इंग्ल्यान्डको हारको कारण ‘ब्याक फाइभ’ रणनीति, प्रशिक्षक टुचेल भन्छन् ‘गोलपछि टोली बढी रक्षात्मक बन्दा हारियो’

इंग्ल्यान्डको हारको कारण ‘ब्याक फाइभ’ रणनीति, प्रशिक्षक टुचेल भन्छन् ‘गोलपछि टोली बढी रक्षात्मक बन्दा हारियो’

काठमाडौँ : सेमिफाइनलमा अर्जेन्टिनासँग २-१ को पराजयपछि इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले खेलमा गोल गरेपछि टोली आवश्यकभन्दा बढी निष्क्रिय र रक्षात्मक बन्दा पराजय भोग्नुपरेको बताए। मिडियासँग कुरा गर्दै प्रशिक्षक टुचेलले जितको नजिक पुगेर पनि सोचेअनुरूप खेललाई नियन्त्रणमा राख्न नसक्दा स्तब्ध हुनुपरेको बताए।

"हामी निकै निराश छौँ। हामी जितको धेरै नजिक थियौँ, तर पहिलो गोल गरेपछि टोली निकै निष्क्रिय  बन्न पुग्यो, जसले गर्दा विपक्षीले दबाब बढाउने र गोल गर्ने थुप्रै अवसरहरू पाए," प्रशिक्षक टुचेलले भने।

ब्याक फाइभ रणनीतिको आलोचना

खेलको उत्तरार्धमा रक्षात्मक खेलाडीहरू मैदान प्रवेश गराएको र पाँच जनाको डिफेन्स (ब्याक फाइभ) रणनीति अपनाएको विषयमा चौतर्फी आलोचना भइरहेको छ। उनले आफ्नो निर्णयको बचाउ गरे। विपक्षी टोलीले लगातार क्रस आक्रमण गरेर दबाब बढाएकाले डिफेन्स बलियो बनाउनु आफ्नो बाध्यता रहेको उनले स्पष्ट पारे।

"हामीले गोल गरे लगत्तै मैदानमा डिफेन्डरहरू बीचको दूरी धेरै बढेको थियो। विपक्षी खेलाडीहरूले हरेक हेडर जितिरहेका थिए र लगातार क्रसहरू फ्याँकिरहेका थिए," प्रशिक्षक टुचेलले थपे, "त्यसैले बक्सभित्रको खाली ठाउँ बन्द गर्न र क्रस बलहरू रोक्न पाँच जनाको डिफेन्समा जानु परेको हो। खेलाडी परिवर्तन गर्नुअघि नै हामी दबाबमा थियौँ, त्यसैले मैले स्थिति सम्हाल्न खेलाडीहरूलाई मद्दत मात्र गर्न खोजेको हुँ।"

ब्याक फाइभ रणनीति भनेको के हो ?
फुटबलमा 'ब्याक फाइभ' भनेको खेलको रक्षात्मक रणनीति हो जहाँ मैदानमा ५ जना डिफेन्डरहरूलाई एकैसाथ रक्षापंक्तिमा खेलाइन्छ। सामान्यतया फुटबल टोलीहरू ४ जना डिफेन्डर लिएर मैदान उत्रिने गर्छन्, तर खेलको परिस्थिति हेरी डिफेन्सलाई अझ बढी मजबुत बनाउन वा विपक्षीको लगातारको आक्रमण रोक्न यो रणनीति प्रयोग गरिन्छ।

ब्याक फाइभ रणनीतिमा मैदानको बीच भागमा तीन जना सेन्टर-ब्याकहरू हुन्छन्। यसले गर्दा डिफेन्सको मध्यभाग अत्यन्तै बलियो र बाक्लो हुन्छ। विपक्षी स्ट्राइकरहरूलाई डिफेन्स तोडेर भित्र छिर्न निकै गाह्रो पर्छ।

दायाँ र बायाँ किनारामा दुई जना विङ-ब्याकहरू हुन्छन्। यिनीहरूको भूमिका दोहोरो हुन्छ। टोलीले डिफेन्स गर्दा यिनीहरू तल झरेर ५ जनाको पूर्ण डिफेन्स लाइन बनाउँछन्, तर टोलीले आक्रमण गर्दा यिनीहरू विङ्गर जस्तै अगाडि बढेर मिडफिल्ड वा आक्रामक पङ्क्तिलाई मद्दत गर्छन्।

इंग्ल्यान्डले अर्जेन्टिनालाई एक गोल गरेपछि गोल रोक्न यही रणनीति अपनाएको थियो। तर गोल रोक्न सकेन।

"हारको जिम्मेवारी लिन्छु"

दोस्रो गोलका लागि प्रयास नगरेको आरोपमाथि टिप्पणी गर्दै उनले थपे, "हामी दोस्रो गोल गर्न चाहन्थ्यौँ, तर जब मैदानमा बल नै नियन्त्रणमा आउँदैन भने त्यस्तो अवस्थामा आक्रामक खेलाडी मैदान पठाएर मात्र केही हुँदैन। हामी आफ्नो पुरानै ४-४-२ को संरचनामै थियौँ तर खेलाडीहरू मानसिक रूपमा बढी रक्षात्मक बन्न पुगे।"

आफ्ना निर्णयहरू असफल भएपछि प्रशिक्षक टुचेलले हारको जिम्मेवारी आफैँले लिएका छन्।

"हारको अन्तिम जिम्मेवारी प्रशिक्षककै हुन्छ। खेल बिग्रिएपछि रणनीतिक निर्णयहरू गलत थिए भन्न निकै सजिलो हुन्छ," उनले भने, "म बाहिर भइरहेका यस्ता बहसहरू बुझ्न सक्छु। खेल सकिएपछि आफूलाई मैदानको प्रशिक्षकभन्दा बढी जान्ने ठान्ने लाखौँ मानिसहरू बाहिर निस्किन्छन्, जुन स्वाभाविक नै हो।"

असार ३२, २०८३ बिहीबार ०३:५८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।