अर्जेन्टिनी खेलाडीमाथि फिफाले थाल्यो अनुसन्धान, यसअघि ब्यानर देखाउँदा के भएको थियो कारबाही?
एजेन्सी : विश्वकप फुटबलको सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले प्रदर्शन गरेको राजनीतिक ब्यानरका विषयमा फिफाले अनुशासनको अनुसन्धान सुरू गरेको छ।
एट्लान्टामा भएको खेलमा इङ्गल्याण्डलाई २-१ ले हराउँदै साविक विजेता अर्जेन्टिना फाइनलमा प्रवेश गरेको थियो। तर, खेल सकिएलगत्तै अर्जेन्टिनी खेलाडीहरूले ‘फकल्यान्ड टापु अर्जेन्टिनाको हो’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए।
यो ब्यानर प्रदर्शन गर्नेहरूमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने लिसान्ड्रो मार्टिनेज र टोटनह्यामबाट खेल्ने क्रिस्टियन रोमेरोसमेत सामेल थिए।
फिफाले खेल मैदानमा कुनै पनि प्रकारको राजनीतिक, धार्मिक वा व्यक्तिगत सन्देश प्रदर्शन गर्न कडा प्रतिबन्ध लगाएको छ।
फिफाका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै मानक प्रक्रियाअनुसार फिफाको स्वतन्त्र अनुशासन समितिले म्याच रिपोर्ट र परिस्थितिको मूल्याङ्कन गरिरहेको र दोषी पाइएमा आवश्यक कारबाही गरिने बताएका छन्।
यसअघि सन् २०१४ मा स्लोभेनिया विरुद्धको मैत्रीपूर्ण खेलमा यस्तै ब्यानर देखाएबापत फिफाले अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो।
राजनीतिक नारा वा ब्यानरकै कारण खेलाडीहरू प्रतिबन्धित भएको यो पहिलो घटना भने होइन।
युरो २०२४ को उपाधि जित्दा स्पेनिस खेलाडीद्वय अल्भारो मोराटा र रोड्रीले ‘जिब्राल्टार स्पेनको हो’ भनी नारा लगाएपछि युरोपेली फुटबल महासंघ (युइएफए) ले उनीहरूलाई एक खेलको प्रतिबन्ध लगाएको थियो।
त्यस्तै, सन् २०१२ को ओलम्पिकमा दक्षिण कोरियाका मिडफिल्डर पार्क जोङ-वूले ‘डोक्डो टापु हाम्रो भूमि हो’ लेखिएको ब्यानर देखाएपछि फिफाले उनीमाथि दुई खेलको प्रतिबन्ध लगाएको थियो।
बेलायतको आपत्ति र अर्जेन्टिनाको कूटनीतिक बचाउ
यस घटनाप्रति बेलायत सरकारले कडा आपत्ति जनाएको छ।
बेलायती प्रधानमन्त्री कीर स्टाररका आधिकारिक प्रवक्ताले भनेका छन्, ‘विश्वकप हाम्रो नभए पनि फकल्यान्ड टापु पक्कै पनि हाम्रै हो। फकल्यान्डका जनता र टापुप्रतिको हाम्रो प्रतिबद्धता कहिल्यै डगमगाउने छैन।’
बेलायती राजनीतिज्ञहरूले खेलकुदमा राजनीति मिसाएको भन्दै खेलाडीहरूलाई कडा कारबाही गर्न माग गरेका छन्। लिबरल डेमोक्र्याटका नेता एड डेभीले त आइतबार स्पेनविरुद्ध हुने फाइनल खेलअगावै ती खेलाडीहरूलाई प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन्।
अर्कोतर्फ, अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले खेलाडीहरूको यो अभिव्यक्तिलाई बुझ्न सकिने र वैध भनेका छन्।
यद्यपि, कूटनीति र खेलको मैदान फरक कुरा भएको स्पष्ट पार्दै उनले भने, ‘फकल्यान्ड अर्जेन्टिनाकै हो र हामी यसलाई कूटनीतिक र बौद्धिक तरिकाले फिर्ता ल्याउनेछौँ, तर खेल मैदानमा हुने कुरा कूटनीतिको हिस्सा होइन।’
के हो फकल्यान्ड टापुको विवाद?
यो विवादको इतिहास सन् १९८२ को फकल्यान्ड युद्धसँग जोडिएको छ।
अर्जेन्टिनाको पूर्वी तटबाट करिब ३०० माइल टाढा रहेको बेलायती अधिनस्थ यस टापुमा सन् १९८२ मा अर्जेन्टिनाको तत्कालीन सैन्य सरकारले आक्रमण गरेपछि दुई देशबीच ७४ दिन लामो युद्ध भएको थियो।
त्यस युद्धमा ६४९ अर्जेन्टिनी र २५५ बेलायती सैनिकको ज्यान गएको थियो।
सन् २०१३ मा फकल्यान्डमा भएको जनमतसंग्रहमा ९९ प्रतिशतभन्दा बढी बासिन्दाले बेलायतकै ओभरसिज टेरिटोरीका रूपमा रहने पक्षमा मतदान गरेका थिए।
अनुसन्धान सुरु भए पनि अर्जेन्टिनाले आइतबार स्पेन विरुद्ध हुने फाइनल खेल गुमाउनुपर्ने सम्भावना भने छैन। तर, विवादास्पद ब्यानर बोक्ने खेलाडीहरूलाई जरिवाना वा केही अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिबन्ध लाग्नसक्ने अनुमान गरिएको छ।
साउन १, २०८३ शुक्रबार १४:१४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।