स्पेनको ‘ट्याक्टिकल’ जालमा यसरी फस्यो फ्रान्स, एमबाप्पेको पहिलो प्रहार ६७औं मिनेटमा

स्पेनको ‘ट्याक्टिकल’ जालमा यसरी फस्यो फ्रान्स, एमबाप्पेको पहिलो प्रहार ६७औं मिनेटमा

एजेन्सी :  विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनलको टिकट काट्यो।

यसका साथै उसले आधुनिक फुटबलमा रणनीति र तथ्याङ्कको महत्त्वलाई फेरि एकपटक स्थापित गरेको छ।

डलास स्टेडियममा भएको यो खेलमा स्पेनले विश्वकै खतरनाक मानिएको फ्रान्सेली आक्रमणलाई इतिहासकै निरीह देखाइदियो।

एमबाप्पे र ओलिसेबीच शून्य पास
यो खेलको सबैभन्दा आश्चर्यजनक प्राविधिक तथ्याङ्क फ्रान्सका दुई मुख्य हतियार केलियन एमबाप्पे र माइकल ओलिसेबीचको तालमेल रह्यो।

स्पेनको मार्किङका कारण खेलको पहिलो ४५ मिनेटमा यी दुई सुपरस्टारबीच एउटा पनि पास साटासाट हुन सकेन। फ्रान्सको आक्रमणलाई पूर्ण रूपमा एक्लो बनाउने स्पेनिस प्रशिक्षक लुइस डे ला फुएन्टेको यो रणनीति खेलको टर्निङ पोइन्ट बन्यो।

इतिहासकै कमजोर आक्रमण
सेमिफाइनलअघि १३ भन्दा बढी ‘एक्सपेक्टेड गोल’ (xG) बनाएको फ्रान्सलाई स्पेनले मात्र ०.३ xG मा सीमित गरिदियो। यो फ्रान्सको विश्वकप इतिहासकै सबैभन्दा न्यून स्तरको आक्रामक तथ्याङ्क हो।

१० वटा प्रहार गरे पनि फ्रान्सले गोल हुन सक्ने एउटा पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन। एमबाप्पेले आफ्नो पहिलो प्रहारका लागि ६७औं मिनेटसम्म कुर्नुपरेको थियो भने ओउस्मान डेम्बेलेले इन्जुरी समयमा मात्र पहिलो सट प्रहार गर्न सके।

नयाँ शैलीको स्पेन: कम बल, बढी नियन्त्रण
स्पेन सामान्यतया ७० देखि ८० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेर खेल्न रुचाउँछ।

तर, यस खेलमा स्पेनको पसेसन मात्र ५०.९ प्रतिशत रह्यो, जुन सन् २००२ यताकै कम हो। बल कम भए पनि खेलमा नियन्त्रण भने स्पेनकै थियो।

स्पेनले रक्षात्मक रूपमा २२ पटक ट्याकल गर्दा फ्रान्सले १४ पटक मात्र गर्न सक्यो। उनीहरूले जितेको ५५.९ प्रतिशत ड्युएल (शारीरिक भिडन्त)ले बल बिनाको खेलमा पनि स्पेन कति आक्रामक थियो भन्ने देखाउँछ।

मिडफिल्डका रोड्रि र फाबियनको दमदार प्रदर्शन
स्पेनको जितको जग मिडफिल्डमा खडा गरिएको थियो। रोड्रिले म्यानचेस्टर सिटीको जस्तै प्रदर्शन दोहोर्याउँदै १५ मध्ये ११ वटा ड्युएल जितेर डिफेन्सलाई सुरक्षा दिए।

त्यस्तै, फाबियन रुइजले ७ पटक बल रिकभरी गर्दै फ्रान्सको काउन्टर अट्याकलाई बीचमै रोके। बल छलाउन सिपालु मानिएका माइकल ओलिसेले २० पटक बल गुमाउनुमा रुइज र रोड्रिकै मुख्य हात थियो।

शारीरिक खेलमा पनि स्पेनकै वर्चस्व
फ्रान्स जस्तो शारीरिक रूपमा बलियो टोलीलाई स्पेनले हावामा पनि हराइदियो।

फ्रान्सले एरियल ड्युएल (हावामा बल खोस्ने प्रतिस्पर्धा) मा मात्र ३२ प्रतिशत सफलता पायो, जुन उसको ४० वर्ष यताकै खराब प्रदर्शन हो।

स्पेनका खेलाडीहरूले मैदानको हरेक क्षेत्रमा फ्रान्सेली खेलाडीहरूलाई दबाबमा राख्न सफल भए।

असार ३१, २०८३ बुधबार ०८:०६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।