फिफा विश्वकप २०२६ : पुस्तान्तरणको प्रतिस्पर्धामा यमालको जित, लगातार च्याम्पियनको मेसीको सपना अधुरै
काठमाडौं : ४८ टोली र १०४ खेलको रोमाञ्चक यात्रा पार गर्दै फिफा विश्वकप २०२६ ले नयाँ विजेताको रूपमा स्पेनलाई पाएको छ। ९६ वर्ष लामो विश्वकप इतिहासको २३औँ संस्करणको अन्तिम खेलमा साबिक विजेता अर्जेन्टिनालाई फाइनलमा निरीह बनाउँदै स्पेन नयाँ विश्व विजेता बनेको हो।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सोमबार बिहान भएको सनसनीपूर्ण फाइनल खेलमा १० खेलाडीमा समेटिएको अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो।
निर्धारित ९० मिनेटको नियमित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको पहिलो हाफमा पनि गतिरोध तोडिन सकेन। तर, अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै अर्थात् खेलको १०६औँ मिनेटमा स्पेनका फेरान टोरेसले उत्कृष्ट गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। टोरेसको यही गोल नै प्रतियोगिताको निर्णायक गोल बन्यो।
खेलभर हाबी स्पेन, चल्न सकेनन् मेसी
खेल अवधिभर युवा जोस र तीव्र आक्रामक फुटबल खेलेको स्पेनिस टोली अर्जेन्टिनामाथि पूर्ण रूपमा हाबी देखिएको थियो। नियन्त्रणमा आधारित (बल पोजेसन) फुटबल खेल्दै स्पेनले अर्जेन्टिनालाई खेलभरि दबाबमा राख्यो।
आफ्नो ऐतिहासिक करियरमा अर्को स्वर्णिम अध्याय थप्ने र लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यका साथ मैदान उत्रिएका अर्जेन्टिनाका कप्तान लियोनल मेसी यस खेलमा भने फिक्का साबित भए। स्पेनिस डिफेन्डरहरूको कडा मार्किङका कारण मेसीले आफ्नो स्वाभाविक जादु देखाउन सकेनन्।
एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना संकटमा
८औँ पटक विश्वकप फाइनल खेलिरहेको अर्जेन्टिनाका लागि खेलको महत्वपूर्ण मोडमा मिडफिल्डर एन्जो फर्नान्डेजले दुईवटा पहेँलो कार्ड (रातो कार्ड) पाउँदै मैदान छाड्नुपर्यो। उनी बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा खुम्चिन पुग्यो, जसको फाइदा उठाउँदै स्पेनले थप आक्रामक दबाब सिर्जना गर्यो र अन्ततः जित निकाल्न सफल भयो।
पुस्तान्तरणको लडाइँमा स्पेनको जित
यो फाइनल खेललाई दुई पुस्ता र दुई शैलीको लडाइँका रूपमा हेरिएको थियो। जहाँ ३९ वर्षका अनुभवी मेसी र १८ वर्षका युवा स्टार लामिन यमाल आमनेसामने थिए। समूह चरणदेखि नै अपराजित रहँदै फाइनल पुगेका यी दुई महारथीको भिडन्तमा अन्ततः युवा जोस र नयाँ पुस्ताको स्पेनिस टोलीले बाजी मार्यो।
ब्राजिलपछि लगातार दुई पटक विश्वकप जित्ने दुर्लभ कीर्तिमान बनाउने अर्जेन्टिनाको सपनालाई चकनाचुर पार्दै स्पेनले फुटबलको भविष्य अब आफ्नो हातमा रहेको साबित गरिदिएको छ।
साउन ४, २०८३ सोमबार ०४:२६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।