यामललाई नुहाइदिएको १८ वर्ष पुरानो तस्बिरबारे पहिलो पटक बोले मेस्सी
एजेन्सी : ‘अर्बौंमा एक’, ‘दैवी शक्ति’, वा ‘अकल्पनीय’- यी ती विशेषणहरू हुन् जुन अहिले लियोनेल मेसी र लामिन यामलको एउटा पुरानो तस्बिरलाई व्याख्या गर्न प्रयोग भइरहेका छन्।
सन् २००७ मा २० वर्षका मेसीले एउटा सानो बालकलाई प्लाष्टिकको टबमा नुहाइरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल मात्र छैन, विश्वकप फाइनलको मुख्य आकर्षण समेत बनेको छ।
स्वयं मेसीले यस संयोगलाई ‘क्रेजी’ भनेका छन्। अमेरिकाको शहर न्यूयोर्कका मेयर जोहरान मम्दानीले त सुरुमा यो तस्बिर एआईबाट बनाइएको होला भन्ने ठानेका थिए। तर, यो तस्बिर पूर्णतः वास्तविक हो।
कसरी खिचिएको थियो यो तस्बिर?
यो कहानी सन् २००७ को अन्त्यतिर सुरू हुन्छ। क्याटलान खेलकुद पत्रिका डायरिओ स्पोर्टले युनिसेफसँग मिलेर सन् २००८ का लागि एउटा च्यारिटी क्यालेन्डर बनाउने योजना बनायो। बार्सिलोनाका खेलाडीहरूलाई विभिन्न बच्चाहरूसँग राखेर तस्बिर खिच्नु थियो।
कुन खेलाडीसँग कुन बालकलाई राख्ने भनेर गोलाप्रथा गरिएको थियो। त्यतिबेला उदाउँदै गरेका मेसीको भागमा रोक्काफोन्डाका एक बालक परे, जो पछि बार्सिलोनाकै जर्सी नम्बर १० लगाउने खेलाडी लामिन यामल बने।
तस्बिर खिच्ने फोटोग्राफर जोआन मोनफोर्ट सम्झिन्छन्, ‘त्यो निकै कठिन सुटिङ थियो। मेसी अहिले पनि लजालु छन्, त्यतिबेला त झन् धेरै थिए। पानीले भरिएको टबमा एउटा सानो बालकसँग तस्बिर खिच्न उनलाई निकै अप्ठ्यारो भइरहेको थियो।’
फोटोग्राफर मोनफोर्टले आफ्नी छोरीको खेलौना ल्याएर मेसी र यामललाई सहज बनाएका थिए।
ब्युँतिएको तस्बिर
यो तस्बिर वर्षौंसम्म गुमनाम थियो। तर, यामलका पिता मुनिर नसराउईले यसलाई सुरक्षित राखेका थिए। सन् २०२४ को युरो कपका दौरान उनले इन्स्टाग्राममा ‘दुई लिजेन्डको सुरुवात’ भन्दै यो तस्बिर सार्वजनिक गरेपछि विश्वभर सनसनी मच्चियो।
धेरैले यसलाई मेसीले यामललाई दिएको ‘फुटबलको आशिर्वाद’ वा ‘दीक्षा’का रूपमा व्याख्या गरे। तर यामलका पिता ठट्टा गर्दै भन्छन्, ‘हुनसक्छ लामिनले पो मेसीलाई शक्ति दिएका थिए कि? मेरो लागि त मेरो छोरा नै सर्वश्रेष्ठ हो।’
मेसी र यामल के भन्छन्?
विश्वकप २०२६ को फाइनलको संघारमा न्यूयोर्कमा आयोजित एक कार्यक्रममा मेसीले पहिलोपटक यस तस्बिरबारे मुख खोले।
उनले भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा, यो तस्बिर निकै अचम्मको छ। जीवन यस्तै त हो नि, हैन? मैले बच्चामा उनीसँग तस्बिर खिचेँ र आज हामी विश्वकपको फाइनलमा एक-अर्काको सामना गर्दैछौँ।’
मेसीले यामलको प्रशंसा गर्दै उनलाई ‘विश्वकै बेन्चमार्क खेलाडी’ र ‘अद्भूत प्रतिभा’ भनेका छन्।
उता, यामल पनि यो संयोगबाट दङ्ग छन्। ‘मलाई अचम्म लाग्छ कि मेसीले मलाई काखमा लिएका छन् तर म भने उनलाई हेरिरहेको पनि छैन,’ उनले हाँस्दै भने, ‘इतिहासकै उत्कृष्ट खेलाडीसँग मेरो तस्बिर हुनु गर्वको कुरा हो।’
यद्यपि, यामल आफूलाई मेसीसँग तुलना गर्न चाहँदैनन्। उनले स्पष्ट भनेका छन्, ‘म मेसी बन्न चाहन्न, म आफ्नै बाटो बनाउन चाहन्छु।’
आइतबार न्यूयोर्कको मेटलाइफ स्टेडियममा जब अर्जेन्टिना र स्पेन भिड्नेछन्, तब मैदानमा केवल दुई टोली मात्र हुने छैनन्; त्यहाँ १८ वर्षअघिको त्यो ऐतिहासिक संयोगको अर्को अध्याय पनि लेखिनेछ।
मेसी आफ्नो करियरको अन्त्यतिर छन् भने यामल ठ्याक्कै त्यही विन्दुमा छन् जहाँबाट मेसीको दबदबा सुरू भएको थियो।
साउन २, २०८३ शनिबार ०९:५२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।