दशकअघि सन्यास घोषणा गरेको मेटलाइफ स्टेडियममै सुखद अन्त्यको खोजीमा मेस्सी!

दशकअघि सन्यास घोषणा गरेको मेटलाइफ स्टेडियममै सुखद अन्त्यको खोजीमा मेस्सी!

काठमाडौं : दश वर्षअघि मेस्सीलाई सन्न्यास फिर्ता लिन भावुक पत्र लेख्ने १५ वर्षीय किशोर एन्जो फर्नान्डेज अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममै तिनै मेस्सीको मुख्य सारथी बनेर यस पटक स्पेनविरुद्ध विश्वकप फाइनलमा उत्रिँदैछन्।

सन् २०१६ को कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग यही स्टेडियममा पेनाल्टी सुटआउटमा पराजित भएपछि आँसु झार्दै मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका थिए। उनको यो घोषणाले विश्व फुटबललाई स्तब्ध बनाएको थियो।

त्यतिबेला मेस्सीले भनेका थिए, "मेरो लागि राष्ट्रिय टोलीसँगको यात्रा सकियो। मैले धेरै प्रयास गरेँ।" त्यसपछि अर्जेन्टिनाभर उनलाई निर्णय पुनर्विचार गर्न आग्रह गर्दै व्यापक अभियान चलेको थियो।

त्यसबेला १५ वर्षीय किशोर फर्नान्डेजले सामाजिक सञ्जालमार्फत मेस्सीलाई भावुक सन्देश लेखेका थिए। उनले, "तपाईं जे गर्न चाहनुहुन्छ गर्नुस्। तर कृपया टोलीमा रहनुहोस्।" 

एक दशकअघि मेस्सीको खेलका प्रशंसक रहेका फर्नान्डेज अहिले टोलीको प्रमुख मिडफिल्डरका रूपमा मेस्सीकै सारथी बनेर लगातार दोस्रो विश्वकप जिताउने दाउसहित त्यहि स्टेडियममा मैदान उत्रिँदैछन्।

न्यु जर्सीको मेटलाइफ स्टेडियममा स्पेनविरुद्ध विश्वकप फाइनल खेल्दा अर्जेन्टिनी कप्तान मेस्सीसँग १० वर्षअघि त्यही मैदानमा भोगेको कोपा अमेरिका सेन्टेनारियोको हारलाई विश्व विजेताको खुसीमा बदल्ने ऐतिहासिक अवसर आएको छ।

यता प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध २-१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको थियो। उक्त खेलमा एन्जो फर्नान्डेजले बराबरी गोल गरेका थिए भने लाउटारो मार्टिनेजले इन्जुरी समयमा विजयी गोल गरेका थिए।

अर्जेन्टिनाले लगातार १४ खेल जित्दै दक्षिण अमेरिकी टोलीको सबैभन्दा लामो लगातार जितको कीर्तिमान बराबरी गरेको छ। टोली सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने दोस्रो राष्ट्र बन्ने लक्ष्यमा छ।

यता युरोपियन च्याम्पियन स्पेन प्रतियोगिताको सबैभन्दा बलियो रक्षापंक्ति भएको टोलीका रूपमा फाइनलमा पुगेको छ। प्रशिक्षक लुइस दे ला फुएन्ते को टोलीले प्रतियोगिताभर केवल एक गोल मात्र व्यहोरेको छ र पुरुष विश्वकप इतिहासमै एक संस्करणमा सर्वाधिक ६ क्लिनसिट राख्ने पहिलो टोली बनेको छ।

स्पेनले समूह चरणको पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि लगातार ६ खेल जित्दै अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई हराएर फाइनल यात्रा तय गरेको हो। टोली ३७ खेलदेखि अपराजित रहँदै सन् २०१० पछि दोस्रो विश्वकप उपाधिको खोजीमा छ।

अर्जेन्टिना र स्पेनबीच हालसम्म १४ खेल हुँदा दुवैले ६-६ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। विश्वकपमा उनीहरूबीचको एक मात्र भेट सन् १९६६ मा भएको थियो, जहाँ अर्जेन्टिनाले २-१ को जित निकालेको थियो। 

पछिल्लो भेट सन् २०१८ को मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६-१ ले पराजित गरेको थियो। यस पटक भने सबैको नजर फेरि एक पटक मेस्सीमाथि केन्द्रित हुनेछ। १० वर्षअघि आँसुसहित मेटलाइफ स्टेडियम छाडेका मेस्सीसँग अब त्यही मैदानलाई आफ्नो करियरको अर्को अविस्मरणीय सफलताको साक्षी बनाउने अवसर छ। 

साउन ३, २०८३ आइतबार १०:१८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।