६० वर्षदेखि इंग्ल्याण्डका समर्थकको एउटै आशा- ‘सायद अर्को पटक भाग्यले साथ दिनेछ’
एजेन्सी : विश्वकप सुरु हुनुअघि धेरैको अनुमान थियो- इंगल्याण्ड सेमिफाइनलभन्दा अगाडि बढ्न सक्दैन। तर, थोमस टुचेलको आगमनले त्यो अनुमानलाई गलत सावित गर्ने आशा जगाएको थियो।
अन्ततः अर्जेन्टिनासँगको २-१ को पराजयसँगै इंगल्याण्डको ६० वर्षपछि विश्वकपको फाइनल पुग्ने सपना पुनः अधूरै रहन पुग्यो।
सन् २०२५ मा इंगल्याण्डको जिम्मेवारी सम्हाल्दै गर्दा टुचेलले स्पष्ट भनेका थिए- उनको लक्ष्य ‘विश्वकप जित्नु’ हो। तर, निर्णायक घडीमा उनी चुके।
अर्जेन्टिना विरुद्धको खेलमा सुरुवाती अग्रता लिएपछि टोलीलाई डिफेन्सिभ बनाउनु र बेलगाम शैलीमा खेलाडी परिवर्तन गर्नु टुचेलको सबैभन्दा ठूलो गल्ती मानिएको छ।
जब विपक्षी टोलीमा लियोनेल मेसी जस्ता ‘प्रतिभाशाली’ खेलाडी हुन्छन्, तब उनीहरूलाई खेल्नका लागि खाली ठाउँ दिनु हारलाई निम्तो दिनु सरह हो। मेसीले इंगल्याण्डको डिफेन्सिभ रणनीतिको फाइदा उठाउँदै खेललाई आफ्नो कब्जामा लिए।
सेमिफाइनलमा पराजित भए पनि टुचेलको कार्यकाल सकिएको छैन। उनले फेब्रुअरीमै सन् २०२८ को युरो कपसम्मका लागि सम्झौता नवीकरण गरिसकेका छन्।
यद्यपि, यो हारपछि उनीमाथि हुने आलोचना अझै बढ्ने निश्चित छ। हारपछि उनले आफ्नो रणनीतिमा कुनै पछुतो नभएको बताए पनि, केही दिनको समीक्षापछि उनले आफ्नो गल्ती महसुस गर्ने अपेक्षा गरिएको छ।
यस विश्वकपमा इंगल्याण्डका लागि मेक्सिको विरुद्धको जित सबैभन्दा अविस्मरणीय रह्यो। मेक्सिकोको एज्टेका स्टेडियममा १० खेलाडीमा सीमित भएर पनि इंगल्याण्डले देखाएको एकता र जुझारुपनले यो टोलीमा केही विशेष छ भन्ने प्रमाणित गरेको थियो।
तर, भविष्यका लागि केही चिन्ताहरू पनि छन्। कप्तान ह्यारी केन केही हप्तामै ३३ वर्ष पुग्दैछन्। उनको स्थान लिन सक्ने नयाँ स्ट्राइकरको अभाव देखिएको छ।
टुचेलले छनोट गरेको वर्तमान टोलीमा सन्तुलनको अभाव रहेको आलोचकहरूको भनाइ छ। आगामी युरो कप छनोटका लागि उनले टोलीमा केही ठूला परिवर्तन गर्नुपर्ने देखिन्छ।
शनिबार राति हुने तेस्रो स्थानका लागि हुने खेलको खासै अर्थ नरहे पनि, इंगल्याण्डले यो विश्वकप पनि विगतका प्रतियोगिताहरू झैँ निरासाका साथ अन्त्य गर्दैछ। ६० वर्षदेखिको प्रतीक्षा अझै लम्बिएको छ।
सन् २०२८ को युरो कप आफ्नै भूमिमा हुँदैछ र इंगल्याण्डका समर्थकहरू पुनः एउटै आशामा हुनेछन्- ‘सायद अर्को पटक भाग्यले साथ दिनेछ।’
साउन २, २०८३ शनिबार ०९:२०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।