खेलअघि इङ्गल्याण्डका प्रशिक्षकले गरे मेस्सीको प्रशंसा, खेलाडीले भने- ‘दबाब अर्जेन्टिनामाथि छ’
एजेन्सी : विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिना र इङ्गल्याण्डबीचको बहुप्रतिक्षित खेल आज मध्यराति १२:४५ बजे एटलान्टा स्टेडियममा हुँदैछ।
खेलअघि भएको पत्रकार सम्मेलनमा इङ्गल्याण्डका खेलाडीहरूले अर्जेन्टिनामाथि दबाब रहेको दाबी गरिरहँदा इङ्गल्याण्डका प्रशिक्षक थोमस टुचेलले टोलीभित्रको एकता रहेको कुरा दोहोर्याएका छन्।
सन् १९६६ पछि पहिलो पटक विश्वकप फाइनलमा पुग्ने लक्ष्य राखेको छ। ६० वर्षपछि फाइनल पुग्ने लक्ष्य राखेको इङ्गल्याण्डका डिफेन्डर मार्क गेहीले विश्व च्याम्पियन अर्जेन्टिनामाथि नै बढी दबाब रहेको बताएका छन्।
‘उनीहरू विश्व च्याम्पियन हुन्, त्यसैले यो खेल उनीहरूका लागि महत्त्वपूर्ण छ र दबाबमा पनि’, गेहीले भने।
अर्जेन्टिनाविरुद्धको इङ्गल्याण्डको यो विश्वकपमा छैटौं भेट हुनेछ। सन् १९८६ को ‘ह्यान्ड अफ गड’ देखि लिएर सन् १९९८ को डेभिड बेकह्यामको रातो कार्डसम्म, यी दुई टोलीबीचका खेलहरू सधैं नाटकीय हुने गरेका छन्।
टुचेल र बेलिङघमबीचको साम्यवस्था'
इङ्गल्याण्डका प्रशिक्षक थोमस टुचेलले नर्वेविरुद्धको खेलपछि मिडफिल्डर जुड बेलिङघमले दिएको प्रतिक्रियाबारे उठेको प्रश्नको खण्डन गरेका छन्।
नर्वेमाथि २-१ को जितपछि टुचेलले इङ्गल्याण्ड भाग्यमानी भएको र आफैँलाई गाह्रो बनाएको टिप्पणी गरेका थिए। बेलिङघमले दुई गोल गरेर टोलीलाई जिताएका थिए, तर प्रशिक्षकको आलोचनात्मक भनाइप्रति उनले ‘जे भए पनि...’ भन्दै प्रतिक्रिया दिएका थिए।
टुचेलले यसलाई सामान्य घटना भन्दै भने, ‘म एक फुटबल प्रशिक्षक हुँ र म सधैं उत्कृष्टको माग गर्छु। हामीले त्यो खेललाई समूहमा छलफल गर्यौँ र अब सबैको ध्यान अर्जेन्टिनामा छ।’
उनले बेलिङघमले खेलमा आफ्नो शतप्रतिशत दिएकाले पोस्ट-गेम अन्तर्वार्तामा केही सहजता देखाउनु स्वाभाविक भएको बताए।
‘हामी एउटै लक्ष्यका लागि प्रतिस्पर्धा गरिरहेका छौँ। म मेरो काम गर्नेछु र टोलीको स्तरलाई सधैं उच्च राख्ने प्रयास गर्नेछु’, उनले थपे।
डेक्लान राइस तयार, हेंडरसन र क्वान्सा बाहिर
इङ्गल्याण्डले अर्जेन्टिनाविरुद्ध खेल्दा मिडफिल्डर डेक्लान राइस पूर्णतः फिट भइसकेका छन्।
नर्वेविरुद्ध बिरामीका कारण हाफ-टाइममा बाहिरिए पनि उनले पूर्ण प्रशिक्षणमा भाग लिएका छन्। यद्यपि, जोर्डन हेंडरसन र जरेल क्वान्सा भने यस खेलमा अनुपलब्ध रहनेछन्।
अर्जेन्टिनाका खेलाडी लिओनेल मेस्सीलाई रोक्नु इङ्गल्याण्डका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ।

टुचेलले मेस्सीको प्रशंसा गर्दै भने, ‘उनी जसरी टोलीलाई अगाडि बढाउँछन्, त्यो अविश्वसनीय छ। उनी हरेक टोलीका नेतृत्वकर्ता र मुख्य खेलाडी हुन्।’
उनले थपे, ‘उनलाई रोक्न धेरै प्रशिक्षकले प्रयास गरेका छन्, तर उनी सधैँ नयाँ उपाय खोज्छन्। उनी असाधारण छन्।’
राजनीतिक तनावलाई बेवास्ता गर्दै फुटबलमा ध्यान
फकल्याण्ड युद्धजस्ता राजनीतिक कारणले इङ्गल्याण्ड र अर्जेन्टिनाबीच ऐतिहासिक रूपमा तनाव रहँदै आएको छ।
हालै अर्जेन्टिनाका खेलाडीहरूले ती टापुहरूसँग सम्बन्धित नारा लगाएको भिडियो पनि भाइरल भएको थियो।
यसबारे सोध्दा टुचेलले भने, ‘हामी विपक्षीको सम्मान गर्छौं, तर ऐतिहासिक घटनाहरूलाई यस खेलमा नमिसाउने। यो एउटा ठूलो फुटबल खेल हो, ठूलो अवसर हो, र हामी त्यसका लागि पूर्णतः तयार छौँ।’
इङ्गल्याण्डका लागि यो विश्वकप फाइनल पुग्ने तेस्रो अवसर हुनेछ, तर १९६६ पछि उनीहरूले यो सफलता हासिल गरेका छैनन्।
अर्जेन्टिना भने पछिल्ला चार संस्करणमध्ये तेस्रो पटक सेमिफाइनलमा पुगेको छ। यो खेलले दुई फुटबलका महाशक्ति राष्ट्रहरूबीचको प्रतिद्वन्द्विताको अर्को एक अध्याय लेख्नेछ।
असार ३१, २०८३ बुधबार १०:३८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।