फ्रान्सलाई ६-४ ले हराउँदै इङ्गल्याण्ड बन्यो विश्वकप २०२६ को तेस्रो

फ्रान्सलाई ६-४ ले हराउँदै इङ्गल्याण्ड बन्यो विश्वकप २०२६ को तेस्रो

एजेन्सी : फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा इङ्गल्याण्डले फ्रान्सलाई ६-४ गोल अन्तरले पराजित गरेको छ। बुकायो साकाले ह्याट्रिक गरेसँगै निकालेको यस जितले इङ्गल्याण्डलाई विश्वकपमा तेस्रो स्थान दिलायो।

सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको इङ्गल्याण्डले तेस्रो स्थानको खेलमा आक्रामक खेल प्रदर्शन गर्यो। खेलको पहिलो हाफमै चार गोल गर्दै इङ्गल्याण्डले आफ्नो पकड बलियो बनाएको थियो।

खेलको सुरुवाती २० मिनेटभित्रै डक्लान राइस र एज्री कोन्साले गोल गर्दै इङ्गल्याण्डलाई अग्रता दिलाएका थिए। त्यसपछि साकाले थप दुई गोल गरेपछि पहिलो हाफमा इङ्गल्याण्ड ४-० ले अगाडि रह्यो।

तर, दोस्रो हाफमा फ्रान्सले खेलमा पुनरागमनको प्रयास गर्यो। फ्रान्सका लागि ५४औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गरे भने किलियन एम्बाप्पेले दुई गोल गरे। यससँगै एम्बाप्पे २०२६ विश्वकपको गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा पुगेका छन्। 

साथै, विश्वकप इतिहासमा कुल २२ गोल पुर्याउँदै उनले लियोनेल मेस्सीको रेकर्ड तोडेर विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन्।

खेलको ८७औँ मिनेटमा फ्रान्सका मालो गुस्टोले जेड स्पेन्समाथि फाउल गरेपछि इङ्गल्याण्डले पेनाल्टी प्राप्त गर्यो। उक्त अवसरलाई गोलमा परिणत गर्दै साकाले आफ्नो ह्याट्रिक पूरा गरे। साकाले यसअघि ३७औँ मिनेट र पहिलो हाफको अन्तिम समयमा गोल गरेका थिए।

इन्जुरी समयको छैटौं मिनेटमा ओस्मान डेम्बेलेले फ्रान्सका लागि चौथो गोल गर्दै स्कोर ५-४ को स्थितिमा पुर्याएका थिए। तर, ९८औँ मिनेटमा जुड बेलिङघमले गोल थपेपछि इङ्गल्याण्डले ६-४ को जित निश्चित गर्यो। 

साउन ३, २०८३ आइतबार ०८:००:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।