विश्वकपमा अर्जेन्टिनाको राजनीतिक ब्यानर : ह्वाइट हाउसद्वारा खेलाडीको बचाउ, बेलायत आक्रोशित
एजेन्सी : फिफा विश्वकप २०२६ मा इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीहरूले देखाएको एउटा राजनीतिक ब्यानरले अहिले कूटनीतिक र खेलकुद वृत्तमा ठूलो विवाद निम्त्याएको छ।
सेमिफाइनलमा इंग्ल्यान्डमाथि जित निकालेपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा एउटा ब्यानर प्रदर्शन गरेका थिए, जसमा लेखिएको थियो- ‘फकल्याण्ड टापु अर्जेन्टिनाको हो।’
फकल्याण्ड टापु बेलायतको अधिनमा रहेको क्षेत्र हो, जसमाथि अर्जेन्टिनाले वर्षौंदेखि आफ्नो दाबी गर्दै आएको छ।
खेलकुदमा राजनीतिक सन्देश दिन नपाइने फिफाको नियम उल्लंघन गरेको भन्दै अर्जेन्टिनी टोलीमाथि कारबाही हुन सक्ने सम्भावना छ।
यस विवादमा अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ले अर्जेन्टिनी खेलाडीहरूको बचाउ गरेको छ।
ह्वाइट हाउसको फिफा टास्क फोर्सका प्रमुख एन्ड्रयू जुलियानीले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको अधिकार रहेको भन्दै खेलाडीहरूले आफ्नो धारणा राख्न पाउने बताए।
उनले भने, ‘हामी अमेरिकामा संविधानको 'प्रथम संशोधन' (अभिव्यक्ति स्वतन्त्रता) को अधिकारमा विश्वास गर्छौं।’
बेलायत सरकारले भने यसको कडा विरोध गरेको छ।
बेलायती प्रधानमन्त्रीको कार्यालयले भनेको छ, ‘विश्वकप हाम्रो नहोला, तर फकल्याण्ड टापु निश्चित रूपमै हाम्रै हो। फकल्याण्डका लागि हाम्रो प्रतिबद्धता कहिल्यै डगमगाउने छैन।’
बेलायतले यस विषयमा फिफाले गम्भीर छानबिन गर्नुपर्ने मागसमेत गरेको छ।
फकल्याण्ड टापुको सरकारले पनि खेलाडीहरूको यो व्यवहारबाट आफूहरू दुखी भएको र टापुका बासिन्दालाई ‘राजनीतिक फुटबल’ नबनाउन आग्रह गरेको छ।
फकल्याण्ड टापुका लागि सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच भीषण युद्ध भएको थियो, जसमा सयौँ सैनिकले ज्यान गुमाएका थिए।
सन् २०१३ मा भएको एक जनमत संग्रहमा त्यहाँका ९९ प्रतिशतभन्दा बढी जनताले बेलायतकै अधिनमा रहने पक्षमा मतदान गरेका थिए। तर अर्जेन्टिनाले अझै पनि यसलाई आफ्नो भूमि मान्दै आएको छ।
अहिले फिफाले यस घटनालाई लिएर अर्जेन्टिनामाथि कस्तो अनुशासनको कारबाही गर्छ भन्नेमा सबैको चासो छ।
साउन २, २०८३ शनिबार ०८:०६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।