उमेर ३९, जादु उस्तै : बल खुट्टामा पुग्दा खेलको नतिजा बदल्ने मेस्सी

उमेर ३९, जादु उस्तै : बल खुट्टामा पुग्दा खेलको नतिजा बदल्ने मेस्सी

एजेन्सी : चार वर्षअघि कतारमा ३५ वर्षीय लियोनेल मेस्सीले विश्वकपको ट्रफी उचाल्दा धेरैले यसलाई उनको खेल जीवनको सुखद अन्त्य मानेका थिए। स्वयं मेस्सीले पनि त्यो नै आफ्नो अन्तिम विश्वकप हुनसक्ने सङ्केत गरेका थिए। तर, फुटबल इतिहासकै प्रभावशाली खेलाडी मानिएका यी भेट्रान फुटबलरले उमेरलाई केवल एउटा संख्या साबित गरिदिएका छन्।

३९ वर्षको उमेरमा जारी विश्वकपमा मेस्सीले फुटबल इतिहासमा अर्को एउटा ऐतिहासिक सफलता थपेका छन्। बुधबार राती एटलान्टामा भएको रोमाञ्चक सेमिफाइनलमा इङ्गल्यान्डको विश्वकप सपनालाई चकनाचुर पार्दै मेस्सीले साविक विजेता अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनलमा पुर्याए।

खेलको ५५औँ मिनेटमा इङ्गल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएपछि अर्जेन्टिना संकटमा परेको थियो। तर, खेलको अन्त्यतिर मेस्सीले मैदानमा देखाएको जादुले खेलको सम्पूर्ण नक्सा नै बदलिदियो। टोलीलाई कसरी जित दिलाउनुपर्छ भन्ने कुरा मेस्सीले मैदानमा पुनः एकपटक साबित गरिदिए।

१५ मिनेटको त्यो जादु र ऐतिहासिक कीर्तिमान

पराजयनजिक पुगेको अर्जेन्टिनालाई संकटबाट बाहिर निकाल्न प्रशिक्षक लियोनेल स्कालोनीले खेलको रणनीति परिवर्तन गर्दै मेस्सीलाई मैदानको दायाँ भागमा सारेका थिए। त्यसपछि सुरु भयो मेस्सीको त्यो सदाबहार जादु। खेलको अन्तिम समयमा उनले खेल आफ्नो नियन्त्रणमा लिए।

मेस्सीले खेलभरि ९ पटक सफल ड्रिबल गरे भने टोलीका लागि दुईवटा उत्कृष्ट असिस्ट मिलाइदिए। सन् १९६६ यता विश्वकपको नकआउट चरणमा ९ ड्रिबल र २ असिस्ट गर्ने उनी विश्वकै पहिलो खेलाडी बनेका छन्।

खेलको ८५औँ मिनेटमा मेस्सीकै कर्नर पासमा मिडफिल्डर एन्जो फर्नान्डेजले बक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयको ९२औँ मिनेटमा मेस्सीले आफ्नो बढी चल्ने देब्रे खुट्टाले नभई दाहिने खुट्टाको प्रयोग गर्दै इङ्गल्यान्डको बलियो रक्षापङ्क्तिलाई छकाएर यस्तो सुन्दर क्रस पास दिए, जसमा लाउटारो मार्टिनेजले सिधै हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई २-१ को जित दिलाए।

मेस्सीले खेलमा आफैँले गोल नगरे पनि टोलीलाई जित दिलाउने मुख्य भूमिकामा रहे। टोलीका दुवै गोलमा जादुमयी असिस्ट गर्दै मेस्सीले आफू किन इतिहासकै सर्वश्रेष्ठ खेलाडी हुन् भन्ने कुरा पुनः  प्रमाणित गरे।

तथ्याङ्कमा सर्वकालीन महानता

जारी विश्वकपमा मेस्सी ८ गोल र ४ असिस्टसहित गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि छन्। फ्रान्सका स्टार किलियन एम्बाप्पेको पनि समान ८ गोल भए तापनि असिस्ट सङ्ख्या बढी भएकाले मेस्सी शीर्ष स्थानमा छन्।

