२० मिनेटको हुनेछ विश्वकपको समापन समारोह, यी कलाकारले दिनेछन् प्रस्तुति
एजेन्सी : विश्वकप २०२६ को समापन र फाइनल खेलका लागि फिफाले तयारी तीव्र पारेको छ।
न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने समापन समारोहका मुख्य आकर्षण र कलाकारहरूको विवरण फिफाले सार्वजनिक गरेको छ।
समापन समारोहको मुख्य आकर्षणमा हलिउडका सदाबहार अभिनेता टम क्रुज रहनेछन्। उनले पेरिस ओलम्पिक २०२४ मा जस्तै कुनै विशेष साहसिक स्टन्ट देखाउने अपेक्षा गरिएको छ।
यस्तै, बेलायती पप गायक रोबी विलियम्स, इटालियन ग्रामी विजेता लाउरा पाउसिनी, अमेरिकी गायिका निकोले शेर्जिङ्गर र इगोट विजेता गायिका जेनिफर हड्सनले प्रस्तुति दिनेछन्।
हड्सनले फाइनल खेलअघि अमेरिकी राष्ट्रिय गान गाउनेछिन् भने चर्चित इन्फ्लुयन्सर आई-शो-स्पीडले पनि गीत गाउनेछन्। उनको विश्वकप गीत फिफाको आधिकारिक एल्बममा समेत समावेश छ।
४८ टोली र १६ सहरको उत्सव
यस पटकको समापन समारोहले तीन आयोजक देश (अमेरिका, क्यानडा र मेक्सिको) का १६ सहर र सहभागी ४८ टोलीको यात्रालाई संगीत र संस्कृतिको माध्यमबाट उत्सवको रूपमा मनाउनेछ।
विश्वकपका प्रमुख अपरेटिङ अफिसर हेइमो सिर्गीका अनुसार, यो समारोहले फुटबल, संगीत र संस्कृतिलाई एकै ठाउँमा ल्याएर च्याम्पियन घोषणा हुनुअघि एउटा अविस्मरणीय माहोल सिर्जना गर्नेछ।
जुलाई १९ मा अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ स्टेडियममा फाइनल खेल सुरु हुनुभन्दा ठीक ९० मिनेट अगाडि समापन समारोह हुनेछ। समारोह करिब १५ देखि २० मिनेटसम्म चल्ने फिफाले जनाएको छ।
दर्शकहरूको सक्रिय भूमिका
फिफाले स्टेडियममा उपस्थित हुने प्रशंसकहरूलाई समयमै सिटमा पुग्न आग्रह गरेको छ, किनकि समारोहमा दर्शकहरूको पनि सक्रिय भूमिका रहने बताइएको छ। स्टेडियमको गेट स्थानीय समय अनुसार बिहान ११ बजे नै खुल्नेछ।
यस समारोह लगत्तै विश्वकप २०२६ को फाइनल खेल सुरु हुनेछ। फाइनल खेलको बीचमा पहिलो पटक ‘सुपर बाउल’ शैलीको हाफटाइम शो पनि आयोजना गरिनेछ, जसले यो विश्वकपलाई अझ विशेष बनाउनेछ।
कतार विश्वकप २०२२ को उद्घाटन र समापन समारोह तयार पारेको ‘बालिच वन्डर स्टुडियो’ ले नै यस पटकको कार्यक्रमको जिम्मेवारी पाएको छ। थप कलाकारहरूको नाम फाइनल खेलअघि सार्वजनिक गरिने फिफाले जनाएको छ।
असार ३१, २०८३ बुधबार १०:१८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।