हार पचाउन नसक्दा मैदानमै पारेडेसको ‘गुण्डागर्दी’, पाए ‘रेड कार्ड’
एजेन्सी : विश्वकप २०२६ को फाइनल खेलको अन्तिम सिट्टी बज्नेबित्तिकै मेटलाइफ स्टेडियम फुटबल मैदानबाट रणमैदानमा परिणत भयो।
स्पेनले १-० को जित निकाल्दै खुसी मनाउन सुरू मात्रै के गरेको थियो, अर्जेन्टिनी खेलाडीहरूले मैदानमै वितण्डा मच्चाए।
खेल सकिए लगत्तै स्पेनका स्टार मिडफिल्डर रोड्रि खुसी मनाउँदै बेन्चतर्फ दौडिरहेका थिए।
त्यही बेला अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले रोड्रिको पाखुरामा थप्पड हाने। त्यसपछि दुई खेलाडीबीच भनाभन सुरू भयो र हेर्दाहेर्दै दुवै टोलीका खेलाडी र स्टाफहरू एक-अर्कामाथि जाइलागे।
लिआन्द्रो पारेडेसको ‘गुण्डागर्दी’
झगडामा सबैभन्दा आक्रामक रूपमा प्रस्तुत भए अर्जेन्टिनाका लिआन्द्रो पारेडेस।
उनले स्पेनका युवा खेलाडी गाभी र एरिक गार्सियालाई लात्तीले हाने, थप्पड लगाए र भुइँमा पछारे। उनले गार्सियाको त घाँटी नै थिचे।
खेल सकिएपछि पनि पारेडेसको यो हर्कतका कारण रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाए।
खेलकै क्रममा इन्जो फर्नान्डेजले रातो कार्ड पाइसकेका थिए भने खेल सकिएपछि पारेडेसले अर्को रातो कार्ड थपे।
स्कालोनीको दाबी र मेसीको मौनता
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले पत्रकार सम्मेलनमा रुँदै भने, ‘हामी जित र हार दुवैलाई शालीनताका साथ स्विकार्छौँ, हामीलाई हार्न आउँछ।’
तर मैदानको दृश्यले उनको दाबीलाई गिज्याइरहेको थियो। स्वयं स्कालोनी आफैँ झगडा मिलाउन मैदानमा दौडिनुपरेको थियो।
अर्कोतर्फ, अर्जेन्टिनाका कप्तान लियोनेल मेसी भने मैदानको अर्को छेउमा कम्मरमा हात राखेर यो सबै रमिता मौन भएर हेरिरहेका थिए।
आफ्नो सम्भावित अन्तिम विश्वकपको यस्तो लज्जास्पद अन्त्यले मेसीलाई थप निराश बनाएको देखिन्थ्यो।
टम क्रुजको सन्देश अनि मैदानको अराजकता
खेल सुरु हुनुअघि हलिउड स्टार टम क्रुजले समापन समारोहमा भनेका थिए- ‘यो फुटबल हो, यहाँ एकता छ, यहाँ महानता छ।’
तर खेल सकिँदा ४८ टोली सहभागी भएको यो ऐतिहासिक विश्वकपको समापन एकताले होइन, अराजकता र कुटाकुटले भयो।
झन्डै १२० मिनेटको खेलमा कुल ४६ पटक फाउल भएको थियो, जसमध्ये २५ पटक अर्जेन्टिनाले मात्रै गरेको थियो।
साउन ४, २०८३ सोमबार ०८:४२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।