इंग्ल्याण्डका लागि ‘थर्ड प्ले-अफ’ किन छ खास? यी हुन् हेर्नैपर्ने ४ कारण

इंग्ल्याण्डका लागि ‘थर्ड प्ले-अफ’ किन छ खास? यी हुन् हेर्नैपर्ने ४ कारण

एजेन्सी : इंग्ल्याण्डको विश्वकप जित्ने सपना फेरि एकपटक अधुरै रह्यो।

सन् १९६६ पछिको पहिलो मुख्य ट्रफी उचाल्ने प्रतीक्षा अझै लम्बिएको छ। अर्जेन्टिनासँग सेमिफाइनलमा व्यहोरेको हारपछि थोमस टुचेलको टोली अहिले नै घर फर्किन पाउने छैन।

अब इंग्ल्याण्डले तेस्रो स्थानका लागि शनिबार राति फ्रान्सको सामना गर्दैछ। धेरैलाई लाग्न सक्छ- सेमिफाइनलमा हारेपछि यो खेलको के अर्थ ? तर, यो खेल हेर्नै पर्ने केही रोचक कारणहरू छन्:

‘गोल्डेन बुट’को रोमाञ्चक प्रतिस्पर्धा
यसपटकको विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै ‘गोल्डेन बुट’ जित्ने होड निकै रोमाञ्चक छ।

फ्रान्सका कप्तान किलियन एम्बाप्पे र लियोनेल मेस्सी ८-८ गोलसहित बराबरीमा छन्। यद्यपि, असिस्ट आधारमा मेस्सी अगाडि छन्।

तेस्रो स्थानको खेलमा गरिने गोल पनि गणना हुने भएकाले एम्बाप्पेसँग मेस्सीलाई उछिन्न मौका छ।

अर्कोतर्फ, इंग्ल्याण्डका ह्यारी केन र जुड बेलिङ्घम पनि मेस्सी र एम्बाप्पेभन्दा मात्र दुई गोलले पछाडि छन्। यदि उनीहरूले फ्रान्सविरुद्ध ह्याट्रिक गरे भने गोल्डेन बुटको ट्रफी इंग्ल्याण्डको पोल्टामा पर्न सक्छ।

६० वर्षपछिको ऐतिहासिक नतिजा निकाल्ने अवसर
विश्वकपको मुख्य ट्रफी जित्न नसके पनि इंग्ल्याण्डका लागि यो ऐतिहासिक अवसर हो। यदि फ्रान्सलाई हराउन सकेमा सन् १९६६ पछि विश्वकपमा इंग्ल्याण्डको यो नै उत्कृष्ट नतिजा हुनेछ।

यसअघि सन् १९९० र २०१८ मा इंग्ल्याण्ड तेस्रो स्थानको खेलमा पराजित भएको थियो। स्वर्ण र रजत नभए पनि ‘कास्य पदक’ जितेर घर फर्किने मौका टोलीसँग छ।

नयाँ प्रतिभालाई मैदानमा देख्न पाइने
यो खेलमा प्रशिक्षकले अहिलेसम्म मौका नपाएका वा कम समय मैदानमा बिताएका खेलाडीलाई अवसर दिन सक्छन्।

म्यानचेस्टर युनाइटेडका युवा स्टार कोबी माइनुले यो विश्वकपमा अहिलेसम्म एक मिनेट पनि खेल्न पाएका छैनन्। उनले फ्रान्सविरुद्ध डेब्यु गर्ने सम्भावना छ।

त्यस्तै, फ्रान्सका एनगोलो कान्टे र रायन चर्की जस्ता खेलाडीलाई पनि मैदानमा देख्न सकिनेछ।

फुटबलको तिर्खा मेटाउने अन्तिम मौका
यो खेलपछि अन्तर्राष्ट्रिय फुटबलको ठुलो रौनक केही समयका लागि मत्थर हुनेछ। प्रिमियर लिग र अन्य घरेलु लिगहरू सुरु हुन अझै केही हप्ता बाँकी छ।

त्यसैले, विश्वका दुई ठुला टोलीहरूबीचको यो भिडन्त फुटबल प्रेमीहरूका लागि ‘लास्ट डोज’ जस्तै हुनेछ।

भलै इंग्ल्याण्ड फाइनलमा पुग्न सकेन, तर यी कारणहरूले शनिबारको खेललाई निकै अर्थपूर्ण र रोमाञ्चक बनाउने निश्चित छ।

साउन १, २०८३ शुक्रबार ०८:०३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।