विश्वकपबाट बाहिरिएपछि फ्रान्सेली प्रशिक्षकको आक्रोश- ‘यी रेफ्री विश्वकपको सेमिफाइनल खेलाउन योग्य थिए?’

विश्वकपबाट बाहिरिएपछि फ्रान्सेली प्रशिक्षकको आक्रोश- ‘यी रेफ्री विश्वकपको सेमिफाइनल खेलाउन योग्य थिए?’

एजेन्सी : विश्वकपको सेमिफाइनलमा स्पेनसँग २-० ले पराजित भएपछि फ्रान्सका प्रशिक्षक डिडिएर डेसचाम्प्सले हारको पीडाका बीच रेफ्रीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक डेसचाम्प्सले आफ्ना खेलाडीहरू निकै मर्माहत भएको बताए। उनले हारको मुख्य कारण टोलीको प्राविधिक कमजोरी भएको स्वीकार गरे पनि रेफ्री इभान बार्टनको निर्णय प्रक्रियामा असन्तुष्टि जनाए।

लुकास डिग्नेले लामिन यामललाई लडाएको भन्दै स्पेनलाई दिइएको पेनाल्टीतर्फ संकेत गर्दै उनले भने, ‘म एउटा कडा प्रश्न सोध्न चाहन्छु, जसको जवाफ म आफैँ दिन्न- के यी रेफ्री (इभान बार्टन) विश्वकपको सेमिफाइनल जस्तो ठूलो खेल खेलाउन योग्य स्तरका थिए?’

उनले अगाडि थपे, ‘म यो कुरा आज हारेकै कारण मात्र भनिरहेको छैन, तर मैदानमा धेरै यस्ता परिस्थितिहरू देखिए जहाँ निर्णयहरू एकपक्षीय थिए।’

यस खेलअघि फ्रान्स निकै बलियो लयमा थियो। उसले ६ खेलमा १६ गोल गर्दै विश्वकै उत्कृष्ट टोलीमध्ये एकको छाप छोडेको थियो।

तर सेमिफाइनलमा स्पेनको रक्षापङ्क्ति र रणनीतिसामु फ्रान्सका स्ट्राइकरहरू निरीह देखिए। प्रशिक्षकका रूपमा डेसचाम्प्सको यो अन्तिम प्रतियोगिता समेत हो, किनकि उनले यसपछि पद छोड्ने घोषणा गरिसकेका छन्।

अर्कोतर्फ, स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले आफ्नो टोलीलाई ‘विश्वकै उत्कृष्ट’ भन्दै प्रशंसा गरेका छन्। सन् २०२४ को युरो कप जिताएका फुएन्टेले फ्रान्सलाई लगातार तीनवटा ठूला प्रतियोगितामा हराएर नयाँ कीर्तिमान बनाएका छन्।

फुएन्टेले भने, ‘आज हामीले विश्वको एउटा उत्कृष्ट टोलीको सामना गर्यौँ, तर उनीहरूको अगाडि विश्वकै सबैभन्दा उत्कृष्ट टोली (स्पेन) उभिएको थियो। मेरा खेलाडीहरूले कठिन कामलाई पनि सहज बनाइदिएका छन्। उनीहरू यो जितका हकदार छन्।’

असार ३१, २०८३ बुधबार ०७:२३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।