फउल खेल्ने रणनीति अपनायो, जसका कारण इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड खाए र अर्जेन्टिना १० खेलाडीमा सीमित भयो।
सन् २०१० मा इनिएस्टाले गोल गरेजस्तै यसपटक फेरान टोरेस नायक बने।
आलोचना खेपेका फेरान टोरेस बने राष्ट्रिय नायक
अर्जेन्टिना खेललाई पेनाल्टी सुटआउटमा लैजान चाहन्थ्यो, तर फेरान टोरेसले उनीहरूको सपना भताभुङ्ग पारिदिए।
निको विलियम्सले दिएको उत्कृष्ट पासलाई टोरेसले देब्रे खुट्टाले प्रहार गर्दै गोलपोस्टको जाली चुमाए।
विगतमा खराब प्रदर्शनका कारण निकै आलोचना र मजाकको पात्र बनेका टोरेस, यो एउटै गोलले रातारात स्पेनको राष्ट्रिय हिरो बनेका छन्।
रोड्री र कुबार्सीलाई उत्कृष्ट अवार्ड
स्पेनका मिडफिल्डर रोड्रीले प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ जिते।
मिडफिल्डमा उनले देखाएको जादुले उनी फुटबल इतिहासकै उत्कृष्ट मिडफिल्डरमध्ये एक हुन् भन्ने प्रमाणित गरेको छ।
त्यसैगरी, स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले ‘उत्कृष्ट युवा खेलाडी’को अवार्ड जिते। उनको सानदार डिफेन्सका कारण स्पेनले पूरै प्रतियोगितामा मात्र एक गोल खायो।
१९ वर्षमै यामलको ऐतिहासिक सफलता
स्पेनका अर्का युवा सनसनी लामिन यामलले जम्मा १९ वर्षको उमेरमै विश्वकप र युरोकप जितेर अन्तर्राष्ट्रिय फुटबलमा पाउनुपर्ने सबै ठूला सफलता हासिल गरेका छन्।
चोटका कारण उनको प्रदर्शन यो विश्वकपमा सोचेजस्तो आक्रामक नभए पनि विपक्षी खेलाडीलाई व्यस्त राख्न उनी सफल भए।
मेस्सी र यामल एउटै मैदानमा उत्रिएको यो खेललाई फुटबलका महान खेलाडी मेस्सीबाट नयाँ पुस्ताका यामलतर्फ ‘पुस्ता हस्तान्तरण’ भएको रूपमा हेरिएको छ।
साउन ४, २०८३ सोमबार १०:२०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।