१८औं विश्वकपको रिपोर्टिङमा अर्जेन्टिनी पत्रकार : जसले १७ वर्षीय पेलेलाई प्रश्न गरे अनि ३९ वर्षीय मेसीलाई पनि

१८औं विश्वकपको रिपोर्टिङमा अर्जेन्टिनी पत्रकार : जसले १७ वर्षीय पेलेलाई प्रश्न गरे अनि ३९ वर्षीय मेसीलाई पनि

एजेन्सी : विश्वकप फुटबलको माहोलमा सबैको ध्यान खेलाडीहरूमा हुन्छ, तर यस पटक अर्जेन्टिनाका एक पत्रकार चर्चाको केन्द्रमा छन्।

उनी हुन् ९१ वर्षीय एनरिकी माकाया मार्केज। उनले लगातार १८ पटक विश्वकप फुटबलको रिपोर्टिङ गरेर एउटा अनौठो कीर्तिमान बनाएका छन्।

माकायाको पत्रकारिता यात्रा करिब सात दशक लामो छ। उनले आफ्नो पहिलो विश्वकप सन् १९५८ मा कभर गरेका थिए। त्यतिबेला ब्राजिलका महान खेलाडी पेले मात्र १७ वर्षका थिए।

९१ वर्षको उमेरमा पनि उनी उत्तिकै सक्रिय छन् र अहिले अमेरिकामा भइरहेको विश्वकप २०२६ मा पनि रिपोर्टिङ गरिरहेका छन्। अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी समेत उनलाई सम्मान गर्दै उनीसँग फोटो खिचाउन लालायित देखिन्छन्।

सन् १९५८ को विश्वकप सम्झिँदै उनी भन्छन्, ‘म त्यतिबेला २४ वर्षको थिएँ। अर्जेन्टिना चेकोस्लोभाकियासँग ६-१ ले पराजित भएको त्यो क्षण मेरो मानसपटलमा अझै ताजा छ। हामीलाई विपक्षी टोलीको बारेमा केही जानकारी नै थिएन।’

आज प्रविधिको विकासले फुटबल पूरै बदलिएको उनी बताउँछन्। फुटबल जगतमा सधैं सोधिने प्रश्न ‘मेसी कि म्याराडोना?’ मा उनी अलि फरक विचार राख्छन्।

उनी भन्छन्, ‘इतिहासका खेलाडीहरूलाई एकअर्कासँग तुलना गर्न मिल्दैन। समय बदलिएको छ, विपक्षीहरू बदलिएका छन्। हरेक खेलाडी आफैँमा अद्भूत हुन्छन्।’

यद्यपि, व्यक्तिगत रूपमा उनलाई लियोनेल मेसी सबैभन्दा मनपर्ने खेलाडी हुन्।

स्कालोनीमाथिको विश्वास
सन् २०१८ मा जब लियोनेल स्कालोनीलाई अर्जेन्टिनाको प्रशिक्षक बनाइयो, धेरैले आलोचना गरेका थिए। तर माकायाले हतारमा निर्णय सुनाएनन्।

उनी भन्छन्, ‘कसैलाई राम्ररी नबुझी उसको बारेमा धारणा बनाउनु हुँदैन।’

अन्ततः स्कालोनीले अर्जेन्टिनालाई कोपा अमेरिका र विश्वकप जिताएर आफूलाई प्रमाणित गरे।

यस पटक पनि अर्जेन्टिना सेमिफाइनलमा पुगेको छ र बुधबार इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। माकायालाई विश्वास छ कि अर्जेन्टिनाले फेरि पनि विश्वकप जित्न सक्छ।

अवकाशका बारेमा सोध्दा उनी हाँस्दै भन्छन्, ‘म कुनै दिन त अवकाश लिने नै छु, तर अहिले भने म आफ्नो काममै रमाइरहेको छु।’

९१ वर्षको उमेरमा पनि फुटबलप्रतिको उनको यो जोश र समर्पण विश्वभरका पत्रकार र खेल प्रेमीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

असार ३१, २०८३ बुधबार १३:१३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।