इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना फिफा वर्ल्डकपको फाइनलमा, स्पेनसँग प्रतिस्पर्धा
काठमाडौं : दोस्रो सेमिफाइनलमा इङ्गल्यान्डलाई २-१ ले हराउँदै अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा पुगेको छ। बिहीबार बिहान भएको खेलमा १ गोलले पछाडि परे पनि अन्तिम समयमा कमब्याक गर्दै इंग्ल्यान्डलाई अर्जेन्टिनाले २-१ ले हराएको हो।
अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे। क्वाटरफाइनलमा गोलहीन भएका लियोनल मेस्सी सेमिफाइनलमा पनि गोलहीनै भए। तर उनले दुवै गोलका लागि महत्वपूर्ण सहयोगीको भूमिका खेले। दुवै गोल उनको पासमा सम्भव भएको थियो।
पहिलो हाफपछि इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गरेका थिए। उनले करिब खेलको ५५ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि अर्जेन्टिनाले खेलमा दबाब बढाएर खेल बराबरी गर्न पटक-पटक प्रयास गरेको थियो। मौका पाए पनि गोल भने हुन सकेन।
खेल करिब ८० मिनेटमा प्रवेश गरिसकेको थियो। खेलको ८५ मिनेटमा मेसीले दिएको पासलाई फर्नान्डेलले गरेको प्रहार इंग्ल्यान्डका गोलकिपरले रोक्न सकेनन्। खेल बराबरीमा फर्कियो। अतिरिक्त नौ मिनेट समय थपियो। मेसीकै पासमा मार्टिनेजले गरेको गोल नै खेलको निर्णायक बन्यो।
खेलको बल पोजिसनदेखि टार्गेटमा प्रहार भएको सर्टमा पनि अर्जेन्टिना अघि नै रह्यो। अर्जेन्टिनाको ५ प्रहार लक्षित क्षेत्रमा गरेको थियो। इंग्ल्यान्डले जम्मा २ मात्र सर्ट अन टार्गेटमा प्रहार गरेको थियो। खेलमा धेरै फाउलहरु भए। २६ वटा फाउल हुँदा यसमा पनि अर्जेन्टिना नै अगाडि देखियो।
अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्पेनले फ्रान्सलाई हराएर फाइनलमा प्रवेश गरिसकेको छ। इंग्ल्यान्ड र फ्रान्सले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन्।

असार ३२, २०८३ बिहीबार ०३:२०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।