मेस्सीलाई रोक्न स्पेनका प्रशिक्षकको रणनीति : ‘निगरानी हुन्छ, तर म्यान मार्किङ गरिने छैन’

मेस्सीलाई रोक्न स्पेनका प्रशिक्षकको रणनीति : ‘निगरानी हुन्छ, तर म्यान मार्किङ गरिने छैन’

काठमाडौं : फिफा विश्वकप २०२६को फाइनलमा स्पेनले आइतबार साविक विजेता अर्जेन्टिनाविरुद्ध मैदान उत्रिँदा विगतमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीविरुद्ध प्रयोग गरिएको म्यान मार्किङको असफल रणनीति नअपनाउने भएको छ।

एकै विश्वकप संस्करणमा ६ क्लिन सिट राख्ने पहिलो टोली बनेको स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले फाइनल खेलमा मेस्सीलाई रोक्न कुनै एक खेलाडीलाई विशेष जिम्मेवारी नदिने बताएका छन्।

आइतबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिनाविरुद्धको उपाधि भिडन्तअघि आयोजित पत्रकार सम्मेलनमा फुएन्टेले मेस्सीविरुद्ध ‘म्यान मार्किङ’ रणनीति विगतमा असफल भएको अनुभव सुनाए।

वर्षौंअघिको कोपा डेल रे प्रतियोगितामा सेभिया र बार्सिलोनाबीचको खेलमा मेस्सीलाई रोक्न आफ्नो टोलीले विशेष योजना बनाएको उनले स्मरण गरे। "मैले युवा फुटबल खेल्दा नै लियोनल मेस्सीलाई भेटेको थिएँ । त्यो सेभिया र बार्सिलोनाबीचको कोपा डेल रे खेल थियो। हामीले मेस्सीबारे धेरै सुनेका थियौं," फुएन्टेले भने। 

उनले अगाडि थपे, "हामीले सुरुवातमा उनलाई म्यान मार्क गर्ने निर्णय गर्यौं। खेलको ७०औँ मिनेटसम्म खेल गोलरहित बराबरीमा थियो। उनलाई रोकिरहेका खेलाडीले कार्ड पाएपछि मैले उनलाई परिवर्तन गरेँ। त्यसपछि अर्को १५ मिनेटमै मेस्सीले चार गोल गरे।"

स्पेनी प्रशिक्षक फुएन्टेले विश्वकप फाइनलमा पनि मेस्सीमाथि विशेष ध्यान दिइने भए पनि एक जना खेलाडीमार्फत मात्र रोक्ने योजना नरहेको स्पष्ट पारे। "के हामी उनलाई म्यान मार्किङ गर्नेछौं ? होइन। तर के हामी उनीमाथि धेरै ध्यान दिनेछौं ? हो। तर उनीहरूले पनि हाम्रा खेलाडीहरूमाथि त्यत्तिकै ध्यान दिनेछन्," उनले भने।

फुएन्टेले अर्जेन्टिना र प्रशिक्षक लियोनल स्कालोनीको प्रशंसा गर्दै उनीप्रति आफ्नो सम्मान रहेको बताए। "प्रशंसा, प्रशंसा र अझ धेरै प्रशंसा," अर्जेन्टिनाबारे उनले भने। स्कालोनीलाई आफ्नो राम्रो साथीसमेत भएको उनले बताए।

स्पेनका युवा स्टार लामिन यामाललाई मेस्सीसँग तुलना नगर्न आग्रह गर्दै फुएन्टेले यामाललाई आफ्नै शैलीमा विकास हुन दिनुपर्ने बताए। "लामिन यामाल, यामाल नै हुनुपर्छ। मेस्सी अविश्वसनीय प्रतिभा हुन् र सबै युवा खेलाडीका लागि उदाहरण हुन्। तर लामिनले आफ्नै पहिचान बनाउनुपर्छ," उनले भने।

स्पेन विश्वकप २०२६ मा उत्कृष्ट लयमा रहेको स्पेनले अहिलेसम्म प्रतियोगितामा एक गोल मात्र खाएको छ। एउटै विश्वकप संस्करणमा ६ क्लिन सिट राख्ने पुरुष विश्वकप इतिहासकै पहिलो टोली बनेको छ। अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई पराजित गरेको स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकप फाइनलमा स्थान बनाएको हो।

स्पेनको टोली लगातार ३७ खेलमा अपराजित छ र आइतबार अर्जेन्टिनालाई हराउन सके युरोपेली पुरुष राष्ट्रिय टोलीको सबैभन्दा लामो अपराजित यात्राको नयाँ कीर्तिमान बनाउनेछ।

यता साविक विश्वकप विजेता अर्जेन्टिना लगातार दोस्रो उपाधिको खोजीमा छ। सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराउँदै फाइनल पुगेको अर्जेन्टिनाले पछिल्ला १४ खेल लगातार जितेको छ। टोलीले खेलको अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गर्दै ८५औँ मिनेटपछि आठ गोल गरेर प्रतियोगिताकै नयाँ कीर्तिमान बनाएको छ।

अर्जेन्टिना र स्पेनबीचको पछिल्लो हेड-टु-हेड इतिहास बराबरी छ। दुवै टोलीले ६-६ जित निकालेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। त्यसैले युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको विश्वकप फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

साउन ३, २०८३ आइतबार १२:२२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।