इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न उठाउँदै ट्रम्पले भने- ह्यारी केनलाई त्यसरी खेलाउनै हुँदैनथ्यो
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको इंग्ल्याण्डको रणनीतिको आलोचना गरेका छन्।
खेलको उत्तरार्धमा कप्तान ह्यारी केनलाई डिफेन्सिभ भूमिकामा राख्ने प्रशिक्षक थोमस टुचेलको निर्णयमाथि ट्रम्पले प्रश्न उठाएका हुन्।
हारपछि पण्डित र समर्थकहरूले टुचेलको आलोचना गरिरहेका बेला ट्रम्पले पनि त्यसमा सही थापेका छन्।
ट्रम्प टावरमा आयोजित एक समारोहमा बोल्दै उनले भने, ‘इंग्ल्याण्डसँग एक उत्कृष्ट खेलाडी छन्- ह्यारी केन, जोसँग मैले गल्फ पनि खेलेको छु। उनी शानदार छन्। तर, उनलाई डिफेन्सिभ खेलाडी बनाउनु ठूलो गल्ती थियो।’
ट्रम्पले ठट्टा गर्दै थपे, ‘मलाई फुटबलको बारेमा के नै थाहा छ र? तर, टोलीले अग्रता लिएपछि आफ्नो उत्कृष्ट खेलाडीलाई डिफेन्समा राख्नु अनौठो थियो। हामी अलि आक्रामक हुनुपर्थ्यो, होइन र?’
प्रशिक्षक थोमस टुचेलले भने ट्रम्पको यस टिप्पणीलाई सामान्य भन्दै पन्छाएका छन्।
फिफामा ट्रम्प प्रभाव अनि रेड कार्ड काण्ड
यसैबीच, राष्ट्रपति ट्रम्पले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँगको आफ्नो निकटता र अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको 'रेड कार्ड' बारेमा गरेको खुलासाले नयाँ विवाद जन्माएको छ।
सेमिफाइनलअघि बालोगुनले पाएको रेड कार्ड र त्यसपछिको एक खेलको प्रतिबन्धलाई फिफाले नाटकीय रूपमा १२ महिनाका लागि निलम्बन गरिदिएको थियो। यस निर्णयको विश्वभर आलोचना भइरहेका बेला ट्रम्पले आफूले इन्फान्टिनोलाई फोन गरेर गुनासो गरेको स्वीकार गरे।
ट्रम्पले भने, ‘मैले जियानीलाई फोन गरेर भनेँ- त्यो मान्छेलाई खेलमा फिर्ता ल्याऊ! उनले मेरो कुरा सुनेर सही निर्णय गरे, जसको जस उनले कहिल्यै पाउने छैनन्।’
व्यापारिक सफलता कि कूटनीतिक दबाब?
फिफा अध्यक्ष इन्फान्टिनोले ट्रम्पसँगै उभिएर यो विश्वकपलाई मानव इतिहासकै महान् सामाजिक र सांस्कृतिक उत्सव भनेका छन्।
तर, विश्लेषकहरूले भने ट्रम्प र इन्फान्टिनोको यो दोस्तीले खेलकुदको निष्पक्षता र राजनीतिक तटस्थतामाथि गम्भीर संकट निम्त्याएको बताएका छन्।
यस वर्ष ९ अर्ब डलर आम्दानी गर्ने लक्ष्य राखेको फिफाले व्यापारिक फाइदाका लागि राजनीतिक हस्तक्षेप स्वीकार गरेको आरोप लागेको छ।
भिसा विवाद, टिकटको चर्को मूल्य र अहिले रेड कार्ड काण्डले विश्वकपको साखमा प्रश्न उठाएको छ।
साउन २, २०८३ शनिबार ०९:३१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।