तथ्याङ्कमा विश्वकप फाइनल : मेस्सी आक्रमण कि स्पेनको बलियो डिफेन्स?
एजेन्सी : विश्वकप २०२६ को फाइनलमा आइतबार दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेन आमनेसामने हुँदैछन्।
यो भिडन्तअघि दुवै टोलीको शक्तिको तुलना ‘अप्टा’ले तथ्याङ्कका आधारमा निकालेको छ।
आखिर यी दुई टोलीमा को हावी छन् त? केही रोचक तथ्य जानौं:
आक्रामक अर्जेन्टिना र क्लिनिकल फिनिसिङ
अर्जेन्टिना यस प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने टोली हो। उनीहरूले हालसम्म १९ गोल गरिसकेका छन्।
रोचक कुरा त के छ भने, चार वर्षअघि साउदी अरेबियासँग १-२ ले पराजित भएयता अर्जेन्टिनाले आफ्ना पछिल्ला १३ विश्वकप खेलमा कम्तीमा २ गोल गर्दै आएको छ।
यता स्पेनले अर्जेन्टिनाको तुलनामा धेरै प्रहार गरे पनि ६ गोल कम अर्थात् १३ गोल मात्र गरेको छ।
अर्जेन्टिनाको विशेषता ‘लङ रेन्ज’ प्रहार पनि हो, उनीहरूले डिबक्स बाहिरबाट ५ गोल गरेका छन् भने स्पेनले अहिलेसम्म टाढाबाट गोल गर्न सकेको छैन।
स्पेनको अभेद्य पर्खाल
आक्रमणमा अर्जेन्टिना अगाडि देखिए पनि रक्षापङ्क्तिमा स्पेनको राज छ। स्पेनले पूरै प्रतियोगितामा अहिलेसम्म बेल्जियमविरुद्ध १ गोल मात्र खाएको छ। अर्जेन्टिनाले भने सात गोल खाएको छ।
तथ्याङ्कअनुसार स्पेनविरुद्ध गोल गर्ने अवसर सिर्जना गर्नु नै विपक्षीका लागि ठूलो चुनौती देखिएको छ। स्पेनको ‘एक्सजी अगेन्स्ट’ (एक्सपेक्टेड गोल अगेन्स्ट) केवल २.१ छ, जुन प्रतियोगिताकै सबैभन्दा कम हो।
वर्क रेट र फिटनेस
अर्जेन्टिनाले दुईवटा खेल अतिरिक्त समयसम्म खेलेका कारण स्पेनको तुलनामा ६० मिनेट बढी फुटबल खेलिसकेको छ।
तर, अर्जेन्टिनाले अन्तिम समूह खेलमा मुख्य खेलाडीहरूलाई आराम दिएकाले फिटनेसमा खासै ठूलो अन्तर नहुने अनुमान छ।
मैदानमा कुद्ने र स्प्रिन्ट गर्ने मामिलामा भने स्पेन अगाडि छ। अर्जेन्टिना यो विश्वकपमा आफ्ना सबै विपक्षीभन्दा कम कुदेर पनि खेल जित्न सफल भएको छ।
अर्जेन्टिनाको शैली कम तीव्र गतिमा खेल्ने तर रणनीतिक रूपमा सफल हुने देखिएको छ।
हवाई र जमिनको लडाइँ
हावामा हुने ‘एरियल डुएल’मा स्पेनको सफलता दर सबैभन्दा उत्कृष्ट छ, जसले गर्दा उनीहरूलाई हावामा फाइदा पुग्न सक्छ।
जमिनको लडाइँमा भने दुवै टोली उत्तिकै बलिया छन्, तर अर्जेन्टिना थोरै बढी आक्रामक देखिएको छ।
मेस्सी भर्सेस यामल: ड्रिब्लिङको जादु
यो फाइनलको सबैभन्दा ठूलो आकर्षण १९ वर्षीय लामिन यामल र भेट्रान लियोनेल मेस्सीबीचको भिडन्त हो।
दुवै टोलीका कुल ड्रिब्लिङमध्ये ४३ प्रतिशत यी दुई खेलाडीले मात्र गरेका छन्।
यामलले यो विश्वकपमा सबैभन्दा धेरै ड्रिब्लिङ प्रयास गरेका छन् भने मेस्सी र ब्राजिलका भिनिसियस जुनियर मात्र उनीसँग प्रतिस्पर्धामा छन्।
अर्जेन्टिना गोल गर्नमा माहिर छ भने स्पेन गोल रोक्नमा। अर्जेन्टिनाले पछिल्लो समय क्रसिङमा जोड दिएको छ, जुन स्पेनको बलियो पक्ष हो।
आइतबारको फाइनलमा जसले मिडफिल्ड र बल पोजेसनमा नियन्त्रण राख्छ, उसकै पल्ला भारी हुने निश्चित छ।
साउन २, २०८३ शनिबार १४:०५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।