फिफा विश्वकप २०२६ फाइनल : इतिहास र भविष्यको प्रतिष्पर्धा

फिफा विश्वकप २०२६ फाइनल : इतिहास र भविष्यको प्रतिष्पर्धा

काठमाडौं : एकातिर अर्जेन्टिनाका लियोनल मेस्सी जसका लागि विश्वकपको यो अन्तिम खेल हुनसक्छ। अनि अर्कोतिर छन् स्पेनका लामिन यमाल जसका लागी यो विश्वकप यात्राको प्रारम्भ हो।

फिफा विश्वकप २०२६ मा सहभागी ४८ टोलीको १०४ खेल पार गर्दै २३औँ संस्करणको उपाधिका लागि आज यी नै दुई पुस्ता मैदानमा उत्रँदै छन्। अमेरिकाको न्युयोर्कको न्यु जर्सी स्टेडियममा आज १२:४५ मा हुने यो फाइनल केवल एक ट्रफीको प्रतिस्पर्धा मात्र हैन एक युग अर्थात् मेस्सीको बिदाइ कस्तो हुन्छ अनि अर्को युग यमालको स्वागत कस्तो हुन्छ भन्ने पनि हो।

मैदानमा आज मेसी लगातार दोस्रो पटक विश्वकप जित्दै ब्राजिलपछि इतिहासमा दुर्लभ उपलब्धि दोहोर्याउने दाउमा हुनेछन् भने स्पेनका खेलाडी १६ वर्ष लामो प्रतीक्षा अन्त्य गर्दै विश्व फुटबलको सर्वोच्च सिंहासनमा फेरि फर्किने प्रयासमा लाग्ने छन्।

यो फाइनललाई अर्जेन्टिना र स्पेनबीचको प्रतिस्पर्धा मात्र हैन अनुभवी स्टार मेसी र युवा लामिनबीचको पुस्तान्तरणको लडाइँका रूपमा समेत हेरिएको छ। आठौँ पटक विश्वकप फाइनल खेल्न लागेको अर्जेन्टिनाको केन्द्रमा अझै पनि ३९ वर्षका मेसी छन् जो आफ्नो स्वर्णिम करियरमा अर्को एउटा उपाधि थप्न चाहन्छन्। अर्कोतिर १८ वर्षीय लामिन यमालको युवा जोस र तीव्र आक्रामक फुटबलको बलमा स्पेन दोस्रो पटक विश्वकप जित्ने दाउमा छ।

युरोपियन च्याम्पियन स्पेनले प्रतियोगिताभरि बल पोजेसनमा आधारित आकर्षक फुटबल खेल्यो। सेमिफाइनलमा बलियो फ्रान्सलाई पूर्ण नियन्त्रणमा राख्दै स्पेनले फाइनलमा पुग्न सफल भयो।

केप भर्डेसँग गोलरहित बराबरीबाट सुरु गरेको स्पेनले साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले हराउँदै समूह विजेता बन्यो। अस्ट्रियालाई ३–० ले पन्छाएको स्पेनले पोर्चुगल र बेल्जियमविरुद्धको कठिन खेलमा मिकेल मेरिनोको ढिलो गोलको मद्दतमा जित निकाल्यो।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको फाइनल यात्रा भने निकै रोमाञ्चक र कठिन रह्यो। समूह चरणमा मेसीको ह्याट्रिकसहित अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई हराए पनि नकआउटमा उसले कडा प्रतिस्पर्धा गर्नुपर्यो।

अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले हरायो। अन्तिम १६ मा इजिप्टविरुद्ध २–० ले पछि परेको स्थिति उल्टाउँदै ७९औँ मिनेटपछि ऐतिहासिक पुनरागमन गर्यो। क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा पराजित गरेको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध १-० ले पछि परेको अवस्थामा एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको गोलको मद्दतमा फाइनल यात्रा तय गर्यो।

हेड-टु-हेड: इतिहास के भन्छ?

विश्वकप इतिहासमा यी दुई टोलीबीच यसअघि सन् १९६६ मा मात्र भेट भएको थियो, जहाँ अर्जेन्टिना २–१ ले विजयी भएको थियो। मैत्रीपूर्ण खेलमा दुवै टिमबीच १४ पटक प्रतिष्पर्धाहुँदा  ६-६ जित र २ बराबरी भएको थियो।

यी दुई टोलीबीचको पछिल्लो भेट २०१८ को मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ स्पेन ६-१ को भारी अन्तरले विजयी भएको थियो।

साउन ३, २०८३ आइतबार २३:३०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।