यी ६ रणनीतिले तय गर्नेछ फिफा विश्वकप २०२६ को विजेता

यी ६ रणनीतिले तय गर्नेछ फिफा विश्वकप २०२६ को विजेता

एजेन्सी : आइतबार न्यूयोर्कको न्यू जर्सी स्टेडियममा हुने सन् २०२६ को विश्वकप फाइनल हुँदैछ।

यो विश्वकप फाइनल मात्र नभएर फुटबलका दुई फरक विचारधारा र महादेशीय ‘किंग्स’बीचको महाभिडन्त हो।

अर्जेन्टिना र स्पेनबीचको यो ऐतिहासिक फाइनलअघि खेलको नतिजा फेर्न सक्ने ६ मुख्य बुँदाहरू यहाँ प्रस्तुत छन्:

१. मेस्सीको जादु कि स्पेनको पर्खाल?
यो विश्वकपमा स्पेनको डिफेन्स फलामको पर्खाल जस्तै बनेको छ। स्पेनले अहिलेसम्म ६ खेलमा ‘क्लिन शिट’ राखेर नयाँ कीर्तिमान बनाएको छ।

सेमिफाइनलमा एमबाप्पे र डेम्बेले जस्ता तीव्र गतिका खेलाडीलाई स्पेनले अपेक्षित गोल ०.३१ एक्सजीमा सीमित गरिदिएको थियो।

तर, अर्कोतर्फ लियोनेल मेस्सी छन्, जो आफ्नो करियरकै उत्कृष्ट लयमा देखिएका छन्।

सुरुवाती खेलहरूमा गोलको वर्षा गरेका मेस्सी पछिल्ला खेलहरूमा सहयोगीका रूपमा देखिएका छन्।

१२ असिस्टसहित विश्वकप इतिहासमै सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी बनेका मेस्सीलाई रोक्नु स्पेनका लागि यो प्रतियोगिताकै सबैभन्दा ठूलो चुनौती हुनेछ।

२. मिडफिल्डको भिडन्त
मिडफिल्डमा स्पेनका रोड्रि र अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरबीचको लडाइँ हेर्नलायक हुनेछ।

रोड्रिले यस विश्वकपमा ६५५ सफल पास पूरा गरेर आफ्नै पुरानो कीर्तिमान तोडिसकेका छन्। उनीसँगै पेड्रि र फाबियन रुइजको तालमेलले स्पेनलाई ‘बल पोसेसन’मा नियन्त्रण दिनेछ।

यता, अर्जेन्टिनासँग म्याक एलिस्टर, इन्जो फर्नान्डेज र रोड्रिगो डे पल जस्ता जुझारु मिडफिल्डर छन्।

विशेषगरी म्याक एलिस्टरले बल खोस्ने र विपक्षीको आक्रमण रोक्ने मामिलामा आफूलाई सर्वश्रेष्ठ सावित गरेका छन्। जसले मिडफिल्डमा कब्जा जमाउँछ, उसैले खेल नियन्त्रण गर्नेछ।

३. प्रशिक्षकको टाउको दुखाइ: कसलाई खेलाउने?
दुवै प्रशिक्षकका अगाडि अन्तिम ११ छनोट गर्न चुनौती छ।

स्पेनका लुइस डे ला फुएन्टेले शारीरिक रूपमा बलिया फाबियन रुइज वा सिर्जनशील पेड्रिमध्ये एकलाई रोज्नुपर्नेछ। रुइज आफ्नो देशका लागि खेलेका पछिल्ला ४९ खेलमा अविजित छन्।

अर्जेन्टिनाका लियोनेल स्कालोनीका लागि मुख्य समस्या स्ट्राइकरमा छ। जुलियान अल्भारेजको मेहनतलाई रोज्ने कि लाउटारो मार्टिनेजको फिनिसिङलाई?

मार्टिनेज ‘सुपर सब’का रूपमा मैदान छिरेर हरेक खेलमा प्रभाव पारिरहेका छन् भने अल्भारेजले रक्षात्मक सन्तुलनमा मद्दत गर्छन्।

४. स्वदेशी प्रशिक्षकको ‘स्पेशलाइज्ड’ ज्ञान
विश्वकपको इतिहासमा अहिलेसम्म विदेशी प्रशिक्षक भएको टोलीले उपाधि जित्न सकेको छैन।

यो विश्वकपमा पनि इंग्ल्याण्ड (थोमस टुचेल), ब्राजिल (कार्लो एन्सेलोटी) र अमेरिका (मौरिसियो पोचेटिनो) जस्ता ठूला टोलीहरू विदेशी प्रशिक्षकको नेतृत्वमा असफल भए।

तर, डे ला फुएन्टे र स्कालोनी दुवै आफ्नै देशका ‘लोकल’ हुन्, जसले राष्ट्रिय टोलीको संरचना बुझेका छन्।

क्लब फुटबलमा खासै नाम नकमाए पनि अन्तर्राष्ट्रिय फुटबलमा यी दुवै ‘मास्टर’ सावित भएका छन्।

५. अन्तिम समयको नाटक
यो विश्वकपमा अर्जेन्टिना ‘कमब्याक किंग’ बनेको छ।

इजिप्टविरुद्ध अन्तिम १२ मिनेटमा ३ गोल गरेर जितेको होस् वा इंग्ल्याण्डविरुद्ध ८५औं मिनेटसम्म पछि परेर पनि पुनरागमन गरेको नै किन नहोस्। अर्जेन्टिना हार स्वीकार्न तयार देखिँदैन।

स्पेनले पनि बेल्जियम र पोर्चुगलविरुद्ध अन्तिम समयमा गोल गरेरै फाइनलको यात्रा तय गरेको हो।

दुवै टोली मेन्टालिटी मन्स्टर (कहिल्यै हार नमान्ने सोच) भएकाले खेलको ९०औं मिनेटपछिको समय झन् रोमाञ्चक हुन सक्छ।

६. ऐतिहासिक भिडन्त: युरोप भर्सेस दक्षिण अमेरिका
इतिहासमै पहिलोपटक वर्तमान युरोपेली च्याम्पियन (स्पेन) र दक्षिण अमेरिकी च्याम्पियन (अर्जेन्टिना) विश्वकपको फाइनलमा भिड्दैछन्।

दक्षिण अमेरिकी टोलीहरूले पछिल्लो समय युरोपेली दबदबालाई चुनौती दिइरहेका छन्।

यदि अर्जेन्टिनाले जितेमा दक्षिण अमेरिकाको ११औं विश्वकप उपाधि हुनेछ, जुन युरोपको १२ उपाधिभन्दा केवल एक मात्र कम हुनेछ।

साउन २, २०८३ शनिबार १४:१९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।