विश्वकप फाइनलमा इतिहासकै सबैभन्दा लामो हाफ-टाइम हुने

विश्वकप फाइनलमा इतिहासकै सबैभन्दा लामो हाफ-टाइम हुने

एजेन्सी : स्पेन र अर्जेन्टिनाबीचको फाइनल खेलको हाफ-टाइम फिफा विश्वकपको इतिहासमै सबैभन्दा लामो हुने भएको छ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क न्यूजर्सी स्टेडिअममा आइतवार हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको मध्यान्तरमा 'सुपर बाउल' शैलीमा ११ मिनेट लामो भव्य सांगीतिक प्रस्तुति आयोजना गरिने भएकाले हाफटाइम २५ मिनेटभन्दा बढी लम्बिन सक्ने जनाइएको छ।

उक्त बिशेष प्रस्तुतिमा चर्चित अन्तर्राष्ट्रिय कलाकारहरू म्याडोना, साकिरा, जस्टिन बिबर र दक्षिण कोरियाली के-पप ब्यान्ड बीटीएसले संयुक्त रूपमा स्टेज सेयर गर्दैछन्।  

प्रतियोगिता आयोजक फिफाका समाचार स्रोतहरूले विश्राम झन्डै २० मिनेट लामो हुने जनाएका छन्। तर स्टेज व्यवस्थापन, सेटअप र प्रस्तुति सकिएपछि त्यसलाई हटाउन समय लाग्ने भएकाले मध्यान्तरको समय २५ मिनेटभन्दा बढी लम्बिन सक्ने अनुमान गरिएको छ।  यदि विश्राम लामो भएमा दोस्रो हाफअघि खेलाडीहरूले पुनः वार्मअप गर्नुपर्ने सम्भावना पनि रहेको छ।

आईफ्याब अर्थात् इन्टरन्याश्नल फुटबल असोसिएशन बोर्डको खेल नियमअनुसार हाफटाइम विश्राम अधिकतम १५ मिनेट हुनुपर्ने व्यवस्था छ। तर गत वर्ष फिफाले आयोजना गरेको क्लब विश्वकपको फाइनलमा कोल्डप्ले, जे बाल्भिन, डोजा क्याट, टेम्स र इमानुएल केलीको प्रस्तुति समावेश गरिँदा हाफटाइम २४ मिनेटसम्म पुगेको थियो।

फाइनल खेल सुरु हुनुअघि स्थानीय समयअनुसार दिउँसो १:३० बजे समापन समारोह पनि आयोजना हुनेछ। यस समारोहमा हलिउड स्टार टम क्रुज, रोबी विलियम्स, निकोल शेर्जिङ्गर जस्ता चर्चित व्यक्तित्वहरूले प्रस्तुति दिनेछन् भने जेनिफर हडसनले अमेरिकाको राष्ट्रिय गान गाउनेछिन्।

साउन ३, २०८३ आइतबार ११:३६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।