मेस्सीलाई उछिन्दै एम्बाप्पे बने विश्वकपका सर्वाधिक गोलकर्ता

मेस्सीलाई उछिन्दै एम्बाप्पे बने विश्वकपका सर्वाधिक गोलकर्ता

काठमाडौं : फ्रान्सका कप्तान किलियन एम्बाप्पे फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।

सन् २०२६ को विश्वकप अन्तर्गत आइतबार तेस्रो स्थानका लागि भएको खेलमा इङ्गल्यान्डविरुद्ध दुई गोल गरेपछि उनले सबैभन्दा धेरै गोल गर्ने रेकर्ड बनाएका हुन्।

इङ्गल्यान्डविरुद्धको खेल सुरु हुनुअघि एम्बाप्पेको नाममा २० गोल थियो। खेलको ४८ औँ मिनेटमा पहिलो गोल गर्दै उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको २१ गोलको कीर्तिमान बराबरी गरे। 

पुनः ६६ औँ मिनेटमा दोस्रो गोल थपेपछि उनको कुल विश्वकप गोल सङ्ख्या २२ पुगेको हो। २७ वर्षीय एम्बाप्पेले २२ खेल खेलेर यो रेकर्ड बनाए।

जारी विश्वकपमा मात्रै एम्बाप्पेको १० गोल पुगेको छ। यसअघि उनले सेनेगल र इराकविरुद्धको खेलमा समेत गोल गर्दै क्रमशः जस्ट फोन्टेन र मिरोस्लाभ क्लोजको कीर्तिमानलाई उछिनेका थिए।

विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा हाल २१ गोलसहित लियोनल मेस्सी दोस्रो स्थानमा छन्। मेस्सीले सोमबार बिहान स्पेनविरुद्ध हुने फाइनल खेल खेल्न बाँकी रहेकाले यो कीर्तिमानमा पुनः फेरबदल हुन सक्छ।

हाल जारी विश्वकपको गोल्डेन बुटको दौडमा एम्बाप्पे १० गोलसहित शीर्ष स्थानमा छन् भने मेस्सी ८ गोलसहित उनलाई पछ्याइरहेका छन्।

साउन ३, २०८३ आइतबार ०८:२०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।