यसका साथै मेस्सी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता र असिस्टकर्ता दुवै बनेका छन्। विश्वकपमा उनको कुल गोल सङ्ख्या २१ र कुल असिस्ट सङ्ख्या १२ पुगेको छ। अचम्मको कुरा त के छ भने, उनको २१ गोलमध्ये १५ गोल त उनले ३५ वर्षको उमेर पार गरेपछि मात्र गरेका हुन्।

"उनीसँग मास्टर की छ" 

मेस्सीको यो ऐतिहासिक प्रदर्शनपछि विश्व फुटबल जगतमा उनको सर्वकालीन महान फुटबलरका रुपमा चौतर्फी प्रशंसा भइरहेको छ। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सी दबाबका बीच सधैँ अब्बल निस्कने भन्दै इतिहासकै सर्वश्रेष्ठ खेलाडीको संज्ञा दिए। 

त्यस्तै, पूर्व इङ्गल्यान्ड डिफेन्डर रिचर्ड्सले भने, "मेस्सी धेरै समय शान्त देखिन्छन्, तर बल खुट्टामा पुगेपछि खेल नै परिवर्तन गरिदिन्छन्।" 

अर्का पूर्व गोलकिपर जो हार्टले इङ्गल्यान्डको मजबुत रक्षापङ्क्तिलाई मेस्सीले सजिलै तोडेको टिप्पणी गर्दै भने, "इङ्गल्यान्डले ढोकामा ताल्चा लगाएको थियो, तर मेस्सीसँग त्यसको 'मास्टर की' थियो।"

इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि मेस्सीको प्रशंसा गर्दै भने, “हामीले लामो समयसम्म उनलाई रोक्यौं, तर विश्वका उत्कृष्ट खेलाडीहरूले एउटा क्षणमै खेलको नतिजा बदल्न सक्छन्। मेस्सी महान् खेलाडी हुन् भन्ने कुरा उनले फेरि प्रमाणित गरे।”

अब फाइनलमा स्पेनको चुनौती?

बार्सिलोना र पिएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामी पुगेपछि धेरैले मेस्सीको करियर ओरालो लाग्ने अनुमान गरेका थिए। तर, उनले आफ्नो खेलको शैली र भूमिका बदल्दै टोलीलाई लगातार डोर्याइरहेका छन्। हाल उनी क्लब र देश दुवैका लागि लगातार १३ खेलमा गोल वा असिस्ट गर्न सफल भएका छन्।

आगामी आइतबार न्यु जर्सीको इस्ट रदरफोर्डमा हुने फाइनल खेलमा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ। यदि उक्त खेलमा पनि मेस्सी गोल वा असिस्ट गर्न सफल भएमा, उनले सन् २०११ मा बनाएको लगातार १४ खेलको आफ्नै ऐतिहासिक कीर्तिमान बराबरी गर्नेछन्। साथै, ब्राजिलका पूर्व कप्तान काफुपछि तीनवटा विश्वकप फाइनल खेल खेल्ने उनी विश्वकै दोस्रो खेलाडी बन्नेछन्।

सन् १९८६ को क्वार्टरफाइनलमा म्याराडोनाको चर्चित 'ह्यान्ड अफ गड' को ठीक ४० वर्षपछि, सन् २०२६ को यो सेमिफाइनलमा 'मेस्सीको जादुमयी खुट्टा'ले अर्जेन्टिनालाई ऐतिहासिक मोडमा पुर्याएको छ। फाइनलमा अर्जेन्टिनालाई पुनः विश्वविजेता बनाउने जिम्मेवारी फेरि एकपटक उनकै काँधमा छ।

फुटबल जगतलाई लामो समयसम्म आफ्नो जादु देखाएका मेस्सीका लागि यो फाइनल खेल खेलकुदको सर्वोच्च शिखरमा पुगेर सुखद बिदाइ लिने एक सुनौलो अवसर बन्न सक्छ।

असार ३२, २०८३ बिहीबार १३:१६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।